१३ औँ पुस्तकालय दिवस: त्रिफला पुस्तकालय, मुलुककै वर्ष उत्कृष्ट घोषित
अन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १३ औँ पुस्तकालय दिवसको अवसरमा आज त्रिफला पुस्तकालयलाई मुलुककै वर्ष उत्कृष्ट घोषित गर्दै सम्मानित गर्ने निर्णय गरेको छ । मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले नेपालमा मात्र नभई पूर्वोत्तर भारतमा समेत नेपाली भाषा, साहित्य तथा पुस्तकालय सेवामा त्रिफला राष्ट्रिय पुस्तकालयले पुर्याउँदै आएको विशिष्ट योगदानको कदरस्वरूप यस वर्षको उत्कृष्ट सम्मान प्रदान गरिएको बताउनुभयो । मन्त्रालयले हरेक वर्ष एउटा पुस्तकालयलाई उत्कृष्ट सम्मान प्रदान गर्दै आएको छ । यसवर्ष कोभिड–१९ को विषम परिस्थितिका कारण सहज अवस्था भएपछि समारोहको आयोजना गरी सम्मान पत्र हस्तान्तरण गरिने निरौलाले जानकारी दिनुभयो । मेचीनगर–१० धुलाबारीमा पुस्तकालयको तीन तले पक्की भवन छ । पुस्तकालयमा हजारौँ पुराना र नयाँ पुस्तकहरु छन् । ई–लाइबे्ररीको पनि सुविधा छ । विसं २०५३ सालमा स्थानीय प्रेमप्रकाश पोखरेल (फलाहारी)ले यो पुस्तकालयको स्थापना गर्नुभएको हो । उहाँले तीन दशकदेखि नुन, अन्न र चप्पल–जुत्ता परित्याग गर्नुभएको छ । गेरु वस्त्र धारण गर्ने उहाँले लागूपदार्थको दुव्र्यसनविरुद्ध जनचेतना फैलाउन र धार्मिक स्थलहरुको प्रचार गर्न मुलुकका सबै जिल्लाको खाली खुट्टा पैदल यात्रा गर्नुभएको छ । पुर्खाले आर्जेको ज्ञान पुस्तकमा हुने र त्यसको अध्ययन र पठनमा आम मानिसलाई प्रोत्साहित गर्न पुस्तकालय खोल्ने सोचअन्तर्गत त्रिफलाको स्थापना गरेको फलाहारीले बताउनुभयो । उहाँले जीवनका उर्वर उमेर र आफ्नो सारा श्रम पुस्तकालयको स्थापना, पुस्तक सङ्कलन र भवन निर्माणका लागि सहयोग जुटाउन खर्चिनुभयो । उहाँकै अध्यक्षतामा गठित सञ्चालक समितिले स्थापनाकालदेखि पुस्तकालयको नेतृत्व गर्दै आएको छ ।
राष्ट्रिय पुस्तक नीति चाँडै कार्यान्वयनमा ल्याइने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय पुस्तक नीति, पुस्तकालय गुरूयोजना र पुस्तकालय स्वचालीकरण योजना चाँडै कार्यान्वयन गरिने बताउनुभएको छ । सामुदायिक र सार्वजनिक पुस्तकालयलाई हरेक स्थानीय तहमा सुविधा सम्पन्न सामुदायिक तथा सार्वजनिक पुस्तकालयको स्थापना गर्दै लैजाने नीति सरकारको छ । सरोकार भएका पक्षले उक्त नीति र गुरुयोजनाको कार्यान्वयनमा जोड दिँदै आएका छन् । तेह्रौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आज मूल समारोह समितिले आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री पोखरेलले नेपाल राष्ट्रिय पुस्तकालयको स्थगन भएको भवन निर्माणसम्बन्धी काम पनि छिट्टै हुने आशा पनि व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक तथा सामुदायिक पुस्तकालयको विकास र विस्तारमा तीन तहका सरकारको भूमिका रहने भए पनि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । पूर्वविज्ञानमन्त्री गणेश साहले पुस्तकालयका लागि राष्ट्रिय अभियान सञ्चालन गर्न प्रदेशस्तरका सरकारलाई प्रदेश पुस्तकालय र स्थानीय तहलाई आग्रह गर्नुभयो । डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका अध्यक्ष इन्दिरा दलीले सार्वजनिक पुस्तकालयको विकास र विस्तारमा सरकारको भूमिका बढ्नुपर्ने माग गर्नुभयो । सो अवसरमा पुस्तकालय अभियन्ता तथा नेपाल पुस्तकालय सङ्घका संस्थापक अध्यक्ष मुरारिविनोद पोखरेल, पुस्तकालयकर्मी चन्द्रकिरण श्रेष्ठ र झापा जिल्लाको धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयलाई वर्षको उत्कृष्ट पुस्तकालयका रूपमा कदर गरियो भने नुवाकोटको बेलकोटगढी नगरपालिका¬–१० की कक्षा ३ मा अध्ययनरत छात्रा सुगिष्मा कँडेललाई प्रशंसापत्रबाट सम्मानित गरियो । सो अवसरमा तेह्रौँ पुस्तकालय दिवसका अवसरमा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो । शिक्षा मन्त्रालयका सचिव डा सञ्जय शर्माले नेपालमा पठन संस्कृतिको विकास र विस्तारमा आएको सकारात्मक परिवर्तनले पुस्तकालयको आवश्यकता र महत्व अझ बढाएको उल्लेख गर्नुभयो । यस वर्षको पुस्तकालय दिवसको आदर्श वाक्य ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ रहेको थियो । नेपालमा २०६५ सालदेखि हरेक भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै आइएको छ । विसं १८६९, भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरी यो दिवस मनाउन थालिएको हो । तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सदनपत्र जारी पुस्तक चिताइ तहबिलको जिम्मेवारी दिनुएको थियो ।













