राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि
काठमाण्डौ, भद्र ३ गते
दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गर्नुभएको थियो । यसअघि उहाँको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । नेपाली सेनाका मानार्थ सहायक रथी घिमिरेको सम्मानमा सेनाका अधिकृत नेतृत्वको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षका उमेरमा निधन भएको थियो ।

राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मस्र्याङ्दी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ । आफ्नो गाउँपालिकामा जन्मिनुभएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ । आज बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, आकस्मिक सेवाबाहेकका स्वास्थ्यचौकीबाहेक सबैमा सार्वजनिक बिदा दिएको हो । एक सय एक वर्षको उमेरमा राष्ट्रकवि घिमिरे काठमाडौँस्थित लैनचौरमा आफ्नै निवासमा मङ्गलबार साँझ निधन हुनुभएको थियो । राष्ट्रकवि घिमिरे लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ पुस्तन गाउँमा विसं १९७६ असोज ७ गते जन्मनुभएको थियो । राष्ट्रकवि घिमिरे स्वच्छन्दवादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि तथा गीतकार घिमिरेको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै शोकसन्तत परिवार एवं आफन्तजनप्रति गहिरो सम्मेवदना प्रकट गरेको गाउँपालिकाले जनाएको छ ।













