ङातापोल (पाँच तल्ले) जीर्णोद्धार कार्य
आज (बिहिबार) पूरा हुने
भक्तपुर, असार १८ गते
विश्व प्रसिद्ध ङातापोल (पाँच तल्ले) मन्दिरको जीर्णोद्धार कार्य आज बिहिबार पूरा हुने भएको छ । ३ सय १८ वर्ष पुरानो ऐतिहासिक मन्दिरको जीर्णोद्धार कार्य गत मंसिर ७ गतेबाट सुरु भएको थियो । कोरना भाइरसको जोखिमका कारण भएको लक डाउनले दुई महिना अवरुद्ध भएको जीर्णोद्धार कार्य पूरा गर्दै आज सम्पन्न गर्ने भएको ङातापोल (पाँच तल्ले) मन्दिर जीर्णोद्धार उपभोक्ता समितिले जनाएको छ । २०७२ सालको विनासकारी भूकम्पले चर्के, भत्किएका मन्दिरका भागहरुलाई मर्मत गरी जीर्णोद्धार कार्य पूरा गर्ने स्थानीय जनप्रतिनिधी पूर्णगोपाल राजचलले जनाएको छ । भक्तपुर नगरपालिकाको ६५ लाख १३ हजार ३ सय ५८ रुपियाँ २७ पैसाको लागत इष्टिमेटमा सुरु भएको जीर्णोद्धार कार्य करिव रु.३४ लाख खर्च हुँदा पूरा हुने भएको छ । जीर्णोद्धारका लागि ११ लाख नगद सहित झिगति छाउने ईटा, माटो, खाजा नाष्टा लगायत धेरै अन्य आर्थिक, भौतिक सहयोगका साथै २ हजार ६ सय भन्दा बढी समुदायको जनश्रमद्धान प्राप्त भएको पनि उहाँले जनाएको छ । नगरपालिकाका जनप्रतिनिधी, साँसद, नेमकिपाका नेता तथा कार्यकर्ता एवं विभिन्न दाफा भजन, टिम क्लवहरुको अतुलनीय सहयोगले ऐतिहासिक ङातापोल मन्दिरको जीर्णोद्धार कार्य पूरा हुन लागेको उहाँले बताए ।
भूकम्पले मन्दिरको माथिल्लो तल्लाको पुरा भाग भाचिएपछि पाँचौ तल्ला पूर्णरुपमा निर्माण गरी बाँकी मन्दिरको झिंगतिहरु छाउने तथा भूकम्पले चर्काएका भागहरुलाई युनेस्को, पुरातत्व विभाग, संस्कृतिविद् तथा सम्पदाविद, इतिहासकार र प्रबिधिकाहरुको परामर्श र प्रत्यक्ष निगरानी अनुसार मर्मत कार्य पूरा गर्नलागेको उपभोक्ता समितिका अध्यक्ष केशव तमखुले जनाएको छ ।
मन्दिर जीर्णोद्धारका लागि गत कार्तिक २० गते वाँस कात्दै मंसिर ७ गते खत बाध्न सुरु गरेको थियो भने विधिवत जीर्णोद्धार कार्य मंसिर १७ गतेबाट सुरु गरेको थियो । चैत्र ११ गते देखिको लक डाउनले भने जीर्णोद्धार कार्य अनिश्चित बनेको थियो । असार अगाबै जीर्णोद्धार कार्य पूरा गर्नुपर्ने बाध्यतालाई ध्यान दिन्दै लक डाउनको एक महिनापछि पुनः जीर्णोद्धार कार्य सुरु गरेको थियो । लक डाउनमा पनि जीर्णोद्धार कार्य सुरु गरिए पनि पहिले जस्तो खुल्ला रुपमा काम गर्न नसक्दा दुई महिला जीर्णोद्धार कार्यमा धिला भएको उपभोक्ता समितिको ठहर छ । कोरना भाइरसको जोखिमका बाबजुत पनि हजारौ समुदायको श्रमदानबाट सो मन्दिर जीर्णोद्धार कार्य पुरा हुन लागेको हो |
मल्ल राजा भूपतेन्द्र मल्लले नेपाल सम्वत८२२मा छ महिनामा निर्माण कार्य पूरा गरिएको ऐतिहासिक मन्दिरको जीर्णोद्धार कार्य करिव ८ महिना पछि पूरा हुन लागेको हो । स्थापना कालमा जस्तै व्यापक जनसहभागिता र जनश्रमद्धानबाट जीर्णोद्धार कार्य भएको छ ।
विश्व सम्पदामा सूचीकृत ङातापोल (पाँच तल्ले) मन्दिरको जीर्णोद्धार कार्यमा ब्यापक जनश्रमद्धान भएको छ । जनश्रमदान कार्यले सम्पदाको जीर्णोद्धारमा समुदायको सहभागिता, अपनत्व हुने तथा समुदायको आर्थिक भौतिक सहयोग समेत जुत्ने गरी स्थानीय समुदायको उपभोक्ता समितिबाट सम्पदा संरक्षण गर्ने भक्तपुर नगरपालिकाको अवधारणाको सफल एवं उदाहरणीय ङातापोल (पाँच तल्ले) मन्दिरको जीर्णोद्धार कार्य आज पूरा गर्ने भएको हो ।
भक्तपुर नगरका ५० वटा विभिन्न टिम, क्लब, दाफा भजनले जनश्रमद्धान गर्न इच्छा देखाइ नाम दर्ता गराएको भएपनि १८ वटा संस्थाहरुको तर्फबाट मात्रै श्रमदान गराउने अवसर मिलेको उपभोक्ता समितिले जनाएको छ । जनश्रमद्धान गर्न धेरै जनताले इच्छा व्यक्त गरिरहेको भएपनि २ हजार ६ सय समुदायले श्रमद्धान गरी सक्दा जीर्णोद्धार कार्य पूरा हुने भएको छ ।

२०५४ सालमा पनि भक्तपुर नगरपालिकाले जीर्णोद्धार गरेकोे सो मन्दिर १८९०, १९९० सालको महाभूकम्पहरुबाट पनि प्रभावित हुँदै र जीर्णोद्धार हुँदै ३१८ वर्ष पूरानो मल्लकालिन सभ्यताको जीवन्त इतिहास जस्ताको तस्तै उभिरहेको छ । बुद्धबार भक्तपुर नगरपालिकाका मेयर, उपमेयर एवं जनप्रतिनिधीहरु आफैले पनि श्रमद्धान गरेका थिए भने नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, साँसद प्रेम सुवालले समेत सो मन्दिरको जीर्णोद्धार कार्यको स्थलगत निरिक्षण गरेको थियो । भक्तपुरको ऐतिहासिक र साँस्कृतिक सम्पदाको संरक्षण,पुनर्निर्माण र जीर्णोद्धारमा स्थानीय श्रोत सामग्रीको व्यापक सदुपयोगमा राजनैतिक प्रतिवद्धता यस मन्दिरको जीर्णोद्धार कार्यबाट प्रष्ट देखिन्छ ।
परम्परागत निर्माण सामग्री, स्थानीय कालिगढ, डकर्मी, सिकर्मीहरु र समुदायको सक्रिय सहभागितामा आज ङातापोल (पाँच तल्ले) मन्दिरको जीर्णोद्धार कार्य पूरा हुने भएको छ । जीर्णोद्धारका लागि बाधिएको खत झिक्ने एवं सरसफाई कार्य पूरा गर्न भने केही दिन लाग्ने छ । त्यसमाथि मन्दिरको सिडिहरुमा ढुंगा छाप्ने, मन्दिरको टोरणाहरुमा परम्परागत रंगरोगन लगाउने काम भने बाँकी नै छ । परम्परागत शैलीमा रंगरोगन गर्न एक वर्ष लाग्ने भएकाले तथा अहिले वर्षायाम रहेकाले अन्य काम छोडेर झिंगति छाउने र भूकम्पले चर्काएको भागहरुको मर्मत कार्य भने आज पूरा गर्ने भएको हो ।













