नवदुर्गाको अन्तिम संस्कार…….

भक्तपुर, जेष्ठ ३१गते
आस्था र संस्कारको प्रतिक नवदुर्गा गणको शनिवार साँझ अन्त्यस्ति गरिएको छ । हरेक वर्ष आजको दिन नवदुर्गा गणको अन्तिम संस्कार हुने परम्परा अनुसार नवदुर्गा गण मन्दिर परिसरमा आज भक्तजनहरुबाट अन्तिम भोजन चढाउने सत्कार र परम्परा सम्पन्न गरी  भलभल अष्टमी, भगस्ती  पर्व मनाएको हो । विजया दशमीको दिनमा उत्पति हुने शक्ति पीठको प्रतिक नवदुर्गा गणको वार्षिक अत्यस्ती आजको दिन गर्ने परम्परा रहेको हो । नेवार समुदाय रहेको काठमाण्डौ उपत्यका, बनेपा, धुलिखेल, पनौति लगायत विभिन्न क्षेत्रमा वर्षको ८ महिनासम्म नाँच गान र जात्रा पर्व धान्दै आएको नवदुर्गा गणको वार्षिक अन्त्यस्ति आजको दिनमा हुने गर्दछ । आजको दिनमा बोटविरुवा रोपे सप्रिन्छ भन्ने मान्यता पनि रहेको छ । नवदुर्गा गण भक्तपुरका अष्टमात्रिका सहित २१ बटा देवदेबीको शक्तिपीठका रुपमा पनि पुज्ने गर्दछ ।

घर परिवारको काम काज, सरसफाई, सामाजिक दायित्व एवं नैतिक शिक्षा दिने परम्परागत नवदुर्गा नाँच मल्लकालिन संस्कृति भनेर चिनिछ । भवस्तीको दिनमा नवदुर्गाका सम्पूर्ण मुकुडहरु जलाएर अन्त्यस्ति गर्ने परम्परा अनुसार व्रम्हायणी पीठमा आज सम्पन्न गरेको छ । मानिसको मृत्यु संस्कार जस्तै नवदुर्गा गणको पनि मृत्यु संस्कार सम्पन्न गर्ने प्रचलन रहेको हो । जन्मपछि मृत्य अवस्यभावि भन्ने सन्देश बोक्दै कृषकहरुले उत्पादन गरेको ताजा गहुँको सातु खुवाए पछि झाडा भएर नवदुर्गा गणको मृत्यु हुने जनविश्वास पनि रहेको छ । आज मृत्युवरण गरेका नवदुर्गा गण भने आगामी विजयादशमीको दिन महेखासुर राक्षसलाई बद गर्नका लागि उत्पति हुने जनविश्वास पनि छ । नवदुर्गाको उत्पतिसँगै नवदुर्गाको जात्रा पर्व र नाँच गान सुरु हुने गर्दछ ।

This image has an empty alt attribute; its file name is 102894515_3938804629524503_7606895065328410809_n.jpg