ललितपुरका एक सहित थप दुईको मृत्यु, सङ्क्रमित ११ हजार नाग्यो
खरिपाटी क्वारेन्टिनबाट घर फर्किएका चार जना सहित उपत्यकामा ९ जनामा संक्रमण
कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा एक र ललितपुरस्थित पाटन अस्पतालमा एक गरी दुई जना कोरोना सङ्क्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । पाटन अस्पतालमा चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान–५ मा बसोबास गर्ने पुरुषको निधन भएको हो । उहाँको पाँच महिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएका उहाँको स्वास्थ्यमा समस्या आएपछि शुरुमा भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा लगिएको थियो । त्यसपछि उहाँलाई भेन्टिलेटरको स्पोर्ट चाहिने भएपछि नर्भिक अस्पताल ल्याएको थियो । नर्भिक अस्पतालले आइसोलेशनमा राखी कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि पाटन अस्पतालमा रेफर गरिएको थियो । उपचारका क्रममा उहाँको आज बिहान ५ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रवक्ता प्रवक्ता डा गौतमले बताउनुभयो । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचार कक्ष (आईसीयु) मा भर्ना हुनुभएका स्याङजा जिल्ला आँधीखोला–१ का पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उपचारका क्रममा गएराति ११.३५ बजे उहाँको मृत्यु भएको थियो । मधुमेह र श्वास फेर्न समस्या भएपछि उहाँलाई यही असार ८ गते अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ ।
थप ४३४ कोरोना सङ्क्रमण पुष्टि
नेपालमा थप ४३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३८६ पुरुष र ४८ महिला गरी कूल ४३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या ११ हजार १६२ पुगेको छ । तीमध्ये एक हजार १४२ महिला र १० हजार २० पुरुष छन् ।
एकैदिन ३१२ जना डिस्चार्ज
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३१२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १९ महिला र २७३ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार ६५० पुगेको छ ।
पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट छ हजार ५४३ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा चार हजार १३७ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ७४ हजार २२ जना क्वारेन्टिनमा र आठ हजार ४८६ जना आइसोलेशनमा रहेका छन् ।
खरिपाटी क्वारेन्टिनबाट घर फर्किएका चार जना सहित उपत्यकामा ९ जनामा संक्रमण
भक्तपुरस्थित खरिपाटी क्वारेन्टिनबाट मंगलबार घर फर्केका चार जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । कोरना प्ररिक्षणको रिपोर्ट आउँन ढिला भएपछी मंगलबार घर फर्किएका एक महिला सहित तीन पुरुषमा कोरना सक्रमण देखिएको हो | तीनीहरु दुबईबाट नेपाल आएपछि खरिपाटि क्वारेन्टिनमा बस्दै आएका थिए | कोराना परिक्षण गरिएका १० जना मध्य ४ जनामा संक्रमण देखिएको हो | यसै वीच काठमाण्डौका दुई पुरुष र दुई महिला तथा ललितपुरका एक पुरुष र भक्तपुरका तीन पुरुष सहित एक महिलामा पनि कोरना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानेको हो |













