भक्तपुर बचतका ज्येष्ठ सदस्य भ्रमण ठूली ब्रम्हायणीमा सम्पन्न

भक्तपुर बचतका ज्येष्ठ सदस्य भ्रमण ठूली ब्रम्हायणीमा सम्पन्न
भक्तपुर, १५ चैत्र
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ज्येष्ठ तथा बाल सदस्य उपसमितिको आयोजनामा ज्येष्ठ सदस्य बनभोज कार्यक्रम शनिबार भक्तपुर सुडालस्थित ठूली ब्रम्हायणीमा सम्पन्न भएको छ ।
जम्मा ९४ जना ज्येष्ठ सदस्य सहभागी रहेको उक्त कार्यक्रममा महिला र पुरुष ज्येष्ठ सदस्यले उत्साहपूर्वक भाग लिएका थिए । पुरस्कृतहरुलाई पुरस्कार वितरण गर्दै संस्थाका अध्यक्ष निर्मल प्रजापतिले भक्तपुर बचतको स्थापना र हालको अवस्थाबारे अवगत गराउनुभएको थिया । उहाँले ब्याजको लोभमा नराम्रो संस्थामा पैसा जम्मा गर्दा विभिन्न समस्या आएको बताउँदै भक्तपुर बचतले आर्थिकसँगै विभिन्न सामाजिक क्रियाकलापहरु अगाडि बढाएकाले सबैको विश्वास जित्न सफल भएको बताउनुभयो । सामुदायिक सहकारीबाट नेपालमै पहिलोपटक व्यवस्थित आदर निकेतनको स्थापना गरेको बताउँदै हाल सिमित ठाउँभित्र ३५ जना ज्येष्ठ नागरिकहरुको सेवा गरी नमूनायोग्य काम गरेको स्पष्ट पार्नुभयो । पैसाको सुरक्षा नै महत्वपूर्ण भएको औंल्याउँदै अहिले धेरै ब्याजको लोभले सबै रकम लिएर भागेका सहकारीको कमी नभएको उहाँको भनाइ छ ।
त्यस्तै आयोजक समितिका संयोजक बलराम प्रजापतिले ज्येष्ठ सदस्य बनभोज कार्यक्रम वार्षिक रुपमा भएका नियमित कार्यक्रमकै सिलसिला भएको बताउनुभयो । उहाँले स्वस्थ जीवनका लागि समकालिन व्यक्तिहरुसँगको घुलमिल र रमाइलोका लागि यो कार्यक्रमको आयोजना भएको स्पष्ट पार्दै भक्तपुर बचतले ज्येष्ठ सदस्यका लागि विगतका वर्षहरुबाट तिर्थाटन भ्रमण, पोषण वितरण, स्वास्थ्य शिविरलगायतका कार्यक्रम गरेको बताउनुभयो ।
कार्यक्रममा पुरुष र महिला ‘हट पोटाटो, पुरुष र महिला ‘म्युजिकल चियर’ र घ्याम्पो फुटाउने खेलहरु भएकोमा पुरस्कृतहरुलाई अतिथिहरुबाट पुरस्कार वितरण भएको थियो । कार्यक्रममा संस्थाका ब्यवस्थापक सत्यनारायण साँयजूले पनि संस्थाको बारेमा जानकारी दिनुभएको थियो ।