भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४ आज सार्वजनिकनेपालको एक अंक खस्यो ।

भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४ आज सार्वजनिक
नेपालको एक अंक खस्यो ।
काठमाण्डौ, माघ २९ गते
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई)को भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४ आज सार्वजनिक गरेको छ । विश्वका १८० देश सम्मिलित यस सूचकाङ्कमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा रहेको छ भने साउथ सुडान ८ अङ्क प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा अंकित भएको छ ।


नेपालको भने गत वर्षको तुलनामा एक अंग खस्केको प्रतिबेदनमा जनाएको छ ।
भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४ मा नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ, जुन गत वर्ष ३५ रहेको थियो । यस नतिजाले भ्रष्टाचार विरुद्व प्रभावकारी रुपले काम–कारबाही अगाडि बढाउन अत्यन्त जरुरी भएको औंल्याउँदछ । दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ७२ अङ्क, भारतले ३८ अङ्क, मालदिभ्सले ३८ अङ्क, नेपालले ३४ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ अङ्क र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४३ अङ्क प्राप्त गरेको टिआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ ।


सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँदछ । विगत ५ वर्षमा ७ वटा मुलुकहरुले भ्रष्टाचार अवधारणा सूचकाङ्कमा उल्लेख्य प्रगति हासिल गरेका छन् । सन् २०२४ मा विश्वका दुई तिहाइ देशहरुले १०० मा ५० भन्दा कम अंक प्राप्त गरेका छन् । सर्वेक्षण गरिएका १८० मुलुकको औसत अंक यस वर्ष पनि ४३ नै कायम रहेको छ । कम अंक प्राप्त गर्नेमा कमजोर र द्वन्द्व प्रभावित मुलुकहरु रहेका छन् । विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा सक्रिय रहेका मुलुकहरुले समेत भ्रष्टाचार अवधारणा सूचकाङ्क सर्वेक्षणमा कम अंक प्राप्त गरेको देखिएको कुरा टिआई नेपालले आज काठमाण्डौमा आयोजित एक कार्यक्रम बीच भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४ सार्वजनिक गरेको थियो ।