भक्तपुर ईटा उद्योग व्यवसायी संघको नयाँ नेतृत्व निर्विरोध निर्वाचित
भक्तपुर, पुस १९ गते
भक्तपुर ईटा उद्योग व्यवसायी संघको २९ औं वार्षिक साधारण सभा र १६ औं अधिवेशनबाट नयाँ नेतृत्व सर्व सहमतिबाट चयन गरिएको छ । आज भक्तपुरमा आयोजित अधिवेशनबाट बर्तमान अध्यक्ष नातीभाई ह्यौवाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । उपाध्यक्षमा आशाकाजी त्वायनाबासु, सचिवमा आसराम बैद्य सहित नयाँ नेतृत्वको सर्व सहमतिले निर्वाचत गरेको संघका सल्लाहकार एवं निर्वाचन मण्डलका विश्वराम कवांले घोषणा गर्दै आजै पद्भार तथा सफत ग्रहण गरेको छ । यसरी निर्वाचित हुनेहरुमा कोषाध्यक्षमा लक्ष्मीप्रसाद त्वायनाबासु, सहसचिवमा रत्नलाल सांढ, सदस्यहरुमा विष्णुसुन्दर प्रजापति, बालगोविन्द तंचामो, केशव कवां, पूर्णप्रसाद गाईजू, राजेश त्वायनाबासु रहेका छन् ।


होटल ध्याम्पेडाडामा आज आयोजित साधारण सभा तथा अधिवेशनको पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु हुँदै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले ईट्टा उद्योगलाई समय अनुसार परिमार्जन गर्न आवश्यक भएकोमा जोड दिदै विदेशी पूजीले स्वदेशी तथा ठूलो पूजाीले सानो पुजीलाई समाप्त पार्ने भएकोले व्यवसायीहरु सचेत हुनुपर्नेमा जोड दिनु भयो । काठमाण्डौ उपत्यकाको जमिन कमसल रहेको भूगर्वविद्हरुको भनाईलाई पछुयाउदै सांसद सुवालले माटोबाट मात्रै इट्टा बनाउने प्रविधिलाई पनि परिमार्जन गर्न आवश्यक भएकोमा जोड दिनु भयो । दर्ता गरी लगानी गरिसकेको उद्योगहरुलाई व्यवस्थित रुपमा सञ्चालनकालागि सरकारले ध्यान दिनुपर्ने चर्चा गर्दै सांसद सुवालले उद्योग प्रवर्धन गर्दा वातावरण मैत्री हुनुपर्नेमा पनि जोड दिनु भयो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले ईट्टा उद्योगमा देखिएको समस्याहरु र जनगुनासाहरुलाई सम्बोधन गर्न आवश्यक भएको उल्लेख गर्दै शहर निर्माणमा ईट्टा उद्योगको योगदान रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुरका ईट्टा उद्योगहरुले सामाजिक क्षेत्रमा पनि योगदान गर्दै आएको चर्चा गर्दै इट्टा उद्योग प्रर्वधन गर्न प्रशासनले पनि सक्दो सहयोग गर्ने प्रतिवधता जनाउनु भयो । कार्यक्रममा नेपाल ईटा उद्योग महासंघका कार्यावाहक अध्यक्ष कृष्णप्रसाद अवाल, नेपाल ईटा उद्योग महासंघ वरिष्ठ सल्लाहकार विश्वराम कवां, नेपाल ईटा उद्योग महासंघ अन्र्तगत बागमती प्रदेश समितिका अध्यक्ष आशाकाजी त्वायनाबासु, आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत दिलिप कुमार गौतम, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी मैया धौवन्जा, उद्योग तथा बाणिज्य कार्यालयका रामप्रसाद कुस्मा, भक्तपुर ट्रक व्यवासयी संघका अध्यक्ष लक्ष्मीप्रसाद गोराले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।












