अक्टोबर क्रान्ति र यसको महत्व पुस्तकको दोस्रो संस्करण सार्वजनिक

अक्टोबर क्रान्ति र यसको महत्व पुस्तकको दोस्रो संस्करण सार्वजनिक
भक्तपुर, कार्तिक २२ गते
मानिसको व्यबहारबाटै पूजीँवादी हो कि समाजवादी हो भनेर थाहा हुने चर्चा गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले अक्टोबर क्रान्ति र यसको महत्व पुस्तकको दोस्रो संस्करणको आज सार्वजनिकीकरण गर्नु भएको छ । लेखक विजुक्छेंले व्यक्तिगत निर्णयको आधारमा नभई सामुहिक निर्णयले गर्ने कार्यमा जोड दिन आग्रह गर्नु भयो । समाजबाद सामुहिक निर्णयले अघि बढ्छ उहाँले भन्नु भयो ।


भ्रष्टाचार र अनियमिततालाई राजनैतिक क्षेत्रले संरक्षण गर्न नहुनेमा जोड दिनु हुँदै अध्यक्ष विजुक्छेले कमिकमजोरी सुधार्न बेलैमा सुझाब र आलोचना हुनुपर्ने बताउनु भयो । विशाल देश चीन र भारतको बीचमा रहेको नेपालका युवाहरु कम्युनिष्ट हुने डरले ८० लाख नेपाली युवाहरुलाई विदेश पठाउने पूजीँवादी सोच विकास भएको प्रति आलोचना गर्दै समाजवादी देशमा सरकारले योग्यता अनुसारको काम र काम अनुसारको ज्यालाको बन्दोबस्ती हुने धारणा राख्नु भयो । अध्यक्ष विजुक्छेले कामदार वर्गको हित समाजवादी व्यवस्थामा मात्रै हुने भन्दै नयाँ पुस्तालाई विवाह, रोजगारको अवसरसँगै जाड रक्सिको लटमा फसाएर बिगार्ने पार्टीहरु नामले कम्युनिष्ट भएपनि कम्युनिष्ट पार्टी नभएको बताउनु भयो । नेमकिपाका १० औं वर्ष काम गरेका दैलेख, जुम्ला, कालिकोटका नेता कार्यकर्ताहरुलाई यसरी नै बिगारेको उल्लेख गर्दै अध्यक्ष विजुक्छेले कम्युनिष्टहरुले जनताको समस्या बुझेर सो अनुसार जनताको सेवामा लागि पर्न आग्रह गर्नु भयो ।


कार्यक्रममा श्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशीले अक्टोवर क्रान्ति र यसको महत्व बारे परिचर्चा गर्दै पृथ्वीमा स्वर्ग छ भन्ने हो भने रुस छ भन्ने धारणा विकास गरेको सोभियत संघको सन् १९९१मा बिखण्डन भएसँगै इतिहासमा सिमित भएको अक्टोबर क्रान्तिको महत्वलाई झल्काउन र नयाँ पुस्तालाई मार्गनिर्देशित गर्न अध्यक्ष विजुक्छेले लेख्नु भएको अक्टोवर क्रान्ति र यसको महत्व पुस्तक समयसादर्भिक भएको बताउनु भयो । पूजीँवादी देशहरुले हजारौ वर्षमा बिकास नगरेको काम रुसले ६०।७० वर्षमा विकास गरेको उदाहरणहरु प्रस्तुत गर्दै वरिष्ठ पत्रकार समेत रहेका जोशीले रुसि अक्टोवर क्रान्ति विश्वको समाजवादी आन्दोलनको महत्वपूर्ण इतिहास भएको बताउनु भयो । उहाँले विश्वलाई हिटलरको साम्राज्यबाट बचाउने र समाजवादी आन्दोलनलाई अगाडी बढाउन अक्टोवर क्रान्ति र यसको महत्व नेपालको परिपेक्षमा समेत सान्दर्भिक भएको बताउनु भयो ।
बागमति प्रदेशका सांसद एवं नेमकिपा भक्तपुरका अध्यक्ष सुरेन्द्रराज गोसाईले पुस्तकमाथि समीक्षा गर्दै का.रोहितले ४० वर्ष अघि लेख्नु भएको अक्टोबर क्रान्ति र यसको महत्व पुस्तकको सान्दर्भिकता अहिले पनि उतिक्कै रहेको बताउँदै एनजिओहरुले युवाहरुलाई नैतिक, सामाजिक र राजनैतिक रुपले समेत पलायन गराएर अमेरिकी साम्राज्यवादको पिछलगु बनाउन लागि परेको प्रति आलोचना गर्नु भयो । कार्यक्रममा बागमति प्रदेशका अर्का सांसद सृजना सैंजूले ७ अक्टोबर क्रान्ति मजदुरहरुको विजयउत्सव भएको बताउँदै मानिसले मानिसमाथि हुने शोषन अन्त्य हुनुपर्नेमा जोड दिनु भयो । साथै उहाँले १३९ पृष्ठमा प्रकाशित अक्टोबर क्रान्ति र यसको महत्व पुस्तकमा रहेका विषयवस्तुहरुमा प्रकाश पार्दै लेखक एवं नेमकिपा अध्यक्ष विजुक्छेले अक्टोबर क्रान्ति र यसको महत्व पुस्तकले विश्वमा समाजवादी आन्दोलन अगाढी बढाउन देखाउनु भएको मार्गनिर्देशन बारे प्रष्ट्याउनु भयो ।
आयोजक समिति नेपाल क्रान्तिकारी मजदुर संघका विष्णुराम दुमरुको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष प्रकाश गुरुङ्ग साथै वरिष्ठ इन्जिनियर राजेन्द्र हाडा, ने क्रा यु संघका रमेश दुमरु सहितका अतिथिहरुले अक्टोवर क्रान्ति र यसको महत्व बारे आआफ्नो धारणा व्यक्त गर्दै रुसी अक्टोबर क्रान्तिले समाजबादी आन्दोलनमा पुर्याएको योगदानहरु बारे चर्चा गर्नु भयो ।