विश्व क्षयरोग दिवसको अवसरमा भक्तपुरमा ईट्टा भट्टाका मजदुरहरुको क्षयरोग परिक्षण

विश्व क्षयरोग दिवसको अवसरमा भक्तपुरमा ईट्टा भट्टाका मजदुरहरुको क्षयरोग परिक्षण
भक्तपुर, चैत्र ९ गते
विश्व क्षयरोग दिवसको अवसरमा भक्तपुरमा ईट्टा भट्टाका मजदुरहरुमा क्षयरोग परिक्षण गरिएको छ । ‘हो, हामी क्षयरोग अन्त्य गछौं’ नाराकासाथ विभिन्न कार्यक्रम गरी मनाइ रहेको विश्व क्षयरोग दिवस अन्तर्गत भक्तपुरमा आज ईट्टा भट्टाका मजदुरहरुको क्षयरोग परिक्षण गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले चाँगुनारायण नगरपालिकाको झौखेलस्थित चाँगुनारायण ईट्टा उद्योगमा कार्यरत मजदुरहरुको खकार संकलन र परिक्षणका साथै अभिमुखिकरण कार्यक्रम गरी यस वर्षको विश्व क्षयरोग निवारण दिवस मनाइरहेको कार्यक्रमका संयोजक भोला पौड्यलले जनाएको छ । ‘अस्थित मजदुरहरुको बीचमा क्षयरोग बारे अभिमृखिकरण गर्यौ, आज मजदुरहरुको खकार संकलन गरिरहेका छौं,’ संयोजक पौड्यलले बताए । भोलि र पर्सि विदा परेकाले खकार परीक्षण अलि धिला हुने भए पनि भट्टामा क्षयरोगका लक्षण देखिएका मजदुरहरुको नजिकैको स्वास्थ्य चौकीबाट समेत नियमित रुपमा परिक्षणको व्यवस्था रहे पनि आज विशेष क्षयरोग परिक्षण कार्यक्रम आयोजना गरेको उहाँले बताए । प्रत्येक वर्ष मार्च २४ तारिकका दिन विश्व क्षयरोग निवारण दिवस मनाउँने गरिए पनि यसवर्ष सो दिन होली पर्वको विदा परेकाले २ दिन अगाबै विश्व क्षयरोग दिवस मनाएको उहाँले बताए ।


भक्तपुरमा सबैभन्दा बढी भक्तपुर नगरपालिका क्षेत्रमा क्षयरोग संक्रमित रहे पनि क्षयरोग मुक्त नगर घोषणा कार्यक्रम संचालन भईरहेको चाँगुनारायण नगरपालिका क्षेत्रमा यस वर्ष क्षयरोग निवारण कार्यक्रम आयोजना गरेको उहाँले बताए । चाँगुनारायण नगरपालिका क्षेत्रमा १ सय ९७ जना क्षयरोगीहरुको नियमित स्वास्थ्य परिक्षण र उपचार भइरहेको भन्दै जनस्वास्थ्य शाखा चाँगुनारायणका कार्यालय प्रमुख सत्यकुमार दुवालले समुदायमा लुकेर रहेका क्षयरोगीहरुको पहिचान, परिक्षण र उपचारका बार्षिक कार्यक्रम रहे पनि विश्व क्षयरोग दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना भएको बताए । हावाबाट समेत सर्न सक्ने यसरोग बारे जनचेतना अभिवृद्धिकालागि चाँगुनारायण क्षेत्रमा जन्त्र सहितका संस्थाहरुसँगको सहकार्यमा विशेष कार्यक्रमहरु पनि सञ्चालन भइरहेको उहाँले बताए ।
जिल्लामा यस वर्ष १०७० जनामा क्षयरोग संक्रमण फैलिएको आकलन गरेको भए पनि ४१० जनाको मात्रै पहिचान भएको स्वास्थ्य कार्यालय भक्तपुरको भनाई छ । गत वर्ष १०१८ संक्रमित आँकलन गर्दा ६८३ जनाको पहिचान गरी उपचार गरेको तथ्यांक छ । सन् २०५०सम्ममा क्षयरोग मुक्त नगर जिल्ला, देश र विश्व बनाउने विश्वव्यापी अभियान अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमहरुका साथ यस वर्ष क्षयरोग निवारण दिवस मनाइरहेको स्वास्थ्य कार्यालय भक्तपुरका सहायक कार्यालय प्रमुख शान्तिराम खतिवडाले जनसञ्चार खवरलाई बताए ।