सिद्धिकृषीको ११ औं साधारण सभामा देशको आत्मनिर्भरताकालागि कृषि विकासमा जोड

सिद्धिकृषीको ११ औं साधारण सभामा देशको आत्मनिर्भरताकालागि कृषि विकासमा जोड
भक्तपुर, कर्तिक २० गते
सिद्धि कृषि सहकारी संस्था लि.ले आज ११ औं वार्षिक साधारण सभा आयोजना गरेको छ । कृषि मल, वीउ विजन र प्रविधिका बारेमा सेवा दिन्दै आएको सिद्धि कृषिले सिद्धि गणेश साकोसको तालिम हलमा आज साधारण सभा आयोजना गरेको हो ।
बागमती प्रदेशका सांसद सरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, जनप्रतिनिधी उकेश कवा, राष्ट्रिय वालि विज्ञान सूचना केन्द्रका कृषिविज्ञ संगीता सहितका अतिथीहरुले विरुवामा पानी सेचन गरी साधारण सभाको उद्घाटन गरिएको सो कार्यक्रम संस्थाका अध्यक्ष पुण्यराम दुमरुको सभापतित्वमा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी सांसद गोसाईले उब्जनी गर्ने कार्यमा लाग्न सके आफ्नो मानसिक र शारीरिक स्वास्थ्यका लागि लाभ मिल्ने धारणा राख्नु भयो । उहाँले कृषि सहकारीले कृषि विज्ञहरुको सल्लाह अनुसार कृषकहरुलाई परामर्श, कृषि औजार मल, बीउ उपलब्ध गराएर कृषि उत्पादनवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सकिने बताउनु भयो । भारतले तीन तर्फ घेरेको, उत्तर तर्फ चीनको सिमाना रहेको देशका जनताले बाँच्नकालागि भए पनि कृषि उत्पादन छोड्न नहुने र छोड्न पनि नसकिने कुरा उल्लेख गर्दै राजनैतिक परिवर्तन भएको ३३ वर्षमा पनि कृषि मन्त्री गतिलो नआएकोले कृषिमा आत्मनिर्भरता गुम्दै गएको बताए ।


कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जनतासँग प्रत्यक्ष सहकार्य गर्ने र लाभावित पार्ने जिम्मेबारी उपप्रमुखसँग रहेको जानकारी दिदै कृषि क्षेत्रमा निरन्तर लागि रहेको कृषकहरुलाई सूचिकरण गरी सरकारले उपलब्ध गराएको सेवा पुर्याउने तयारी भएको जनाए । देशलाई अगाडी बढाउन कृषि विकास हुनुपर्ने धारणा राख्दै उपप्रमुख जोशीले कृषिसँग नै हाम्रो मौलिक कला संस्कृति, परम्परा र जात्रा पर्व चल्दै आएको धारणा राख्नु भयो ।
मौलिकतासँग जोडिएको उत्पादनलाई प्रवर्धन गर्न जोड दिदै उहाँले कमसेकम परनिर्भर हुन नपर्ने गरी आत्मनिर्भरताका साथ कृषि प्रविधिको विकास गर्नुपर्ने कुरामा जोड दिनु भयो । अर्का जनप्रतिनिधी उकेश कवांले ९० प्रतिशतसम्म खाद्यान्न भारतबाट आयात गर्नुपर्ने गरी देशको उत्पादन ह्रास भएको चर्चा गर्दै यसमा सरकारको ध्यान नपुगेको कुरा उल्लेख गर्नु भयो । देशमा पूजीपति व्यवस्था भएकाले धनी झन झन धनी, गरिव झन झन गरिव हुँदै जाने गएको चर्चा गर्दै जनप्रतिनिधी कवांले व्यवसायीक कृषकले फाइदा लिन सके पनि ससाना कृषकहरुको जीवन सुधार नभएको तर्फ पनि ध्यानाकर्षण गराउनु भयो । राष्ट्रिय वालि विज्ञान सूचना केन्द्रका कृषि विज्ञ संगीताले भने कृषकहरुलाई नयाँ नयाँ प्रविधि बारे जानकारी दिदै उत्पादकत्व वृद्धिकालागि आफूहरुले सहयोग गर्दै आएको धारणा राख्नु भयो ।

कार्यक्रममा उत्कृष्ठ कृषकहरुलाई पुरस्कृत गरेको थियो भने अतिथीहरुलाई विरुवा सहितको गमला उपहार दिएको थियो ।