वागीश्वरीमा मनाइयो संविधान दिवस
भक्तपुर, २ असोज– वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ को कानुन समूहको आयोजनामा मंगलबार आठौं संविधान दिवसको अवसरमा ‘नेपालको संविधान २०७२ विषयक अन्तरक्रिया गरी मनाइयो ।
कार्यक्रममा वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले देशको मूल कानुन संविधानबारे सबै विद्यार्थीहरुले जानकारी राख्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुले नेपालको संविधानको गहिराइमा गई अध्ययन र प्रस्तुतीकरण गर्नु राम्रो पक्ष रहेको औल्याउनुभयो ।
सहायक प्रधानाध्यापक उकेश सुवालले विद्यार्थीहरुकै सक्रियतामा यस्तो अतिरिक्त क्रियाकलापहरु भइरहनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले संविधानमा रहेका प्रावधानहरुको पूर्ण पालना गरे नेपाल विश्वकै राम्रो देशमा कहलिने बताउनुभयो । कयौं शहीदहरुको बलिदानबाट र जनताको संघर्षबाट आएको नेपालको संविधान २०७२ को अपब्याख्याबाट देश र जनताको लागि हानी नोक्सानी हुने गरी नागरिकता विधेयक पारित गरेको बताउनुभयो । सिक्किम लेन्डुप डोर्जेजस्ता देशद्रोहीकै कारण भारतमा विलय भएको बताउँदै नेपाली सत्तासिन पार्टीहरुले नेपाललाई पनि त्यस्तै गर्न संविधानको अपब्याख्या गर्दै लगेकोप्रति सचेत हुनुपर्ने स्पष्ट पार्नुभयो ।

त्यस्तै कानुन विषय शिक्षक राजन लाखाले संविधान दिवसको मर्मबारे जानकारी दिँदै कानुनलाई पालना गर्न गराउन कार्यक्रमको सार्थकता रहेको बताउनुभयो ।
शिक्षक तथा अधिवक्ता पुरुषोत्तम ग्वाछाले संविधान दिवसले नेपालको कानुनी विषयमा थप ज्ञान दिने बताउनुभयो । उहाँले मौलिक हक अधिकारको विषयमा स्पष्ट पार्नुभयो ।
शिक्षक तथा अधिवक्ता प्रजापति खनालले गीत प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरु निङ्मा लामा, दुर्गा बस्नेत, अनिता कार्की, रसिला मानन्धर, सुनिता विक, सुरज विक, रितु गाईजु, धन बहादुर तामाङ, निकिता मगर, पुष्कर मानन्धर, राधिका बेकोजु, रघुनन्दन महत्तो, सपना गौतम लगायतले संविधानका विभिन्न विषय र मौलिक हकबारे प्रस्तुती दिएका थिए ।












