सबै वित्तीय संस्थालाई एउटै नजरले नहेर्न मध्यपुर थिमि सहकारीका अध्यक्ष मानन्धरको अपिल

सबै वित्तीय संस्थालाई एउटै नजरले नहेर्न मध्यपुर थिमि सहकारीका अध्यक्ष मानन्धरको अपिल

फागुन २१ गते, केके मानन्धर

मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निगुपुखू क्षेत्रमा खुल्ला रक्तदान र निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखा र डेन्टल आर्ट मल्टिस्पेसियालिटी क्लिनिकको समन्वयमा सम्पन्न भएको स्वास्थ्य शिविरमा ११३ जना सदस्यहरू लाभान्वित भएका छन् ।
स्वास्थ्य शिविर पश्चात् भएको छलफल कार्यक्रममा संयोजक डा. उज्ज्वल जोशीले शिविरमा डेन्टल टेस्ट, एक्सट्रयाकसन, फ्लोराइडिङ लगायतको दाँत सम्बन्धिको विशेषज्ञ सेवा प्रदान गरिएको जनाए । ‘अहिलेको परिपेक्ष्यमा अधिकांस महानुभावको आम्दानी भन्दा खर्च बढी छ । खर्च बढ्नुको मुख्य कारण स्वास्थ्य उपचार महंगो भएर पनि हो । त्यसैले स्वास्थ्यप्रतिको जनचेतना अभिवृद्धि गर्दै हामीले एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेका छौं ।’ कार्यक्रम संयोजक डा. उज्ज्वल जोशीले जनाए । हुनपनि व्यक्ति स्वस्थ हुँदा कार्यक्षमताको वृद्धि भएर स्वास्थ्य उपचारको खर्च समेत कम हुने वास्तविकता हो ।


एक फरक प्रसंगमा संस्थाका अध्यक्ष कृष्णकाजी मानन्धरले वित्तीय संस्थाप्रतिको पछिल्लो भ्रम न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । सबै वित्तीय संस्थालाई एउटै डालोमा राखेर मुल्यांकन नगर्न उहाँले अपित समेत गरे । निश्चित बहुउद्देश्यीय तथा लघुवित्त संस्था सञ्चालन गर्ने गलत नियत भएका सञ्चालक तथा व्यवस्थापकहरुको कारणले अहिले विसम परिस्थितिको सिर्जना हुनपुगेको उहाँले दाबी गरे । त्यसमाथि नियामक निकायबाट वित्तीय संस्थालाई हुनुपर्ने नियमित र व्यवस्थित ढंगको अनुगमन र निरीक्षण अभावले अहिलेको अवस्था आएको अध्यक्ष मानन्धरको ठहर छ । ‘देशको तीन खम्बे अर्थ नीति बमोजिम सरकार, निजी क्षेत्रपछि सहकारीको नाउँ आउँछ । त्यसैले सहकारीले सदस्यहरुबाट ससाना पुँजी संकलन गरी सदस्यहरुको आर्थिक र सामाजिक क्षेत्रको उत्थानको लागि उनीहरुलाई सुरक्षित तबरले लगानी गर्नुपर्दछ । तर विडम्वना केही निश्चित सहकारीले ती सिद्धान्त बेगर काम गरेका छन् । सामाजिक सेवा भावले सञ्चालन भएका सहकारीलाई समेत त्यस्ता समस्याग्रस्त सहकारीको नकारात्मक प्रभाव परेको राम्रो विषय होइन ।’ अध्यक्ष मानन्धरको भनाइ थियो । अहिले स्थानिय बासिन्दा तथा समाजसेवीहरुले नेतृत्व गरेको सहकारी संस्था कमै मात्र समस्यामा छन् । धेरैजसो बढी व्याजको लोभ देखाएर पैसा मात्र संकलन गर्ने नियतले आएका सहकारीहरु समस्याग्रस्त अवस्थामा छ । त्यसैले हल्लाको भरमा दौडिएर भन्दा पनि सहकारी संस्थाको छवि, सञ्चालक तथा व्यवस्थापकहरुको कार्यशैलीलाई मूल्यांकन गरेर सदस्यहरुले सहकारीमाथि व्यवहार गर्नुपर्ने देखिन्छ ।
त्यस्तै, रेडक्रस उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले रगतमा देखिएको अभाव परिपूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको दाबी गरे । पछिल्लो समय रगतको माग बढी रहेको श्रेष्ठको भनाइ थियो ।
मध्यपुर थिमि सहकारी संस्थाले समाजप्रतिको उत्तरदायित्व कार्यक्रम अन्तर्गत वार्षिक रूपमा विभिन्न खाले गतिविधि गर्दै आएको छ । कार्यक्रमलाई संस्थाको शिक्षा उपसमिति र महिला उपसमितिले संयोजन गरेको हो । कार्यक्रममा सबभन्दा बढी बालबालिका र जेष्ठ नागरिकहरूको सहभागिता रहेको आयोजकले दाबी गरेको छ ।