भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०७८ को पुरस्कार वितरण सम्पन्न

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०७८ को पुरस्कार वितरण सम्पन्न
२०७८ मंसिर २४ गते, शुक्रबार
भक्तपुर नगरपालिकाको आयोजनामा २०७८ मंसिर २० गतेदेखि २४ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०७८ को पुरस्कार वितरण तथा समापन कार्यक्रम सहिदस्मृति खेलमैदानमा शुक्रबार सम्पन्न भएको छ ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सासद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न ‘पुरस्कार वितरण तथा समापन कार्यक्रम’ मा १४ वटा विभिन्न खेलकुदका विजयी खेलाडी तथा विद्यालयहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र र खेलकुद सामाग्रीले वितरण गरियो ।
समापन कार्यक्रममा सांसद सुवालले खेलकुद मित्रता, स्वास्थ्य र अनुशासनको निम्ति खेल्नुपर्नेमा जोड दिनुहुँदै भक्तपुर नगरपालिकाले आयोजना गर्दै आएको विद्यालयस्तरीय र नगरव्यापी खेलकुद प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो ।


चीनले सन् २०२२ को शीतकालीन ओलम्पिक खेलको लागि सिंगो संसारलाई स्वागत गर्दै गर्दा संयुक्त राज्य अमेरिकाले गरेको कुटनीतिक बहिष्कार गर्नुको कुनै तुक नभएको बताउनुभयो ।
देशको सार्वभौमिकता थिचोमिचो गर्ने एमसीसी सम्झौता कुनै पनि हालतमा नेपालको संसदबाट पारित हुन नदिन देशभक्त जनता यसविरुद्ध एकताबद्ध हुुनुपर्ने बताउनुहुँदै सांसद सुवालले खेलकुद देशको सार्वभौमिकता रक्षाको निम्ति आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुद प्रतियोगिताले भक्तपुर नगरपालिका खेलकुदमय भएको बताउनुहुँदै भारतले नेपालमा गरेको सीमा अतिक्रमणको विरुद्ध आवाज बुलन्द पार्न खेलाडीहरुलाई देशभक्त बनाउनुपर्ने बताउनुभयो ।

स्वस्थ र सभ्य नागरिक तयार गर्ने सिलसिलामा भक्तपुर नपाले प्रत्येक वर्ष अन्तर नगर प्रतियोगिता आयोजना गर्दै आएको बताउनुहुँदै उहाँले नपाले यस वर्ष पनि अन्तरनगर प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य सृजना सैंजुले खेल जगतमा शताब्दी सुहाउँदो खेलाडी तयार गर्न भक्तपुर नगरपालिकाले गरिरहेको प्रयास सराहनीय भएको बताउनुहुँदै खेलकुद क्षेत्रको विकासमा दीर्घकालीन सोच र तयारी पनि गरिरहेको बताउनुभयो ।
कोभिड जोखिमबाट विद्यार्थीहरुलाई जोगाउन कोभिडविरुद्धको खोपको सुनिश्चितता गर्नुपर्ने बताउनुहुँदै सांसद सैंजुले खेलकुदलाई विद्यालय तहदेखि नैसर्गिक अधिकारको रुपमा राखिनुपर्ने बताउनुभयो ।


भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले व्यक्तिको सामाजिक विकासमा खेलकुदको महत्वमाथि चर्चा गर्नुहुँदै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा गरेको काम उल्लेखनीय भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, वडा नं. ७ का वडाध्यक्ष एवम् खेलकुद समितिका सदस्य उकेश कवां, भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विजयी खेलाडीहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुले मेडल, सहभागी विद्यालयहरुलाई खेलकुद सामाग्री र प्रथम, द्वितीय र तृतीयलाई सिल्ड वितरण गर्नुभएको थियो ।
नगरव्यापी विद्यालयस्तरीय प्रतियोगितामा (टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वाण्डो, जिम्नाष्टिक, पोर्टबल, कसिमला पाँय) गरी १४ वटा खेलका लागि विद्यालयहरुबीच प्रतिस्पर्धा भएको थियो भने उक्त प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को प्रमुख आतिथ्यमा २०७८ मंसिर २० गते सहिदस्मृति खेलमैदानमा भएको थियो ।