सन्जु कर्ण, सामुदायिक रेडियो, सर्लाही
नेपाल उखु उत्पादक संघ सर्लाहीले तत्काल चिनी उद्योग सञ्चालन गर्न माग गरेको छ । हरिवनमा बसेको संघको बैठकले मूल्य कायम नहुञ्जेल गत वर्षकै मूल्यलाई न्यूनतम मूल्य मानेर उखु क्रसिङ थाल्न माग गरिएको हो । गत वर्ष सरकारी अनुदान समेत गरी उखुको प्रति क्विन्टल मूल्य पाँच सय ३६ रुपैयाँ ५६ पैसा कायम भएको थियो । सरकारले यस वर्षको मूल्य तोक्न ढिला गर्दा उद्योग सञ्चालन नभएर किसानको उखु खेतमै सुक्न थालेपछि सरकार र उद्योगीसँग यस्तो माग गरिएको उखु उत्पादक संघ सर्लाहीका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो । संघको बैठकले गत वर्ष सरकारबाट किसानले पाउनुपर्ने अनुदान रकम पनि तत्काल उपलब्ध गराउन माग गरेको छ । एक हप्ताभित्र अनुदान रकम नपाए आन्दोलनमा उत्रने निर्णय भएको संघका अध्यक्ष मैनालीले बताउनुभयो । सरकारले गत वर्ष किसानलाई उपलब्ध गराउने भनेको प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा किसानले अझै पाएका छैनन् । एक वर्षसम्म अनुदान रकम नदिएर उद्योगी झैं सरकारले पनि झुलाउने काम गरेको भन्दै किसानले गुनासो पोख्दै आएका छन् । किसानले गत वर्ष बिक्री गरेको उखुको भुक्तानि जिल्लाका दुई चिनी उद्योगले पनि अझै दिएका छैनन् । इन्दुंशकर चिनी उद्योग हरिवनले सम्पूर्ण किसानको भुक्तानि गरेको दावी गरेपनि अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम र महालक्ष्मी चिनी उद्योग बगदहले उखु किनेको एक वर्ष भइसक्दा पनि भुक्तानि नदिँदा किसानलाई व्यवहार चलाउनै मुस्किल परेको छ । अन्नपूर्ण चिनी मिलले त अझ गत वर्षको मात्रै नभई अघिल्ला वर्षहरुको पनि भुक्तानि नगरेको किसानले गुनासो गरेका छन् । सरकारले केही साता अघि एक हप्ताभित्रै उखुको मूल्य कायम गर्ने बताएको थियो । तर किसानका प्रतिनिधिसँग सरकारका नवनियुक्त उद्योग र कृषि मन्त्रीले प्रतिवद्धता राखेको महिना दिन हुन लागिसकेपनि उखुको मूल्य तोकिएको छैन् । पुस दोस्रो सातासम्म उखुको मूल्य कायम नहुँदा किसान निराश भएका छन् । बेलैमा मूल्य कायम नहुने, उखु बेच्ने समयमा चलान लिन लडाइँ नै गर्नुपर्ने र ठूलो संघर्ष गरी बल्लतल्ल उखु बेचेपछि पनि लामो समय सम्म पैसा नपाउने समस्याले उखु खेतीबाट किसान पलायन हुने क्रम बढ्दै गएको छ । सर्लाहीमा उखु खेती छाडेर तरकारी र अन्य खेती लगाउने किसान बढेका उखु उत्पादक संघले जनाएको छ । जिल्लामा उखु खेती हुने फाँटमा अहिले मकै र परबल लगायतका तरकारी बाली लगाएको देखिन्छ । पछिल्ला वर्षहरुमा किसानले उखुको मूल्य कायम गराउन र भुक्तानि लिन आन्दोलन नै गर्नु परिरहेको छ । नगद बाली भनिएपनि किसानलाई पछिल्लो समय उखु बिक्री गरेपछि पैसा लिन वर्षौ कुनुपर्ने अवस्था छ । चिनी उद्योगीहरुले भने सरकारले विदेशबाट ठूलो मात्रामा उखु ल्याउँदा आफूहरुले उत्पादन गरेको चिनी बिक्री हुन नसक्दा किसानलाई बेलैमा भुक्तानि दिन नसकिएको बताउँदै आएका छन् ।
श्रीराम सुगर मिल बन्द भएको प्रति कृषि राज्यमन्त्री यादवको आपत्ती ।।
ओम प्रकाश यादव, कटहरिया एफएम, रौतहट
प्रदेश दुइका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले बन्द रहेको रौतहटको श्रीराम सुगर मिल जसरी भएपनि सञ्चालन गर्नैपर्ने बताउनुभएको छ । किसानको करोडौ रकम भुक्तानी गर्न बक्यौता राखेर उद्योगपति हितेश गोल्छाले विभिन्न बाहाना झिकेर श्रीराम सुगर मिल यस वर्ष सञ्चालन गर्न अहिलेसम्म कुनै चासो नदेखाएकोप्रति कृषि राज्यमन्त्री यादवले कडा आपत्ती जनाउनुभएको हो । उखु उत्पादक संघ रौतहटले आज आयोजना गरेको किसान जन जागरण अभियान अन्तर्गत मिल बचाउ कार्यक्रमलाई सम्बोधन गर्दै किसान र उद्योगीबिच रहेको समस्या समाधान गर्नका लागि गठित समितिका संयोजक समेत रहनुभएका कृषि राज्यमन्त्री यादवले उद्योगीलाई जसरी भएपनि किसानको बक्यौता रकम भुक्तानी गर्नुपर्ने र मिल पनि सञ्चालन गर्नुपर्ने बताउनुभएको हो । मिल सञ्चालनको लागि उद्योगीलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै मन्त्री यादवले कुनै पनि हालतमा मिल बन्द गर्न नहुने बताउनुभयो । प्रदेश दुइका अधिकांश उद्योगी किसानको बक्यौता रकम भुक्तान नगरी त्यस रकमबाट अन्य उद्योग धन्दा खोलेर व्यवसाय गर्ने गरेको र किसानलाई मिल घाटामा गयो भन्ने नाटक गरेर वर्षौसम्म भुक्तानी नदिएर किसानलाई ठग्दै आएको मन्त्री यादवले बताउनुभयो ।












