भक्तपुर, मंसिर १९ गते । समावेशी भविषयकाे लागि स्वयंसेवक नाराका साथ १६ औं अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा विहिबार देखि भक्तपुरमा पे भोलेन्टर लागू गरेको छ । बिगत लामो समय देखि रेडक्रस सोसाइटी भक्तपुरमा स्वयंसेवकको रुपमा क्रियाशिल रहेका १० जनालाई स्थायी दरवन्दी कोटामा नियुक्ती दिएर पे भोलेन्टरको सुरु गरेको हो । व्यक्तिगत स्वार्थ, आर्थिक, सामाजिक, राजनैतिक फाइदाबाट प्रभावित नभई स्वेच्छाले निःस्वार्थ स्वयंसेवा गरी सामाजिक कार्यमा संलग्न रहने स्वयंसेवकहरुको राष्ट्रिय अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई आत्म साथ गर्दै रेडक्रस सोसाइटी भक्तपुरले ती कर्मचारीहरुलाई स्थायी दरवन्दीमा नियुक्त गरेको हो । गुणस्तरीय र पहुँचयुक्त सेवा विस्तारका लागि र सेवालाई स्थायित्व दिनका लागि स्वयंसेवकहरुले आफ्नो जिम्मेवारी र दायित्वलाई अक्षरस पालना गर्नुपर्नेमा जोड दिन्दै स्वयंसेवा बाध्यकारी नभइ मानिसको स्वइच्छाले गर्ने सामाजिक कार्य भएको उल्लेख गरेको छ । रेडक्रस सोसाइर्टीसँग देशभर ९० हजार स्वयंसेवकहरु रहेको सो अवसरमा बताएको छ । भक्तपुर जिल्ला शाखा र २१ वटा उपशाखाहरुमा १४ सय स्वयंसेवकहरु रहेको भन्दै जिल्ला सभापति मनोजकुमार थापाले आज स्वयंसेवा र स्वयंसेवक बारे राष्ट्यि अन्तर्राष्ट्यि अभ्यासहरुकोे जानकारी दिनु भयो । स्वयंसेवक दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको रेडक्रसले यसपालि स्वयंसेवा र स्वयंसेवकको परिचय, जिम्मेवारी र दायित्व तथा मापदण्डहरु बारेमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
स्वयंसेवा गर्न कुनै संस्थाको सदस्य हुन आवश्यक नभएको भन्दै सभापति थापाले स्वयंसेवा गर्न स्वयंसेवकहरुले आफ्नो कर्तव्य बिर्सन नहुनेमा जोड दिनु भयो । उहाँले रेडक्रसमा कार्यरत स्वयंसेवकहरु कार्यकारीणी स्वयंसेवक, कार्यक्रम स्वयंसेवक, दक्ष स्वयंसेवक र साधारण स्वयंसेवक गरी चार किसिमको रहेको बताउँदै स्वयंसेवकहरुलाई व्यवस्थित र जिम्मेवारीबोध गराउन यसका मापदण्डहरु लागू गर्दै स्वयंसेवालाई स्थायित्व दिन्दै आएको बताउनु भयो । आवश्यक परेको बेला स्वैच्छिक रुपले तोकिएको जिम्मेवारी वहन गर्ने, निःस्वार्थ सेवा गर्ने, रेडक्रसद्वारा संगठित, मानविय पीडामा तत्काल राहत प्रदान गर्ने, संकटासन्न समुदायको हित गर्ने स्वयंसेवकको कर्तव्य रहेको उहाँले जोड दिनु भयो ।
रेडक्रस सोसाइटी प्रदेश ३का उपाध्यक्ष कृष्णेश्वरी हाडाले दुःखमा परेकाको सेवा गर्नु नै स्वयंसेवा भएको उल्लेख गर्दै स्वयंसेवकले समावेसीतालाई आत्म साथ गर्नुपर्नेमा जोड दिनु भयो । विगतमा कुनै स्रोत र सामग्रीविहिनतामा पनि रेडक्रसमा स्वयंसेवा गरेरै यो स्थानमा पुग्न सकेको र जीवनको उपलब्धी नै स्वयंसेवा भएको आफूलाई लागेको बताउनु भयो । रेडक्रसका स्वयंसेवकहरु संसारभर परिचित रहेकाले रेडक्रसमा स्वयंसेवक हुन सजिलो र प्रतिष्ठाको विषय समेत रहेको औल्याउनु भयोे । रेडक्रस भक्तपुरका मन्त्री पर्शुराम पाण्डेले स्वयंसेवा गर्ने मानविय मूल्यमान्यताका लागि अनुकरणीय संस्थाको रुपमा रेडक्रस रहेकोले यसका स्वयंसेवकहरुले आफ्नो कर्तव्य भूल्न नहुनेमा जोड दिनु भयो । भक्तपुर रेडक्रसका स्वयंसेवकहरुले देशकै उत्कृष्ठ स्वयंसेवक हुनका लागि आफ्नो सक्रिय भूमिका खेल्न अनुरोध गर्नु भयो । सो अवसरमा सभागि स्वयंसेवकहरुसँग सामुहिक छलफल गर्दै शाखा शाखाहरुका स्वयंसेवकहरुको सक्रियताको मूल्यांकन गरी उत्कृष्ठ स्वयंसेवकहरुलाई पुरस्कृत गर्ने व्यवस्था गर्ने भएकाले जुनियर रेडक्रसकर्मीहरुलाई सक्रिय बनाउनु आग्रह गरिएको थियो । सो कार्यक्रमको सजिकरण रेडक्रस सोसाइटी भक्तपुरको उठानशिल नगर प्रवर्धन तथा सहभागिता कार्यक्रमका जिल्ला संयोजक निलम ढुंगानाले सहजिकरण गर्नु भएको अनुगमण अधिकृत तेजिना सुबेडीले जनसञ्चार खवरलाई बताउनु भयो ।












