बागीश्वरी माविको ६७ औं, बागीश्वरी कलेजको १८ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बागीश्वरी माविको ६७ औं, बागीश्वरी कलेजको १८ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भक्तपुर । २०८२ फागुन २८

बागीश्वरी माध्यमिक विद्यालयको ६७ औं, बागीश्वरी कलेजको १८ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव विविध कार्यक्रम गरी आज सम्पन्न भयो । वार्षिकोत्सवको अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बागीश्वरी स्मारिका, साहित्यक संगालो र विद्यालय गीत बिमोचन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले उत्कृष्ट शिक्षक कर्मचारी र विद्यार्थीहरूलाई पुरस्कार, सम्मान तथा छात्रवृत्ति हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले विश्वविद्यालयहरु मुलुकको उच्च शिक्षाको आधार तय गर्ने महत्वपूर्ण निकाय भएको बताउँदै देशभक्त र इमानदार व्यक्तिहरु राजनीतिमा आउनुपर्ने बताउनुभयो ।

सत्तासीन दलले स्वच्छ राजनीति नगरेरै देशको राजनीतिमा उतारचढाव भइरहेको हो भन्दै उहाँले युवाहरु राजनीतिबाट टाढा बस्ने होइन, राजनीतिलाई सुधार्ने जिम्मेवारीकासाथ अगाडि बढ्नुपर्छ भन्नुभयो ।

भक्तपुर नगरपालिकाले भक्तपुरलाई शैक्षिक रुपमा अगाडि बढाउन र समाजलाई शिक्षित बनाउने उद्देश्यले विभिन्न कलेजहरु सञ्चालनमा ल्याएको स्मरण गर्दै उहाँले जनतालाई राजनैतिक रुपमा सेचत र संगठित बनाउन सकेमात्र सभ्य समाजको परिकल्पना पूरा हुने बताउनुभयो ।

निर्वाचनले जनताको चेतनास्तर स्पष्ट रुपमा प्रस्तुत गर्ने बताउँदै उहाँले निर्वाचनको समयमा हुने विदेशी र आर्थिक चलखेलबारे पनि जनताहरुले सजग हुनुपर्ने बताउनुभयो ।

नेपालमा विदेशीहरुको चलखेल व्यापक भइरहेको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरुलाई विदेश पलायनबाट रोक्न सरकारले अब पनि ढिला गरे देशले ठूलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था सिर्जना हुने बताउनुभयो ।

कार्यक्रमका सभापति, बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०६४ सालमा स्थापना भएको बागीश्वरी कलेज क्यु.ए.ए.प्राप्त भक्तपुर जिल्लाकै पहिलो कलेज भएको बताउनुभयो ।

देश बनाउने वा बिगार्नेमा बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका हुने बताउँदै शिक्षित जनता राजनैतिक रुपमा सचेत र संगठित भए मात्र देश सही दिशामा जाने बताउनुभयो ।

कलेजले राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन गर्नेमा जोड दिँदै जाने बताउँदै उहाँले शैक्षिक संस्थाहरुले सचेत र देशभक्त नागरिक उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

नेमकिपा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यार्थीहरुमाझ किताबी ज्ञानसँगसँगै आलोचनात्मक दृष्टिकोणको विषयमा पनि छलफल आवश्यक भएको बताउँदै राजनैतिक नैतिकतामा संकट आउनुमा विद्यालय शिक्षाको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ भन्नुभयो ।

सांसद गोसाईले देशलाई राम्रो गर्ने या नगर्ने भन्ने कुरा सत्तासीन दलका नेताहरूको हातमा हुन्छ या राजनीतिक नेतृत्वमा भरपर्छ ।

राजनीति नीति निर्माण गर्ने क्षेत्र भएकोले राजनीतिमा इमानदारी र नैतिकता महत्वपूर्ण हुने बताउँदै उहाँले नेपालमा पपुलिजमको लहरले नेपालको राजनीति नै संकटमा परेकोछ भन्दै नेपाल पनि पपुलिजमको सिकार हुँदै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

अमेरिकी साम्राज्यवादले संसारमा साम्राज्यवादको नाइकेको रुपमा आक्रमक ढंगले प्रस्तुत भइरहेको बताउँदै उहाँले अमेरिकी साम्राज्यवादको विरोधमा भियतनामी जनताले लडिरहेको वीरतापूर्ण इतिहासबाट नेपालले पनि पाठ सिक्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले शैक्षिक, सामाजिक, राजनीतिक रुपमा महिलाहरुको अग्ररता नेपाली समाजमा पनि उल्लेखनीय रहँदै आएको बताउनुभयो ।

बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई मृत्युदण्डको सजायको बन्दोबस्त हुनुपर्छ भन्दै ढिलो न्याय दिनु पनि अन्याय हो, उहाँले भन्नुभयो ।

उहाँले समाजका बेथितिहरुविरुद्ध लड्ने शिक्षा आजको आवश्यकता हो भन्दै उहाँले अर्थतन्त्रसँग जोडिएको शिक्षालाई विशेष जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् बागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा बागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, बागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा वार्षिकोत्सव समारोह समितिका संयोजक ज्ञानेन्द्र श्रेष्ठले स्वागत मन्तव्य र विद्यार्थी प्रतिनिधि एम.बी.एस. पहिलो सेमेस्टरका तुल्सीराम दुवाल, बागीश्वरी मावि विद्यार्थी हित समितिका निशा थापाले शुभकामना मन्तव्य राख्नुभयो भने शिक्षक मंगलेश्वर ध्वजूले पनि बोल्नुभयो ।