कानुन व्यवसायीको सेवा सत्य र न्यायको पक्षमा हुनुपर्ने
भक्तपुर, १७ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले स्थापनाकालदेखि नै देश र कामदारवर्गका जनताको हितबाहेक नेमकिपाको अर्को कुनै ध्येय नभएको स्पष्ट पार्नुभएको छ ।
कानुन अध्ययन समाज नेपाल केन्द्रीय समितिको आयोजनामा शनिबार समाजको प्रकाशन ‘न्यायदृष्टि’ वर्ष १२ अङ्क ४ सार्वजनिकीकरण कार्यक्रममा उहाँले कुनै पनि कानुन व्यवसायीको सेवा वा व्यवसाय सत्य र न्यायको पक्षमा हुनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा स्थापनाको परिस्थितिबारे चर्चा गर्दै अध्यक्ष रोहितले नेमकिपाको स्थापना तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र किसान र मजदुरहरूको वास्तविक हितको निम्ति सङ्घर्ष गर्न नचाहने, संशोधनवादी सिद्धान्त र नीतिको विरोध गर्न नसक्ने, पार्टीलाई दरबार बुझाउने र नेपाली काङ्ग्रेसको पिच्छलग्गू बनाउने र व्यावहारिक सङ्घर्षमा जानै नचाहने नेतृत्वविरुद्ध भएको हो भन्नुभयो ।
भदौ २३ र २४ का घटनापछि देशमा साम्राज्यवादी र विस्तारवादी चलखेल बढेको र देशको सार्वभौमिकता अझ बढी खतरामा परेको चर्चा गर्दै उहाँले जनता सचेत र सजग नभएसम्म सच्चा र देशभक्त मानिस निर्वाचनमा जितेर संसद्मा पुग्न नसक्ने बताउनुभयो ।
अध्यक्ष रोहितले जनतालाई सचेत पार्ने कार्यमा निराशा र थकान भन्ने कुरा हुन नहुने बताउँदै समाज क्रमशः परिवर्तनतिर अघि बढ्ने प्रस्ट पार्नुभयो ।
उहाँले पार्टीका नेता कार्यकर्ताहरूले निरन्तर अध्ययन र चिन्तनमनन गरिरहनुपर्ने र सही विचार र सदाचारको पक्षमा अडान लिनुपर्नेमा जोड दिनुभयो । नेपालमा समाजवाद वा कम्युनिस्ट समर्थक कार्यकर्ता र जनता धेरै भए पनि पार्टीका नेताहरूले गलत नीति अगाडि ल्याउँदा खबरदारी र विरोध गर्न नसकेको बताउनुभयो ।
पुँजीवादी संसद्मा कम्युनिस्टहरूले बहुमत ल्याउँदैमा देशमा समाजवाद नआउने स्पष्ट पार्दै अध्यक्ष रोहितले जनतालाई समाजवाद र साम्यवाद प्राप्तिको सङ्घर्षका निम्ति सङ्गठित पार्न जरुरी छ भन्नुभयो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि सरकारमा गएका शासक दलहरूले संसद्लाई पैसा कमाउने थलोको रूपमा परिणत गर्न खोजेकाले देशमा आजको जटिल परिस्थिति आएको हो भन्दै उहाँले ती पार्टीका बदमासी र भ्रष्टाचारबारे सचेत समुदायले जनतालाई जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं प्राध्यापक समाज नेपालका अध्यक्ष सरोजराज गोसाईले राजनीतिले नै कानुन बनाउने हुनाले राजनीति सही भएमा मात्र कानुन पनि सही हुन सक्ने र जनताले न्याय पाउन सक्ने बताउनुभयो ।
२०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनायताका सरकारहरूले लिएको नवउदारवादी नीतिका कारण देशको उद्योगधन्धा र कलकारखाना मात्र नभई शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत ठुलो नकारात्मक प्रभाव परेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले हरेक पेसा व्यवसायका नागरिकहरूले कानुनको अध्ययन गर्न आवश्यक भएजस्तै कानुन व्यवसायीहरूले पनि विभिन्न राजनीतिशास्त्र, समाजशास्त्र र साहित्यलगायत विषयको गहन अध्ययन गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले अहिले हुन लागेको संसदीय निर्वाचनको प्रचारप्रसारमा पुँजीवादी दलका नेताहरूले गरिरहेको प्रचार देख्दा संसदीय निर्वाचन नभई स्थानीय तहको निर्वाचनजस्तो देखिएको भन्दै सैद्धान्तिक छलफल र देशको नीति निर्माणको पक्ष ओझेलमा परेको बताउनुभयो ।
सांसद गोसाईले शासक दलहरूले प्रदेशसभालाई नीति निर्माणको थलो नभई बजेट भागबन्डाको थलो बनाइरहेको बताउनुभयो ।
कानुन अध्ययन समाज नेपालका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा अधिवक्ता शमशेरबहादुर न्हुछेप्रधानले प्रकाशित पत्रिकाको समीक्षा गर्नुभयो भने ख्वप कलेज अफ लका प्राचार्य एवं अधिवक्ता अनिता जधारी, अधिवक्ता गम्बीरमान ज्याख्व र अधिवक्ता सुन्दर राजचलले पनि बोल्नुभयो ।













