नेमकिपाको ५९ जिल्लामा ५३ महिला सहित १२० उमेदवारी
भक्तपुर,
नेपाल मजदुर किसान पार्टीले फागुण २१को प्रतिनिधी सभा सदस्य निर्वाचनकालागि ५९ जिल्लामा उमेदवारी दिएको छ । ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा ५३ महिला र ६७ पुरुष सहित १२० जनाले हिजो उमेदवारी मनोनयन दर्ता गरेको पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जनाएको छ । बागमती प्रदेशका १३ जिल्ला मध्ये १२ जिल्लामा उम्मेदवारी दिएको नेमकिपाले २०४८ साल देखिको संसदीय निर्वाचनमा निरन्तर जित्दै आएको भक्तपुर क्षेत्र नम्वर १मा पार्टीका सचिव प्रेम सुवाललाई उम्मेवारी दिएको छ ।
कर्णाली प्रदेशमा सात जिल्लाको नौ निर्वाचन क्षेत्रमा एक महिलासहित नौ जनालाई उम्मेदवार बनाएको केन्द्रीय सदस्य गोसाईले बताउनुभयो । कालिकोटमा नन्दबहादुर शाही, जुम्लामा बिर्खबहादुर राउत र दैलेखमा बखतबहादुर थापा, सुर्खेतमा तुलसी खड्कालाई उम्मेदवार बनाइएको छ ।
त्यसैगरी कोशी प्रदेशको १२ जिल्लामा आठ महिला र १३ पुरुष, मधेश प्रदेशका आठ जिल्लामा ६ महिला र १६ पुरुषलाई उम्मेदवार बनाएको छ । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये सात जिल्लामा उम्मेदवारी दिएको नेमकिपाले आठ महिला र ६ पुरुषलाई उम्मेदवार बनाएको केन्द्रीय सदस्य गोसाईले बताउनुभयो । गण्डकी प्रदेशमा ११ मध्ये पाँच जिल्लामा ६ महिला र दुई पुरुष तथा सुदुरपश्चिम प्रदेशमा बाजुराबाहेक आठ जिल्लामा पाँच महिला र नौ पुरुषलाई उम्मेदवार बनाएको सो पार्टीले जनाएको छ ।














