४५औं तःमुज्याको ४५ सदस्य ग्वसाखल गठन

४५औं तःमुज्याको ४५ सदस्य ग्वसाखल गठन
भक्तपुर, श्रावण १७ गते
देश र जनताको सेवा गर्ने नेमकिपाको उदेश्य अनुसार ४५ औं नेपाल भाषा साहित्य तःमुज्याको तयारी गर्न आग्रह गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा आज ग्वसाखल गठन गरेको छ । भाज्या पुखुस्थित सिद्धपोखरी पार्टी प्यालेसमा आज आयोजित भेलाबाट पूर्व जनप्रतिनिधी रविन्द्र खर्बुजाको अध्यक्षतामा ४५ औं नेपाल भाषा साहित्य तःमुज्या तथा साँस्कृतिक व्वज्या गठन गरेको हो । ४५ औं तःमुज्यामा ४५ जना पदाधिकारी रहने गरी समिति गठनसँगै ४५ तःमुज्याले प्रस्तुत गर्नुपर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय विषयवस्तुहरुका बारेमा सांसद सुवालले प्रशिक्षण दिनु भयो ।

सत्ता केन्द्रित राजनीति गर्ने दलहरुले निर्वाचन जित्न पद् र पैसाको होडबाजी गरेकै कारण देश विदेशी ऋणमा दुबेको चर्चा गर्दै सांसद सुवालले भ्रष्टाचार र अनियमितता बढेकै कारण देशमा दाल चामल समेत विदेशबाट किन्नुपर्ने अवस्था आएको प्रति सत्तासिन दलहरु सचेत नभएको बारे देशव्यापी रुपमा जनतालाई सचेत पार्नुपर्नेमा जोड दिनु भयो । सत्तामा पुग्न देशको सार्वभौमिकता र राष्ट्रिय स्वाधिनतालाई समेत प्रवाह नगर्ने दलहरुले देशको विकास गर्न नसक्दै भन्दै सांसद सुवालले ४५ औं तःमुज्या मार्फत जनतालाई यस बारे सूसचित पार्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा तःमुज्याका अध्यक्ष आसाकुमार चिकंबन्जार, सचिव नरेश खत्री, लक्ष्मिभक्त लसिवा, श्याम खत्री सहितका अतिथिहरुले पनि यस पालि नःपुखु परिसरमा हुने तःमुज्यालाई भव्य रुपमा आयोजना गर्न आआफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्नु भयो ।