स्रष्टा महेन्द्रगाेपाल कर्माचार्यकाे एकल लघुकथा वाचन
- राजुराम मुनंकर्मी
विराट नेपाल भाषा साहित्य सम्मेलन गुथी, भक्तपुरले शुरू गरेकाे विराट साहित्य सन्ध्याकाे नवाैं श्रृङ्खला अन्तर्गत भएकाे एकल कथा वाचन कार्यक्रममा लघुकथाकार महेन्द्रगाेपाल कर्माचार्यकाे एकल लघुकथा वाचन कार्यक्रम सम्पन्न भयाे । स्रष्टा कर्माचार्य विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिका अध्यक्ष एवं नेपालभाषा एकेडेमीका सचिव समेत हुनुहुन्छ। कथा वाचनकाे क्रममा वहाँले आफ्ना नेपालभाषाका ११ वटा लघुकथाहरू – संस्कार, हिलावंगु उन, पुगु च्या, ल्हा फयेम्वा: , वहे ख, थ्वथें जाःगु रस, एकता, न्हिउपिं ख्वपिं, मिखा, सुविधा र अले अजिं वाकु छित वाचन गर्नुभयाे । ती वाचित लघुकथाहरू हाँस्य रस, वेदनाले भरिएका, ऐतिहासिक र पाैराणिक घटनाका कथाहरूलाई वर्तमान परिस्थितिसँग फ्युजन गरी कथा उनेकाे चाेटिला, रसिला अनि बेथिति र बिसङ्गतिमाथि प्रहार गरिएका व्यङ्गात्मक परिवेशका थिए ।
हरेक महिनाकाे दाेस्राे शुक्रबार हुने विराट सन्ध्याकाे यस श्रृङ्खलामा प्रगतिवादी साहित्यकार कृष्णमाेहन जाेशीकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गुथीका कार्यसमिति सदस्य रत्नालक्ष्मी भैलले सबैलाई स्वागत गर्नुभयाे । कार्यक्रममा वाचन गरिएका कथाहरूकाे समीक्षक दीपकराज “ख्वप”ले समीक्षा गर्नुभएकाे थियाे भने सचिव प्रदीप शाक्यले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे । करिव डेढ घण्टा चलेकाे साेही कार्यक्रममा गायक सत्यनारायण मानन्धरले जनकवि चन्द्र बहादुर उलकद्वारा रचित गीत “झिगु ख्वप दे हाईहाई , झिगु ख्वप दे ” बाेलकाे गीत र डा.इन्दुल के.सि.द्वारा रचित गीत ” माया माेहया सिख च्वफ्वेनु” बाेलकाे गीत गाएर थप मनाेरन्जन प्रदान गर्नुभएकाे थियाे ।
विराट गुथिले आयाेजना गर्दै आईरहेकाे साे सन्ध्या अर्थात् विराट चिधं दबुमा हालसम्म साहित्यकारहरू क्रमश: कृष्णभक्त बाेडे, ,राजुराम मुनंकर्मी, न्हुछे बहादुर कवां, त्रिरत्न शाक्य, याेगेन्द्र प्रधान, लाेकेन्द्र बज्राचार्य, सुलाेचना सैंजु, राजभाई जक:मि गरी ८ जनाले एकल वाचन कार्यक्रममा सहभागिता जनाईसक्नु भएकाे छ ।














