भक्तपुर जिल्लाको शान्ति सुरक्षा सामान्य, पटाका बढी पड्यो !

भक्तपुर जिल्लाको शान्ति सुरक्षा सामान्य, पटाका बढी पड्यो !
भक्तपुर, कार्तिक २५ गते
नेपालीहरुको महत्वपूर्ण चाड पर्व सम्पन्न भएसँगै महानगरीय प्रहरी परिसर भक्तपुरले आज पत्रकार सम्मेलन गरी भक्तपुर जिल्लाको शान्ति सुरक्षाका कार्य सम्पादन र चुनौतिहरु बारे पत्रकार सम्मेलन आयोजना गरेको छ । परिसरका नवनियुक्त प्रहरी उपरिक्षक माधबप्रसाद बुढाथोकीले जिल्लाको चाडपर्व लक्षित गरी करोडौ हारजित हुने गरी जुवाटास खेल्ने गरेको खवरहरु समेत आए पनि यस वर्षको चाड पर्व सामान्य रहेको जनाएका हुन ।
लागु औषध कारोबार देखिएको भन्दा बढी भएको हुन सक्ने अनुमान गर्दै प्रहरी उपरीक्षक बुढाथोकीले अबैध हातहतियार, पटका नियन्त्रण, बजार अनुगमन, चार्डपर्व लक्षित सुरक्षा कार्यान्वयन गर्दै चार पटकसम्म गरेको अनुगमणले रु. १५ हजार जरिवाना, १० हजार बराबरको सामान नष्ट गरेको, दशै तिहार र छठ पर्व अवधिभर भक्तपुर जिल्लामा अन्दाजी ४८ हजार बराबरको पटका बरामद गरेपनि ठाउँ ठाउँमा पटका पड्केको टिप्पणी गरेका छन् । ट्राफिक नियम उलघंन गर्ने २१५७ सवारी साधन कारवाहीबाट १४ लाख पचपन्न हजार पाँच सय रुपियाँ राजश्व संकलन गरेको र ८७ वटा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ५ जना गम्भिर घाईते र ५१ जना सामान्य घाइते भएको जनाएको छ ।


परिसरका सूचना अधिकारी ढुण्डीराज न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार यस वर्षको दशैं, तिहार र छठ पर्वमा लागू औषध अपराधका ५ घटनाबाट १० जना, बाल यौन दुरुपयोगका २ दुघर्टनाबाट २ जना, जुवाका ९ अपराधबाट ३२ जना, हुण्डीबाट १ जना, चोरीका ८ घटनाहरुबाट १५ जना, सवारी अंगभंगका ६ घटनाबाट ५ जना पक्राउ र १ जना फरार तथा ६ जना घाइते भएको उल्लेख गर्दै ठगीका १ घटना भएको प्रहरीको जानकारीमा आएपनि एक जना फरार रहेको जनाएको छ । अपराधिक उपद्रव गर्न नहुने १ घटनामा २ जना र कर्तव्य ज्यानका २ घटनामा २ जना पक्राउ र २ जनाको मृत्य समेत भएको उल्लेख गर्दै सूचना अधिकारी न्यौपानेले भवितव्य ज्यानका १८ घटनाबाट १८ जनाको ज्यान गएको बताएको छ ।
फैसला कार्यान्वय सम्बन्धी कार्वाहीमा ४३ जना पक्राउ गरी ८१ हजार ७६० जरिवाना तथा १ वर्ष ६ महिना १६ दिने कैद सजाय भएको भन्दै चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनकालागि ६१७ जना प्रहरी कर्मचारीहरु परिचालन भएको जनाएको छ ।
यसैबीच महानगरीय प्रहरी परिसर भक्तपुरको भावी रणनीतिक योजनाको रुपमा फैसला कर्यान्वयनमा जोड दिने, सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने, लागू औषध नियन्त्रण गर्ने, आत्महत्या न्यूनिकरण गर्नकोलागि प्रभावकारी रुपमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने र शान्ति सुरक्षा कायम गरी अपराध रोकथाम र नियन्त्रण गर्ने कार्यक्रमहरु पनि अघि सारेको परिसरले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय भक्तपुरका प्रमुख प्रविण खत्रीले जिल्लाका मुख्य सडकहरुको ट्राफिक लाईटहरुको व्यवस्थापनकालागि स्थानीय तहहरुसँग समन्वय भइरहेको बताउँदै सवारी कार्वाही भन्दा सवारी दुर्घटना न्यूनिकरणकालागि ट्राफिक प्रहरी लागि परेको जनाएको छ । चालकहरुको सुविधाकालागि अब देखि नागरिक एपमार्फत लाइसेन्स हेर्न सकिने व्यवस्था भएको र भविष्यमा बिलबुक पनि एप मार्फत हेर्न सकिने धारणा राखेका थिए ।
यसै बीच प्रहरीले लागू औषध सहित मानिस नियन्त्रणमा लिनुका साथै मेडिकल संचालक समेत नियन्त्रणमा लिएको जनाएको छ । यसरी प्रहरी नियन्त्रण्मा पर्नेमा १८ वर्षका सुशिल कार्की र २२ वर्षका हिरे माझी रहेका छन् भने मध्यपुर थिमीस्थित सुजु मेडिकल सञ्चालक गणेशप्रसाद आचार्यलाई जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।