बेखाल साकोसको १७ औं वार्षिक साधारण सभा सम्पन्न, बालबालिकालाई सानै उमेर देखि असल व्यवहार सिकाउनुपर्नेमा सांसद सुवालको जोड

बेखाल साकोसको १७ औं वार्षिक साधारण सभा सम्पन्न, बालबालिकालाई सानै उमेर देखि असल व्यवहार सिकाउनुपर्नेमा सांसद सुवालको जोड
भक्तपुर, कार्तिक २४ गते
बेखाल बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले समुदायका बालबालिकाहरुको उज्ज्वल भविष्यका लागि सानै उम्मेरमा पठनसिप विकास गर्न सहकारीले भूमिका खेल्नुपर्नेमा जोड दिनु भएको छ ।

बालबालिकालाई आदर सम्मान गर्ने, असल व्यवहारहरु सानो उमेरमै सिकाउन सके तिनीहरुको भविष्य राम्रो हुने चर्चा गर्दै साँसद सुवालले स्थानीय सहकारीहरुले राम्रो शिक्षकहरुमार्फत बालबालिकाको चौतफी विकासमा योगदान गर्न सकिने धारणा राख्नु भयो । बालबालिकालाई सद्मार्गमा हिडाउन अध्ययनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै आम जनताको खानपीनमा ध्यान दिन नसक्दा धेरै नसर्ने घाटक रोगहरु बढी रहेकाले स्वास्थ्य सचेतनामा सहकारीले सचेतनामूलक गतिविधी बढाउनुपर्ने बताउनु भयो । संस्थाका जेष्ठ सदस्यहरुलाई सम्मानित गर्नु हुँदै साँसद सुवालले यस वर्ष एसईई उत्तीर्ण भएका संस्थाका बालबालिकाहरुलाई पुरस्कृत गर्नु भयो । कार्यक्रममा जिल्ला बचत संघका सचिव जगनाथ प्रजापतिले समुदायमा आधारित सहकारी संघ संस्थाहरुमा संस्थाका शेयर धनी सदस्यहरु पनि जिम्मेबार भएर संस्थाका गतिविधिहरुमा सक्रिय हुनुपर्नेमा जोड दिदै भक्तपुर जिल्ला वचत संघले खेल्दै आएको सहकारी अभियान बारे जानकारी गराउनु भयो भने भक्तपुर नगरपालिका वडा नं १०का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले वडा विकासका गतिविधिहरु बारे प्रकाश पार्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कला सम्पदा संरक्षणमा खेल्दै आएको भूमिका बारे जानकारी गराउनु भयो । राष्ट्रिय सहकारी संघका प्रतिनिधी सुरेश लागे, छिमेकि सहकारीहरुको तर्फबाट निर्मल प्रजापतिले सहकारीबाट ठगिएको घटनाहरु बढी रहेको बेला सदस्य समुदाय सचेत भएर समुदायमा आधारित सहकारीमा मात्रै कारोवार गर्न आग्रह गर्नु भयो ।


संस्थाका अध्यक्ष कृष्ण गोपाल अवालको सभापतित्वमा आयोजित सो कार्यक्रममा अध्यक्ष अवालले असल ऋणी सदस्य नं४४का पुण्य तारा शिल्पकार र असल वचत कर्ता सं.नं. ७०७का राज माया दुवाललाई सम्मानित गर्नुका साथै संस्थाका संस्थापक अध्यक्ष एवं निवर्तमान व्यवस्थापक रामभक्त अवाललाई विशेष सम्मानित गर्नु भयो । सहभागि सदस्य समुुदायहरु मध्येबाट ५ जनालाई गोलापठा द्वारा चिठ्ठाबाट पुरस्कृत गरेको सो कार्यक्रममा प्रमुख अतिथि सुवालले संस्थाका जेष्ठ नागरिक पँचलक्ष्मी अवाल, ज्ञानलक्ष्मी अवाल, रत्नमाया जरेजू, श्याम नकर्मी, शिवहरी जरेजू, रत्नबहादुर मानन्धरलाई दोसल्ला ओडाएर ताम्रपत्रका साथ उपहार दिएर सम्मानित गर्नु भएको थियो ।
साधारण सभामा सचिव सुरेन्द्र राजचलले आव २०८०।८१को प्रतिवेदन, कोषाध्यक्ष सजना चित्रकारले आर्थिक प्रतिवेदन तथा लेखा सुरपरिवेशक्षन समितिका संयोजक संजय शाक्यले लेखा प्रतिवेदन पेस गरेको सो कार्यक्रममा संस्थाका देव अवाल र भरत अवालले पनि बोल्नु भएको थियो ।