३४६ वर्ष पुरानो थन्थु दरबार शिलान्यास

३४६ वर्ष पुरानो थन्थु दरबार शिलान्यास
भक्तपुर । २४ वैशाख २०८१, सोमबार
भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको आज शिलान्यास भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले आज एक कार्यक्रमबीच भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन ३४६ वर्ष पुरानो भक्तपुरको थन्थु दरबारको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै उहाँले भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोक उत्खनन्को विषयलाई निरन्तरता दिँदै लानुपर्नेमा जोड दिँदै पुराना संरचनाहरु बलियो भए पनि धेरै वर्ष पुरानो हुँदा स–साना भूकम्पले पनि क्षति पु¥याउनेतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने बताउनुभयो ।


भक्तपुरका १०० वर्ष पुराना घरहरु बस्नको लागि सुरक्षित छ वा छैन भन्ने विषयमा प्राविधिकहरुबाट परीक्षण गर्नु खाँचो रहेको बताउँदै उहाँले सम्पदा पुनःनिर्माणमा मौलिकता संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
कङ्क्रिट निर्माण भन्दा काठ र माटो जोडाइको संरचना बलियो र स्वास्थ्यको लागि फाइदाजनक हुने बताउँदै उहाँले सरकारले सम्पदा पुनःनिर्माणको लागि आवश्यक काठ र माटो सहज उपलब्ध गराए सम्पदाहरुको मौलिकता संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।
सम्पदा संरक्षण पर्यटनसँग पनि जोडिएको विषय भएकोले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनामा नयाँ नयाँ योजनाहरु आवश्यक भएको बताउँदै देशको सन्तुलित विकास गर्न उपत्यका बाहिर स–साना सुविधासम्पन्न सहरहरु निर्माण गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नेमकिपाको नीति र निर्देशनअनुसार शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण आदि क्षेत्रमा नवीनत्तम कार्यहरु गर्दै आइरहेको बताउँदै उहाँले भक्तपुरको सम्पदा संरक्षणले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ५५ झ्यालसँगै जोडिएको थन्थु दरबार २०७२ सालअघिसम्म भक्तपुर नगरपालिकाको कार्यालयको भवनको रुपमा रहेको र २०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रष्ट बनाएपछि नगरपालिकाले पुनःनिर्माणको तयारी गर्दै गर्दा बजेट र प्राविधिक कारणले यो दरबार पुनःनिर्माण कार्य अघि बढ्न नसकेको बताउनुभयो ।
२०७४ को निर्वाचनपश्चात भक्तपुर नपाले नगरका १२४ वटा भन्दा बढी सम्पदाहरु पुनःनिर्माण गरेकोमा थन्थु दरबार पुनःनिर्माणको काम छलफलमै सीमित भएको र २०७९ सालको निर्वाचनपछि थन्थु दरबार पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राखी काम अगाडि बढाउँदै आएको हो, प्रमुख प्रजापतिले भन्नुभयो ।
सम्पदा पुनःनिर्माणको काम ठेक्कामा गर्न नहुनेमा जोड दिँदै उहाँले सम्पदाहरुको पुनःनिर्माणमा मौलिक स्वरुप कायम गर्न स्थानीय जनताबाट गठित उपभोक्ता समितिलाई नै पुनःनिर्माणको जिम्मेवारी दिने कानुन निर्माण हुनु आवश्यक भएको बताउनुभयो ।
थन्थु दरबार भत्काउन रु. १३ लाख ३८ हजारमा लगत इस्टिमेट भएकोमा रु. ११ लाख ५१ हजारमा भत्काउने काम सम्पन्न भएको बताउँदै उहाँले दरबारको जगसम्म भत्काइसकेपछि पटक पटक पुरातत्व विभागका महानिर्देशकबाट समेत अवलोकन भएको र त्यसको उत्खनन् कार्य पनि भएको प्रष्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले रु. १२ करोड ८५ लाख ३४ हजार ल.इ. स्वीकृत गरी पहिलो चरणको कार्य योजनामा रु. ४ करोड ७२ लाख बजेट स्वीकृत गरी कार्य भइरहेको अवगत गराउनुभयो । त्यस्तै रु. १ करोड ५८ लाखको काठ टेन्डर प्रक्रियाबाट खरिद गरिसकेको जानकारी गराउँदै प्रमुख प्रजापतिले सरकारले सम्पदा पुनःनिर्माणको लागि सरकारी मूल्यमा काठ आपूर्ति गर्ने व्यवस्था भएमा धेरै सहज हुने बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले पुरातात्विक र प्राचिक दृष्टिकोणले महत्वपूर्ण सांस्कृतिक धरोहर नयाँ पुस्ताको लागि जोगाउन र संरक्षण गर्नु मानव सभ्यताकै पुनःजागरण भएको बताउँदै अरनिको सभाभवन र थन्थु दरबार पुनःनिर्माण भक्तपुरको मात्र नभई देशकै निम्ति उत्साह र गौरवको विषय भएको बताउनुभयो ।
भक्तपुरको सन्तुलित विकासमा नगरपालिकाका जनप्रतिनिधिको नेतृतव र नगरबासीहरुको साथ र सहयोगले भक्तपुर आज व्यवस्थित ढंगले अगाडि बढेको बताउँदै उहाँले १५ वर्ष जनप्रतिनिधिविहीन अवस्थाले भक्तपुरको विकास ५० वर्ष पछाडि धकेलिएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले थन्थु दरबार उत्खनन्का क्रममा उक्त दरबार राजनीतिक र मनोरञ्जनात्मक उद्देश्यले निर्माण भएको तथ्यहरु भेटिएको बताउँदै भक्तपुर नपाको निरन्तर प्रयासपछि दरबार पुनःनिर्माणको कार्य अगाडि बढेको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रजिअ रोशनीकुमारी श्रेष्ठले भक्तपुरको मौलिक परम्परा र संस्कृति जगेर्नामा गरी सम्पदा पुनःनिर्माण गर्ने कार्यमा भक्तपुर नपा अग्रस्थानमा रहेको बताउँदै लोप हुन लागेको थन्थु दरबार पुनःनिर्माण गर्ने भक्तपुरको प्रयास सराहनीय भएको बताउनुभयो । उहाँले मल्लकालीन संरचनामा पुनःनिर्माण हुने थन्थु दरबारले भक्तपुरको दरबार क्षेत्रको सुन्दरता अझ बढाउने विश्वास व्यक्त गर्नुभयो ।
दरबार हेरचाह अड्डाका कार्यालय भक्तपुरका प्रमुख अरुणा नकर्मीले भूकम्पले भक्तपुरका धेरै सम्पदा तथा निजी घरहरुमा क्षति पु¥याएको स्मरण गर्दै भूकम्पले विनास सँगसँगै भक्तपुरको विकास पनि भएको बताउनुभयो । सम्पदा संरक्षणमा माटो जोडाइको प्रविधिलाई जोड दिँदै जानुपर्ने बताउँदै उहाँले सरकारले सम्पदा पुनःनिर्माणको लागि आवश्यक काठ र माटो सहज उपलब्ध गराएको खण्डमा मौलिक स्वरुप संरक्षणमा सहजता हुने बताउनुभयो ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले तत्कालीन राजा जितामित्र मल्लले बनाउन लगाएको आजभन्दा ३४६ वर्ष पुरानो थन्थु दरबारलाई भक्तपुर नपाले पुरानै मौलिक स्वरुपमा पुनःनिर्माण कार्य अगाडि बढाउनु प्रशंसनीय भएको बताउनुभयो ।
५५ झ्याल दरबारको अध्ययन अनुसन्धानको क्रममा जग खण्ड उत्खनन् गर्ने क्रममा पच्पन्न झ्याल दरबारथन्थु दरबारकै दक्षिण भाग रहेको अनुसन्धानबाट पत्ता लागेको बताउँदै डा. श्रेष्ठले भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोकको अध्ययन–अन्वेषण सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले स्वागत मन्तव्य राख्नुभएको थियो भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभयो । उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले बोल्नुभएको थियो ।