भक्तपुरका ४ वटै नपाको बजेट कस्को कति?

भक्तपुरका ४ वटै नपाको बजेट कस्को कति?
भक्तपुर, असार १० गते
भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाहरुले निर्धारत समयमै आआफ्ना नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट समेत प्रस्तुत गरेका छन् । गत असार ६ गते बाट जारी नगर सभाहरुले आ.व २०८०।८१कालागि आआफ्नो महत्वकांक्षी योजना र कार्यक्रमहरु सहित बजेट प्रस्तुत गरेका हुन ।
भक्तपुर नगरपालिकाले आव २०८०।८१कालागि भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र उत्कृष्ट शैक्षिक गन्तव्यस्थल बनाउने उदेश्यका साथ वजेट २ अर्व २६ करोड ८५ लाख, ९४ हजार को बजेट प्रस्तुत गरेको छ यद्यपी बागमती प्रदेशले सो नगरपालिकालाई समपुरक र विशेष अनुदान प्राप्त नभएको भन्दै भक्तपुर नगरपालिकालाई विभेद गरिएको ठम्याइ सहित उपप्रमुख रजनी श्रेष्ठले आज बजेट विवरण प्रस्तुत गरेका छन् ।
यता मध्यपुर थिमी नगरपालिकाले गुणस्तरीय सामाजिक, भौतिक पुर्वाधार, व्यवसायिकीकरणको साथमा समृद्ध मध्यपुर निर्माणको आधार नारालाई आत्म साथ गर्दै उपप्रमुख विजयकृष्ण श्रेष्ठले आव २०८०।८१का लागि २ अर्व ९९ करोड ४ लाख २९ हजार २ सयको बजेट प्रस्तुत गरेको छ ।
भक्तपुरको अर्को नगरपालिका चाँगुनारायणले २०८२।८३मा नगरकोट भ्रमण वर्ष गर्ने तयारीका साथ उपप्रमुख रमेश बुढाथोकीले १ अर्व ७१ करोड ६ लाख १ हजार बरावरको विनियोजित बजेट प्रस्तुत गरिसकेको छ भने सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरीता भट्टराईले आव २०८०।८१कालागि कूल २ अर्ब १० करोड ५० लाखको बजेट प्रस्तुत गर्दै आज बसेको १४ औं नगरसभाबाट सो बजेट पारित समेत गरिसकेको छ ।