शताब्दी पुरुष स्व. जोशीको १०४ औं जन्मजयन्तीको अवसरमा बाल साहित्य पुस्तक विमोचन
ललितपुर, बैशाख २७ गते
लोक साहित्य परिषदले परिषद्का संस्थापक एवं वरिष्ठ संस्कृतिविद्, शताब्दी पुरुष डा.स्वर्गीय सत्यमोहन जोशीको १०४ औं जन्मजयन्तीको अवसरमा एकै साथ दुईवटा बाल साहित्य पुस्तकको विमोचन भएको छ । परिषद्को परिसरमा बुधबार आयोजित सभामा स्वर्गीय जोशीको चखुंचां हगु म्ये र बाल साहित्यकार मीना बज्राचार्यको किसीया नसाः क्वया दशा नामको बाल साहित्य पुस्तक विमोचन गरिएको हो । देशका विभिन्न क्षेत्रमा रक्तदान कार्यक्रम सहित स्व. जोशीको १०४ औं जन्मजयन्ती मनाईरहेको परिषद्ले बैशाख २८ र २९ गते मंगलबजारबाट तारा पुञ्च दर्शन कार्यक्रम र बैशाख ३० गते जन्मदिनको दिनमा घर घरमा १०४ वटा दिप प्रज्वलन गरी स्व. जोशीको जन्मजयन्ती मनाउने कार्यक्रम रहेको परिषद्ले सो अवसरमा जानकारी दिए ।

बाल साहित्य पुस्तकको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथी हितकर बीर सिं कंसाकारले मातृ भाषा जोगाउन बाल्य काल देखि नै प्रशिक्षण दिन सक्नुपर्नेमा जोड दिदै स्व.सत्यमोहन जोशीको कृतित्व र व्यक्तित्व बारे प्रकाश पार्नु भयो । उहाँले राजनैतिक परिवर्तनपछि पनि राजनैतिक रुपले विभाजन भएर भाषा साहित्य र संस्कृतिको विकास हुन नसकेको भन्दै नेपाल भाषा, साहित्य र संस्कृतिको विकास गर्न सबै एकजुट हुन आग्रह गर्नु भयो । कार्यक्रममा स्व. जोशीका जेठी छोरी काबेरी जोशीले स्वर्गीय वुवाले आफ्नो पठन संस्कृतिको विकास गर्न दिएको जोडमा आफूले ध्यान दिन नसकेकोमा अहिले पश्चातापको अनुभूति भइरहेको चर्चा गर्दै बुबाले देखाएको बाटोमा पुर्णरुपमा हिड्न नसके पनि उहाँले नेपाली लोक साहित्य र संस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको सधै कदर गर्दै आएको बताउनु भयो ।
परिषद्का अध्यक्ष राजिव बहादुर श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा बाल साहित्यकार मीना ब्रजाचार्य, विरात नेपाल भाषा साहित्य सम्मेलनका महेन्द्र गोपाल कर्माचार्य, स्थानीय जनप्रतिनिधी निर्मलरत्न शाक्य, लोक साहित्य परिषद्का बासुदेव श्रेष्ठले स्व.जोशीले लोक साहित्य र नेपाल भाषाको उठानका लागि खेल्नु भएको प्रेरणादायि भूमिकाको उच्च सम्मान व्यक्त गरेका थिए ।














