भक्तपुरको किलेश्वर सहकारीको ठगी धन्दा किस्ता तिर्दै गरेको गाडी उठाइ ऋणीको उठिबास
भक्तपुर । भक्तपुरको चाँगुनारायणमा रहेको सहकारीले आफ्नो दादागिरी देखाउँदै ऋणीको उठिबास लगाएको छ ।
गत मङ्गलवार विभिन्न बेथितिका कारण आत्मदाह गर्न बाध्य भएका प्रेम आचार्यको जस्तै अवस्थामा भक्तपुर चाँगुनारायणको किलेश्वर सहकारीले आफ्ना सेवा ग्राहीलाई बनाएका छ ।
किलेश्वर बचत तथा ऋण सहकारीका कारण दोलखा जिल्लाका हाल भक्तपुरको सल्लाघारी बस्दै आउनुभएका प्रेम कुमार खत्रीको जीवन पनि प्रेम आचार्यको जस्तै मर्नु न बाँच्नुको अवस्थामा पुगेको छ ।
चाँगुनारायण नगरपालिका ४ मा अवस्थित किलेश्वर बचत तथा ऋण सहकारीको ठगीका कारण खत्री हाल मर्नु न बाँच्नुको अवस्थामा पुग्नुभएको हो ।
किलेश्वर सहकारीबाट हायर पर्चेजमा २०७९ पुस १ गते १८ लाख लोन लिएर स्करपियो खरिद गरी चलाउन थालेका खत्रीलाई हाल सहकारीले किस्ता तिर्दा तिर्दै गाडी उठाइदिएपछि मर्नु न बाँच्नु भएको हो ।
आफूसँग भएको केही रकम र मासिक ५० हजार साँवा र व्याज तिर्ने गरी पाँच वर्षका लागि ऋण लिएका प्रेम कुमारले नियमित नै साँवा र व्याजको किस्ता दिँदै आएका थिए ।
तर एक्कासि सहकारीले २०७९ असार ३० गते इलाका प्रहरी कार्यालय काँकडभित्तालाई पत्र लेख्दै खत्रीलेले २०७८ साल जेठ महिना देखि किस्ता नै तिरेका छैनन् गाडी उठाउन सहजता गरी पाउँ भनी पत्र लेखि गाडी उठायो । उनको सातो त तब उड्यो अघिल्लो महिनाको किस्ता तिरेका उनी साउन ३ गते अर्को किस्ता तिर्न ठिक्क परेका थिए ।
केही प्राविधिक समस्याका कारण गाडी उठाइयो होला भनी उनी २०७९ साउन ३ गते सहकारी पुगी मैले त समयमा किस्ता तिर्दै आएको छु किन गाडी उठाउनुभएको भनी निवेदन गर्दा उनीहरूले पुन प्रहरीलाई पत्र लेख्दै ७९ साउन ९ गते खत्रीलाई गाडी जिम्मा लगाइदिनु उहाँले समयमा किस्ता तिर्दै आउनुभएको रहेछ भनी पत्राचार ग¥यो तर प्रहरीले गाडी दिन मानेन । सहकारी आफै गएर गाडी उठाएर ल्यायो र सहकारीले आफैले भोग चलन गर्दै आएको पनि छ ।

हाल खत्रीको आम्दानी हुने गाडी सहकारीले उठाएको छ । कमाई खाने कुनै स्रोत छैन सहकारी भन्छ सबै पैसा तिर र लैजा नत्र लिलामी गर्दिन्छु । जबकि उनले समयमा नै मासिक ५० हजारका दरमा किस्ता तिर्दै आएका छन् । पाँच वर्षमा चुक्ता हुने गरी लिएको लोन अहिले नै चुक्ता गर्न सहकारीले धम्की दिन थालेको उहाँ बताउनुहुन्छ ।
किलेश्वर सहकारी र उक्त सहकारीका अध्यक्ष विकास विक्रम महर्जनका कारण हाल प्रेम कुमार खत्री डिप्रेसनको सिकार हुन पुगेका छन् ।
सहकारीको बदमासी र बदनियतका कारण कयौँ मानिस हाल ठगिन बाध्य भएका छन् । हायर पर्चेजका नाममा सहकारीले मिटर व्याज नै लिने गरेको उपभोक्ताहरू बताउँछन् ।
सहकारीका पूर्व अध्यक्ष स्थानीय निकायका पनि पूर्व वडा अध्यक्ष भएको र अमुक राजनीतिक शक्तिका भरमा गरिखाने बर्गलाई शोषण गर्दै उनीहरूलाई उठीबास लगाउन सहकारी तत्पर भएर लागेको पीडित खत्रीले बताउनुभयो । उहाँ भन्नुहुन्छ मेरो त कमाई खाने किस्ता तिर्ने बाल बच्चाको स्कुल फी तिर्ने र उनीहरूको लालन पालन गर्ने आम्दानीको स्रोत नै सहकारीले ठगी गरी उठायो अव म प्रेम प्रसाद आचार्यले जस्तै आत्मदाह गर्नुको विकल्प छैन ।
अहिले त ठगहरूको रामराज्य रहेछ हामी जस्ता गरी खाने वर्गले मरे पनि हुने भयो उहाँले आँसु खसाल्दै भन्नुभयो ।
सहकारीको बदमासीको सिकार भएका उहाँ न्यायको खोजीमा विभिन्न अड्दा धाउँदै आउनुभएको छ । दैनिक ज्यालादारी गरी खाई नखाई जोगाएको पैसा र केही लोन लिएर किनेको गाडी पनि सहकारीले बदनियत पूर्ण तरिकाले उठाएपछि उहाँलाई हात मुख जोर्न समेत मुस्किल भएको छ ।















