भक्तपुर नगरपालिकाको आयोजनामा शुभकामना आदानप्रदान
भक्तपुर, १६ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा शुभ विजया दशमीको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भनपा सभाकक्षमा एक समारोहबीच आज सम्पन्न भयो ।
प्रमुख अतिथि सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टीको नीति अनुसार श्रमलाई सम्मान गर्ने नगरपालिकाले अनुसरण गर्दै आएको बताउँदै अरु ठाउँमा बेइमान र ठगहरुको इज्जत गर्ने तर भक्तपुर नगरपालिकाले इमान्दार, कर्तव्यनिष्ठ, काम गरी खानेलाई ईज्जत दिने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकामा समाजवादी मोडल अनुसार शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणको काम भई रहेको बताउनुभयो । उहाँले सफाई मजदुरहरुलाई स्वास्थ्य सुरक्षाको लागि दिएको माक्स, पञ्जा र बुट लगाउन अनुरोध गर्दै व्यक्ति सरसफाईको लागि साबुन पानी र धाराको व्यवस्थापन अनुसार फुर्तिला र सुकिला देखिने गरी ड्रेस लगाउनु पर्ने बताउँदै सफाईमा काम गर्ने सफाई मजदुरहरु किटाणुहरुसंग सम्पर्कमा रहने भएकोले घरपरिवार र समाजलाई नै रोग सार्न सक्ने भएकोले सुरक्षाको न्युनटम मापदण्ड पुरा गरेर काम गर्नु पर्ने बताउनुभयो ।
उहाँले रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिन सरसफाईमा ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले दशैंको चाडवाडमा शरीरलाई हानी हुने गरी बढी खाने मादक पदार्थ सेवन नगर्न निर्देशन दिँदै समाज र कानुनले वर्जित गरेको मादक पदार्थ सेवान नगर्न र जुवातास नखेल्नु निर्देशन दिनुभयो । उहाँले काम गर्दा बानी व्यवहार र बोलीचाली राम्रो र नरम हुनुपर्ने बताउँदै जनतासंग रिस गर्न नहुने साथै रिसले पतनको बाटो तर्फ लान्छ भन्नुभयो । उहाँले दशैंमा रचनात्मक कार्य गरेर विताउन निर्देशन दिँदै जनताको आखाँ दुरबिन सरह हुने भएकोले कर्मचारीहरु कसैले कमजोरी गरे तुरुन्तै गुनासो आउने र कार्यवाहीको भागिदार हुन नपरोस् भन्नुभयो । उहाँले अस्पतालमा बढी लाइन बस्नु पर्ने गुनासो आएकोले छिट्टै नयाँ भवनमा सेवा सुरु गर्न जोडतोडका साथ काम भई रहेको बताउनुभयो । उहाँले पद अनुसार योग्य नभए पद ओगट्नुको अर्थ नहुने र अरुले फसाउन सक्ने बारे बाँदर र स्यालको कथा सुनाउनुभयो । उहाँले साथीले बचाउने र सत्रुले विगार्ने बारे स्याल र कछुवाको कथा सुनाउने भयो । त्यस्तै आफू राम्रो र सक्षम हुँदैमा अरुलाई हेप्न नहुने ढुंगा र फुलको कथा सुनाउनुभयो । उहाँले जनप्रतिनिधिहरु जनताको सेवामा दमकल र एम्बुलेन्स सरह काम गर्ने वाचाका साथ अएको हुनाले जनता सेवामा छिटो छरिटो सेवा दिन निर्देशन दिँदै विजया दशमीको शुभकामना दिनु भयो ।
कार्यक्रममा भनपा वडा ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नेमकिपाको उद्देश्य अनुसार भक्तपुरलाई स्वच्छ सफा हराभरा र पर्यटकीय गन्तव्य स्थल बनाउन सरसफाईलाई निरन्तता दिई आएको बताउनुभयो । उहाँले पुजाको नाममा बलि दिनु र रगत पर्सिनु मेसिनरी सामान, सवारी साधन विग्रनु र खिया लाग्ने भएकोले बैज्ञानिक र भौतिकवादी दृष्टिकोणले दशैं मनाउने र काम प्रति सम्मान गर्ने गरी मनाउनुपर्ने बताउनुभयो । उहाँले कर्मचरीहरु एक ठाउँमा भेला गरी एक आपसमा मिलेर काम गर्नुपर्ने बताउँदै नगरपालिकाको भावना बारे जानकारी दिने उद्देश्यले रचनात्मक ढंगले उपयोग गर्ने गरी यो शुभकामना आदानप्रदान कार्यक्रम गरेको बताउनुभयो । उहाँले कर्मचारीहरु जनता र जनप्रतिनिधिहरुको पुल वा राजदुतको काम गर्नुपर्ने बताउँदै मालिक होइन सेवकरुपमा काम गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवाँले स्वास्थ्य राम्रो तब हुन्छ जब खानपान, सरसफाई राम्रो हुन्छ त्यसैले शुभकामनाको अर्थ तब हुन्छ जब उ स्वास्थ्थ हुन्छ त्यसैले डेंगु, कोरोना बाहिरबाट घरमा सार्ने भएकोले सफाई मजदुरहरु घर जान्दा सफासुग्घर भएर जानु पर्ने बतउनुभयो । उहाँले मजदुरहरुको बानीव्यवहार राम्रो हुनुपर्ने र संसारको सबभन्दा राम्रो व्यवस्था ल्याउने भनेकै मजदुरहरुले हो भन्दैै त्यसको निम्ति सिक्नुपर्ने र अध्ययन गर्नुपर्ने र शासन सत्तामा पुग्न मेहिनत गर्नुपर्ने बतउनुभयो । उहाँले कर्मचारीहरुले गोप्यता भंग गर्न नहुने बताउँदै अनुशासित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा श्यानिटेशन उपशाखा प्रमुख दिलिप कुमार सुवाल र वडानिरिक्षक रामकृष्ण प्रजापतिले पनि बोल्नु भएको थियो ।














