राप्रपा भक्तपुरलाई कांग्रेसको धोका! एक्लै निर्वाचन लड्दै
भक्तपुर, बैशाख १७ गते
राप्रपा भक्तपुरलाई नेपाली कांग्रेसले धोका दिएको भन्दै आज भक्तपुरमा पत्रकार सम्मेलन गरेको छ । २०७६ सालको उपनिर्वाचनमा राप्रपा र कांग्रेस बीच लिखित सम्झौता समेत भएको खुलासा गर्दै सो सहमति अनुसार अहिलेको स्थानीय तहको निर्वाचनमा कांग्रेसले इमान्दारीता नदेखाएको उल्लेख गर्दै सो पार्टीका भक्तपुर जिल्ला अध्यक्ष रामशरण लामिछानेले एक विज्ञप्ती प्रकासित गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष पशुपति सम्मशेर राणाको निर्देशनमा उपनिर्वाचनमा कांग्रेसका कृष्णलाल भडेललाई भक्तपुर निर्वाचन क्षेत्र नम्वर १ कबाट निर्वाचित गरेको दाबी गर्दै कांग्रेसले सो बेलाको सहमतिलाई हाल एकतर्फिरुपले तोडेको राप्रपा उच्च स्तरिय कार्यसम्पादन समिति सदस्य दिनेश श्रेष्ठले जनाए ।
२०७६ साल मंसिर १४ गतेको उपनिर्वाचनमा भडेललाई निर्वाचित गराउन सहयोग गरेबापत स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकामा राप्रपालाई प्रमुख सहित ४ वडा र नेपाली कांग्रेसलाई उपप्रमुख सहित ५ वटा वडा दिने लिखित सम्भौता भएको र सम्झौतामा सहि गर्ने कांग्रेस नेता बिमलेन्द्र निधिले जिल्लाका नेताहरुलाई फोनबाट निर्देशन दिदा पनि कार्यान्वयनमा नआएपछि मिडिया गुहारेको उहाँले बताए । कांग्रेसको सहयोगमा निर्वाचन जित्ने महत्वकाक्षा बोकेका चाँगुनारायण नगरपालिकाका प्रमुखका उम्मेदबार रविन्द्र्र शाहले अन्तत कांग्रेसले धोका दिए पछि एक्लै निर्वाचनमा जाने बताए । आधारभूत शिक्षा र स्वास्थ्यलाई निःशुल्क, जेष्ठ नागरिकलाई घर घरमा भत्ता पुर्याउने लगायत जनसरोकारका विषयलाई लिएर राप्रपा एक्कै निर्वाचनमा होमिने पनि शाहले बताए । कांग्रेसले भक्तपुरमा दिएको धोकाको प्रभाव देशभर देखिने दाबी गर्दै धर्म र देशभक्तिलाई आत्म साथ गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा राप्रपा एक्लै निर्वाचनमा लड्ने शाहले जनाए ।














