ख्वप अस्पतालबाट नगरवासीलाई निःशुल्क, अरुलाई सुलभ दरमा अक्सिजन वितरण

भक्तपुर, असार १५ गते
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादन भएका अक्सिजनहरु निःशुल्क नगरवासीलाई वितरण भइरहेको छ भने नगर बाहिरका समुदायको लागि सुलभ दरमा वितरण भइरहेको हो । सिलिण्डर ल्याउने नगरवासीलाई निःशुल्क अक्सिजन वा सिलिण्डरको १० हजार डिपोजित तथा नगरबाहिरका समुदायका लागि मात्र ५० देखि १५० रुपियाँमा अक्सिजन सहितको सिलिण्डर वितरण भइरहेको हो । बजार मूल्य ७५० भन्दा बढी रहे पनि ख्वप अस्पतालले भक्तपुर नगरबासीका लागि वडा कार्यालयको सिफारिसमा निःशुल्क र नगरवाहिरका समुदायलाई वडाको सिफारिसमा सहुलियत दरमा अक्सिजन दिइरहेको हो ।
जनस्तरको आर्थिक भौतिक सहयोगसँगै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले गत असार १ गते उद्घाटन गर्नु भएको सो प्लान्टबाट दैनिक १०० देखि १२० वटासम्म अक्सिजन सिलिण्डर भर्न सकिने भए पनि अहिलेसम्म ३६ वटा सिलिण्डर मात्रै समुदायस्तरबाट माग भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख डाक्टर रत्न सुन्दर लासिवाले बताउनु भयो । माग बढेमा क्षमता अनुसार अक्सिजन वितरण हुने उल्लेख गर्दै कार्यालय प्रमुख लासिवाले भक्तपुर नगरपालिकाको बोर्ड बैठकको निर्णय अनुसार निःशुल्क अक्सिजन सेवा दिन्दै आएको बताए । अवको केही महिनाभित्र ख्वप अस्पताल सञ्चालनको तयारी भइरहेको बताउँदै उहाँले अहिले अस्पतालको भवन निर्माण कार्यसँगसँगै आइसियू र भेन्टिलेर जडान कार्य पनि भइरहेकोले भवन निर्माण पूरा हुने वितिकै अस्पताल सञ्चालन गर्न सकिने बताए । जनप्रतिनिधीहरुले जनताको सहयोगबाट स्थापित अक्सिजन प्लान्टलाई कोरोनाको जोखिमका बीच यो वर्ष निःशुल्क वितरण गर्ने घोषणा गरेको छ । अक्सिजन अभावले कोरोना संक्रमितहरुको मृत्यु र सिकिस्त हुनुपरेको अवस्थाबाट सुरु भएको अक्सिजन प्लान्ट जडान भइसक्दा कोरोना जोखिम कम हुन थालेसँगै अक्सिजनको माग पनि घटेको छ । अहिले कोरोना संक्रमितलाई भन्दा पनि डम र अन्य विरामीहरुका लागि अक्सिजन माग आइरहेको डाक्टर लासिवाले जनाए ।


निःशुल्क खाना सहितको आइसोलेशन केन्द्र ब्रम्हायणीमा अझै २२ जना संक्रमितहरुको उपचार भइरहेको छ । ७ जना एचडियूमा छन् । दैनिक ८।१० जना संक्रमितहरु थपि रहेका छन् उहाँले भन्नु भयो । कोरोना संक्रमण दर घटे पनि जोखिम घटेको छैन् । स्वास्थ्य मापदण्ड सबैले पालना गरी सहज जीवनयापनमा ध्यान दिनुपर्छ । सार्वजनिक यातायतामा जाँदा पनि मास्क, भाइजर लगाएर मात्र यात्रा गर्दा जोखिम कम हुन सक्छ नभए थप संक्रमण बढ्न सक्ने जोखिम रहन्छ, डाक्टर लासिवाले जोड दिनु भयो ।
दैनिक ५०० भन्दा बढी विरामीको परीक्षण गर्दै आएको जनस्वास्थ्य केन्द्रले अहिले कोरोना संक्रमण दर घटेसँगै स्वास्थ्य परीक्षण र उपचारलाई सहज बनाउन थालेको छ । उपचारका लागि आउने विरामीको संख्या पनि बढ्न थालेको छ । यसै बीच सोमबार पत्रकार र कोरोना निको भएका समुदायका लागि भोलेशेलको खोप दिएको थियो । सो अवसरमा काठमाण्डौ देखि विभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुले भोरेशेलको खोप लगाएका थिए । सो अवसरमा अर्माका सह अध्यक्ष सुभाष खतिवडा, एकोराबका अध्यक्ष अर्जुन गिरी, रेडियो नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत सुरेशराज कार्की लगायत दजानौं सञ्चारकर्मीहरुले पनि खोप लगाएका थिए भने कोरोना निको भएर ४२ दिन पूरा गरेका समुदायले पनि खोप लगाएका थिए ।