निषेधाज्ञाका कारण कोभिड¬१९ को सङ्क्रमण नियन्त्रणमा परिणाम सकारात्मक तर अझै तोडिएन सङ्क्रमणको जालो

निषेधाज्ञाका कारण कोभिड¬१९ को सङ्क्रमण नियन्त्रणमा परिणाम सकारात्मक तर अझै तोडिएन सङ्क्रमणको जालो

काठमाडौँ, ७ जेठ (रासस) ः मुलुकमा लगाइएको निषेधाज्ञाका कारण कोभिड¬१९ को सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धी हासिल भएको छ । प्रशासनिक क्षेत्रका अधिकारी तथा स्वास्थ्य विज्ञले यसलाई अझै कडाइका साथ कार्यान्वयन गर्न नसक्दा भने बीचमा केही जटिलता आएको तर नियन्त्रणमा सकारात्मक परिणाम देखिन थालेको जिकिर गरेका छन् । मुलुकमा निषेधाज्ञा शुरु भएको आज एक महिना पुरा हुँदै गर्दा निषेधको आदेश जारी गर्नुपर्ने आवश्यकता अझै बाँकी रहेको छ । तर सही कार्यान्वयनको पनि उत्तिकै जरुरी छ । देशमा गएको वैशाख महिनामा कोरोना सङ्क्रमणमा ठूलो उतारचढाव आयो । बीचमा अक्सिजन र त्यसको सिलिण्डर, भेन्टिलेटर, सघन उपचार कक्षको हाहाकार नै भयो । अक्सिजन नपाएर केही सङ्क्रमितको मृत्यु भएको विवरण समेत सार्वजनिक भयो । तर पछिल्लो सममया भने सङ्क्रमण दरमा केही कमी देखिनुमा निषेधाज्ञाको महत्वपूर्ण भूमिका रहेको चिकित्सकहरु बताउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतम निषेधाज्ञाको पूर्ण पालना गरेको भए अहिले सङ्क्रमण दरमा निकै कमी आउने बताउनुहुन्छ । डा गौतम आफुबाहेक सबै सङ्क्रमित हो भन्ने सोचेर सावधानी अपनाउने हो भने नियन्त्रणमा कुनै समस्या नहुने जिकिर गर्नुहुन्छ । एक महिना अघि आजैका दिन बाग्लुङ जिल्लाले निश्चित क्षेत्र तोकेर निषेधको आदेश जारी गरेको थियो । त्यहाँको बलेवास्थित नारायणथानको एउटा विद्यालयमा ३९ जना विद्यार्थी र एक शिक्षकमा एक्कासी कोभिड–१९ सङ्क्रमण देखियो । त्यसको जालो च्यात्न भन्दै तत्कालै त्यहाँको स्थानीय प्रशासनले विद्यालय र विद्यालयसँग जोडिएको परिवार बसोबास गर्ने क्षेत्र तोकेर वैशाख ७ गते निषेधको आदेश जारी गरेको गर्यो । सङ्क्रमण रोक्न शुरु भएको निषेधाज्ञा शुरु भएको आज एक महिना पुगेको छ । बाग्लुङपछि कालिकोटमा वैशाख ९ गते एक जनामा सङ्क्रमण देखियो । उनीसँग सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गर्दा १० गते थप ४ जनामा देखिएपछि सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को अधिकार प्रयोग गर्दै त्यहाँ पनि क्षेत्र तोकेर हिडडुल गर्न नपाउने गरी आदेश जारी गरिएको थियो ।