कोरोना संक्रमण अहिलेसम्मकै उच्च, एक्कै दिन ४३६४ संक्रमित
काठमाण्डौ, असोज २२ गते
आज एकै दिन देशभर कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । आज एक्कै देशभर ४३६४ जना संक्रमित भएका मध्ये काठमाण्डौ उपत्यकाका मात्र २५४० जना छन्। भक्तपुरका १ सय ३५ जना सहित देशभर आज ४ हजार ३६४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज संक्रमित ४३६४ जना सहित कुल संक्रमितको संख्या ९८ हजार ६१७ जना पुगेको छ । संक्रमितहरु मध्ये पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना कोरोना संक्रमण मुक्त भएका छन । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ७१ हजार ३४३ जना पुगेको छ भने अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ७ जना छन् । संक्रमितहरु विभिन्न आइसोलेसनमा रहेका छन् । क्वारेन्टिनमा भने अहिले ४ हजार १६४ जना छन् । पछिल्लो २४ घण्टामा १२ जना कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाण्डौ उपत्यकाका मात्रै २ हजार ५४० जना संक्रमित थपिएको बताएको छ । यसरी संक्रमित हुनेहरुमा काठमाण्डौ जिल्लाका मात्रै २ हजार ८५ जना छन् भने ललितपुरका ३२० जना र भक्तपुरका १३५ जना रहेका हुन । आम नागरिकले स्वास्थ्य मापदण्ड परिपालन नगरी उपात्यकामा हिड्डुल गर्नेको संख्या बढेकाले संक्रमण उच्च रहेको स्वस्थ्य मन्त्रालयको निष्कर्ष छ ।













