भक्तपुर, जेष्ठ ७ गते
काठमाण्डौ उपत्यकामा पनि कोरना भाइरस संक्रमणको जोखिम बढेसँगै स्रोत साधनको अभाव भएको मनन गर्दै जिल्ला विपद व्यवस्थापन समिति भक्तपुर पूर्वतयारीमा जुति रहेको बताएको छ । मंगलबार भक्तपुरमा थप एक जनामा कोरना संक्रमण देखिएपछि थप सर्तकता अपनाउने तयारी गर्दै अहिलेसम्मको तयारीका बारेमा पत्रकारहरुलाई जानकारी एवं छलफल समेत गरेका छन । लक डाउनमा बाहिरबाट आएकाहरुको तर्फबाट भक्तपुरमा कोरना भाइरसको जोखिम बढेको निष्कर्ष सहित कोरना भाइरसको जोखिमले निम्तिन सक्ने विपद्लाई पनि आंकलन गर्न थालेका हुन । बढ्दो कोरना भाइरसकोे जोखिमका बीच जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुरमा आसोलेशन र क्वारेन्टाइन एवं स्वास्थ्य उपचारका सामग्रीको भण्डारको थप व्यवस्था गर्न आवश्यक भएको उल्लेख गर्नु भयो । कोरना रोकथाम र विपद् व्यवस्थापन तथा राहात वितरण समेत बाहिरी जिल्लामा प्रधानमन्त्री राहात कोषबाट गरिएको भए पनि काठमाण्डौ उपत्यकामा स्थानीय नगरपालिका आफैले व्यवस्था गरिरहेको उल्लेख गर्दै स्वास्थ्य उपचारका सामग्री महंगो देखिएको उल्लेख गर्नु भयो । कोरनाका कारण मृत्यु भएकाको व्यवस्थानका लागि स्थानीय नगरपालिका आफैले शव वाहनको व्यवस्थामा जोड दिन्दै लक डाउन अवधीमा अनावश्यक हिड्डुल नगर्न पनि आग्रह गरेका छन् । जनसम्पर्कमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि न्यूनतम स्वास्थ्य सुरक्षाको व्यवस्था गर्दै कोरनाको परिक्षणको दायरा बढाउने तथा सर्वसाधारणको नियमति स्वास्थ्य परिक्षणलाई पनि सहज बनाउनेतर्फ जिल्ला विपद व्यवस्थापन समितिले ध्यान दिएको बताएको छ । लक डाउन प्रभावकारी कार्यान्वयन गर्ने र कोरना संक्रमणबारे जनचेतना अभिवृद्धि गरी कोभिड १९ को जोखिम व्यवस्थापन गर्ने योजनामा छन् ।
भक्तपुमा रहेको ३ ठाउँका ३ सय ८ कोठामा रहेको २ सय ९९ क्वारेन्टाइन कक्ष अपुग भएकाले भक्तपुरका सार्वजनिक भवन, क्षेत्र, विद्यालय र होटलहरुलाई पनि क्वारेन्टाइनको रुपमा विकास गर्न अध्ययन भइरहेको बताएका छन् । कोरनाको नियमित परीक्षण तथा परीक्षणको दायरा बढाउने, लक डाउनमा पनि कृषि उत्पादन गर्ने, रोजगारी र उत्पादनसँग जोडेर राहात वितरण व्यवस्थापन गर्ने सोच बनाएका छन् । लकडाउनको समय बढेसँगै सर्वसाधारणमा परेको समस्याहरुको गुनासो सुनुवाई गर्न राहात वितरण गर्ने भन्दा अव काम दिएर सहजता ल्याउनेतर्फ ध्यान दिनुपर्ने प्रजिअ पाण्डेले जोड दिनु भयो ।
जिल्लाको सिमानाकामा कडाई गरी कृषि उत्पादन र बजार ब्यवस्थापन एवं नियमनलाई ध्यान दिन्दै जोखिम व्यवस्थापनका लागि लक डाउन प्रभावकारी बनाउने पक्षमा भक्तपुरका राजनैतिक दल, सुरक्षा निकायको संयुक्त बैठकबाट जिल्ला प्रशासन कार्यालय भक्तपुरले विभिन्न निणर्य गरेको उहाँले बताउनु भयो । जेष्ठ ५ गतेको सो बैठकले कोरना भाइरसको परीक्षण बढाउने, लकडाउनको पूर्ण परिपालनकोलागि उपत्यका प्रवेश नाकाहरुमा यात्रुहरुको आवजावतलाई पूर्ण रुपमा रोक लगाउने, भक्तपुर जिल्लामा बसोबास गर्ने मानिसहरुलाई पिसिआर परीक्षण पोजेटिभ देखिएमा निजसँग सम्पर्कमा आएकाहरुलाई तत्काल राख्नको लागि जिल्लास्तरमा आवश्यता अनुसार स्थानीय तहले सञ्चालन गर्ने गरी क्वारेन्टाइन स्थल निर्माण गर्ने, सोको विवरण र गर्नुपर्ने जिम्मेवारी व्यवस्थापन समेत नगरस्तरीय सिएमसीबाट एकिन गरी जिल्ला स्थित सिएमसीमा पठाउन अनुरोध गर्ने, शब व्यवस्थापनका लागि स्थानिय तहले सव बाहानको तयारी गर्ने, पास वितरणलाई चुस्त दुरुस्त गरी अतिआवश्यक बाहेक अन्य कार्यमा कडाइ गर्ने, राहात वितरणलाई प्रभावकारी र पारदर्शी बनाई सरकारी नियम र निणर्यलाई पालना गर्ने, गराउने र स्थानीय तह र सरोकारबाला निकायहरुबाट खाद्यान्न तथा आपूर्ति प्रभावकारी व्यवस्थापन र नियमनको कामलाई निरन्तरता दिने, विदेशबाट फर्कन इच्छुक नेपालीहरुको चेक जाँच गरी सुरक्षित रुपमा घरसम्म पुर्याउने, शदीद धर्मभक्त अंक प्रत्यारोपन केन्द्रको सेवालाई ध्यान दिइ छुटै मार्गको व्यवस्था एवं भक्तपुर अस्पताल परिसरलाई कोभिड मुक्तक्षेत्र बनाउने, स्थानीय तहहरुमा सर्वसुलभ पसल खोली खाद्यान्न लगायतका उपभोगिय सामानहरु सुपथ मुल्यमा जनतालई उपलब्ध गराउने र वर्षात्को समयमा हुन सक्ने बाढी पहिरो लगायतको विपद् व्यवस्थापनको पूर्व तयारी गर्ने विषयमा छलफल भएको जनाएको छ ।
सो अवसरमा प्रहरी उपरिक्षक सविन प्रधानले दुवाकोट संक्रमण घटनाको पहिचान गर्न नसक्दा सबैभन्दा ठूलो समस्या उत्पन्न भएको जनाउँदै जगातिको चेक जाँचलाई थप व्यवस्थित पारिएको बताउनु भयो । भक्तपुर छिर्ने नाका साँगामा काभ्रेका प्रहरीसँगको समन्वयमा आवागमनलाई व्यवस्थित पारिएको उहाँले जनाउनु भयो । तीन वटै सुरक्षा निकायसँगको समन्वयमा लक डाउन प्रभावकारी पार्दै जनजीवन पनि सहज गर्नेमा जुति रहेको भए पनि संक्रमणको जोखिम बढेसँगै क्षमता भन्दा बढी सेवा दिनुपर्ने अवस्था रहेको भन्दै नसोचेको नतिजा सामना गर्न पनि तयारी अवस्थामा रहेको एसपी प्रधानले जनाएका छन् । त्यस्तो अकल्पनीय परिस्थिति हुन नदिनका लागि कोरना परीक्षणको दायरा बढाउनुपर्ने, जनसम्पर्कमा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको नियमति परीक्षण गर्नुपर्नेमा जोड दिन्दै उहाँले संक्रमितको कन्ट्याक्ट टे्सिगमा चुक्यो भने सामुहिक संक्रमण बढ्ने जोखिम रहेको औल्याउनु भयो ।
नेपाली सेना बीरदल गणका गणपति शिवप्रसाद पौड्यलले राध्येराध्येस्थित १७ तल्ले भवनमा अतिआवश्यक खाद्यान्न वितरणको लागि भण्डारण स्थल बनाएको र सो भण्डारणबाट १० हजारलाई प्याकिंग खाना वितरण गर्न सकिने बताउनु भयो । बजारमा खाद्यान्न सहज भएकाले खाद्यान्न भण्डारण भने अहिल्यै गरी नसकेको बताउनु भयो । भक्तपुरका ४ वटै नगरपालिकाहरुको समन्वयमा सो खाद्यान्न भण्डारणको व्यवस्थापन हुने उहाँले जोड दिन्दै जगाती चेक पोस्टमा सेनाका मेडिकल टोली पनि परिचालन गरिरहेको बताउनु भयो । कोरना संक्रमणबाट मृत्यु भएका व्यक्तिको व्यवस्थापन चुनौतिपूर्ण रहेको उल्लेख गर्दै एक जना मृतकको व्यवस्थापन गर्न ५० हजारसम्म खर्च लाग्ने गरेको उल्लेख गर्नु भयो । बैकल्पीक विपद् व्यवस्थापनको तयारी सहित मृत शरीर व्यवस्थापनका लागि १५ जनालाई तालिम दिएर तयारी अवस्थामा राखेको बताउँदै उहाँले कोरनाका कारण मृत्यु हुने पहिलो महिलाको व्यवस्थापनमा भक्तपुरका दुई जना स्वयंसेवकहरुलाई पूवतयारीका साथ परिचालन गरिएको पनि बताउनु भयो । भक्तपुरमा स्थापना गरिएका क्वारेन्टाइनहरुको नियमित सरसफाई गर्दै आएको बताउँदै उहाँले वर्षातको समयसँगै उत्पन्न हुन सक्ने बाढी पहिरोको जोखिम व्यवस्थापनमा पनि ध्यान दिइरहेको उल्लेख गर्नु भयो ।














