भक्तपुर, चैत्र ११ गते
कोरना भाइरसको जोखिम न्यूनिकरण बारे सचेतनामूलक पर्चा वितरण र रक्तदान गरी रेडियो जनसञ्चार १०७.९ मेगाहर्जले आज ११ औं वार्षिकोत्सव समारोह मनाएको छ । समुदायको आवाज, विचार, दृष्टिकोण, खवर, सन्देश तथा मनोरञ्जन प्रदान गर्दै समुदायमा आधारित रेडियोको रुपमा सञ्चालित रेडियो जनसञ्चारले स्थापना दिवसको अवसरमा हुल जम्मा हुने औपचारिक कार्यक्रमहरु नगरी रक्तचाप, सुगर परीक्षण तथा रक्तदान कार्यक्रम आयोजना गर्ने कार्यक्रम तय गरेको थियो । कोरना भाइरसको जोखिमकाकारण हुलमुल नहुने गरी समुदायको स्वास्थ्य चेतना अभिवृद्धिका लागि आयोजना गरिएको सो कार्यक्रमको अन्तिम तयारीमा रहँदा हिजो साँझ सरकारले गरेको निशेधाज्ञालाई ख्याल गर्दै अरु कार्यक्रम रद्ध गरेको थियो भने रक्त सञ्चार सेवा भक्तपुरको अनुरोधमा रक्तदान कार्यक्रम भने आयोजना गरियो । दजनौं रक्तदाताको रक्तचाप परिक्षण गर्दै रक्तचाप सन्तुलन भएका ६ जना स्थानीय समुदायले भने रक्तदान गरेका थिए ।

भक्तपुर नगरपालिका वडा नम्वर १० स्थित कलमविनायक, पाइपलाइनबाट सञ्चालित रेडियो जनसञ्चारले हरेक वर्ष चैत्र ११ गतेका दिन आफ्नो स्थापना दिवस आयोजना गर्दै आएको छ । वार्षिकोत्सवको अवसरमा हरेक वर्ष जनसञ्चार स्मारिका प्रकाशन गर्दै आएको थियो । वार्षिकरुपमा औपचारिक कार्यक्रम आयोजना गर्दै रेडियोको प्रशारण र प्रभाव एवं भूमिकाहरु बारे समुदाय र विज्ञहरुको सहभागितामा छलफल, अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्दै आएको थियो । यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरसका कारण समुदायको बीचमा औपचारिक कार्यक्रम आयोजना गर्न जोखिमको दृष्टिकोणले अनुकूल नभएपछि रेडियोको प्रशारणबाट श्रोता समुदायको सल्लाह सुझाव, सुभकामना र प्रतिकृयाहरु प्रसारण गरी स्थापना दिवस मनाइ रहेको छ । कोरना भाइरसको जोखिम न्यूनिकरण तथा रोकथामका सन्देश प्रस्तुत गर्दै स्थापना दिवस मनाइरहेको रेडियो जनसञ्चार जनसञ्चार गृह सामाजिक सस्थाको प्रवद्र्धनमा सामुदायिक रेडियोरुपमा सञ्चालनमा रहेको छ । ५ सय वाट क्षमताको प्रदेशस्तरीय यस रेडियोको सञ्चालन र प्रवद्र्धनको नेतृत्व संस्थाका अध्यक्ष एवं स्टेशन म्यानेजर सुरेश प्रसाद सायंजूले गर्दै आएको छ । दैनिक विहान ५ बजे देखि साँझ ११ बजेसम्म १८ घण्टाको नियमित प्रशारणमा रहेको यस रेडियोले समसामयिक विषयवस्तु बारे विज्ञ र समुदायको आवाजलाई दैनिकरुपमा प्रशारण गर्दै आएको छ । दैनिक ५ वटा आफ्नै समाचार बुलेटिन, सामुदायिक सूचना नेटवर्कको विहान बेलुकीको साझा खवर र बीबीसी नेपाली सेवाका समाचारलाई नियमित प्रशारण गर्दै आएको छ । साथै सिआएन, इक्वेलएक्सिस, एन्टेना फाउडेशन, टीआई नेपाल, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लगायत विभिन्न संघ संस्थाहरु र ब्यवसायिक निकायहरुसँगको सहकार्य र समन्वयमा विषयगत कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै आएको छ । यसपालिको जनसञ्चार स्मारिका प्रकाशन र औपचारिक वार्षिकोत्सव समारोह कोरना भाइरसको जोखिम न्यूनिकरण भएपछि अनुकल समयमा आयोजना गर्ने छ । आज भएको रक्तदानका संस्थाका अध्यक्ष एवं स्टेशन म्यानेजर सुरेशप्रसाद सायंजू, उपाध्यक्ष शैलेन्द्र शाही, सदस्य सरस्वती गोसाई, स्रोता सुजन बैद्य, रामसुन्दर दुवाल र राम गोसाईले रक्तदान गरेको संस्थाका सचिव प्रेम प्रजापतिले बताउनु भएको छ ।













