पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना बढ्दो

आज देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेको जनाएको हो । तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउ पनि महाशाखाले आग्रह गरेको छ । त्यस्तै मौसमविद्का अनुसार तराईमा बाँक्लो हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको छ । चिसोले तराईको जनजीवन कष्टकर बनेको छ । हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लागेको छ । पश्चिमी भू–भागलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी–हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याइएको छ । भोलि देशका पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । पर्सी देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जनाइएको छ ।

चिसो बढेपछि दाउरा वितरण शुरु

केही दिनयता शीतलहर शुरु भएसँगै ह्वात्तै चिसो बढेको कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका स्थानमा डिभिजन वन कार्यालय तथा स्थानीय सङ्घसंस्थाले आगो ताप्नका लागि स्थानीयवासीलाई दाउरा वितरण शुरु गरेका छन् ।

शीतलहर बढेर चिसोको प्रभाव बढेपछि डिभिजन वन कार्यालयले गाईघाटको बोक्से चौक, गाईघाट बजार, पुरानो गाईघाट, देउरीसहितका क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको छ । बिहीबार र शुक्रबार गरेर झण्डै यी क्षेत्रमा दश क्विन्टल दाउरा विभिन्न चौकमा बालेर ताप्नका लागि वितरण गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साहले बताउनुभयो ।

राजविराजका विद्यालय तीन दिन बन्द

सप्तरीको राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय अगामी तीन दिनका लागि बन्द गरिने भएको छ ।

राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले आज जारी गर्नुभएको विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने बालबालिकालाई असर पर्ने भएकाले यही पुस ६ देखि पुस ८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

तीन दिनका लागि राजविराज नगर क्षेत्रभित्र पर्ने सम्पूर्ण संस्थागत (निजी) तथा समुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित भइरहेको अवस्थामा समय अनुकूल नभएमा विद्यालयका प्रधानाध्यापकसँग छलफल गरी पुनः बन्दलाई निरन्तरता दिइने नगरपालिका अध्यक्ष यादवले जानकारी दिनुभयो ।