महालक्ष्मी–कमलविनायक सडक तत्काल मर्मत गर्न डिभिजन सडक कार्यालय सहमत, भोलिबाटै टोली खतिने
भक्तपुर, २०८३ मंसिर ३
लामो समयदेखि अलपत्र परेको भक्तपुरस्थित महालक्ष्मी–कमलविनायक सडक मर्मत तथा निर्माण कार्य तत्काल अघि बढाउन डिभिजन सडक कार्यालय भक्तपुर सहमत भएको छ ।
भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा र डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सि.डि.ई. सुमन योगेशबीच भएको टेलिफोन वार्तामा सडक निर्माणको काम अविलम्ब सुरु गर्ने सहमति जुटेको हो। कार्यालय प्रमुख योगेशले भोलि (मंसिर ४ गते) बाटै आफूहरूसहित सडकका प्राविधिक तथा इन्जिनियरहरूको टोली कार्यस्थल (फिल्ड) मा खटिएर निर्माण कार्य थालनी गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
तार भूमिगत गर्ने नाममा ठाउँ–ठाउँमा खनिएको उक्त सडक समयमै मर्मत नहुँदा स्थानीय बासिन्दाले लामो समयदेखि सास्ती खेप्दै आएका थिए । घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने समस्याका कारण स्थानीय बासिन्दा आक्रोशित बनेका थिए ।
प्रदेश सरकार मातहतको उक्त सडक निर्माणका लागि स्थानीय पालिकाको पहलमा गत वर्ष नै ३५ लाख रुपैयाँ लागत इस्टिमेटमा ठेक्का लगाइएको थियो । तर, ठेक्का सम्झौता भएको वर्ष दिन बितिसक्दा पनि निर्माण कार्य अघि नबढेपछि जनगुनासो बढ्दै गएको थियो । स्थानीयको बढ्दो असन्तुष्टि र समस्यालाई मध्यनजर गर्दै वडाध्यक्ष ह्यौमिखाले डिभिजन सडक कार्यालयलाई पटक–पटक ताकेता गरेपछि कार्यालय प्रमुख योगेशले तत्काल प्राविधिक टोली परिचालन गरी सडक मर्मत थाल्ने आश्वासन दिनुभएको हो











