आज चानपाको१७ औं अधिवेशन, चालु आवको भन्दा २७ करोड ६७ लाख कम बजेट प्रस्तुत
भक्तपुर, असार १० गते
चाँगुनारायण नगरपालिकाले आज नगर सभाको १७ औं अधिवेशन आयोजना गरेको छ । नगरपालिका भवनको सभाहलमा आयोजित सो अधिवेशनमा नगर प्रमुख जीवन खत्रीले आर्थिक वर्ष २०८२। ८३को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पर्यटन र सामाजिक पूर्वाधारः समृद्ध चाँगुनारायणको मूल आधारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न, उपलब्ध श्रोत साधनको उच्चतम् उपयोग, दिगो विकासका समग्र लक्ष्यहरुको सम्बोधन, सुशासन प्रवद्र्धन, वित्तीय अनुशासन तथा पारदर्शिताका साथ नगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजना तथा मध्यकालीन खर्च संरचनाबाट निर्धारण गरिएका प्राथमिकताका क्षेत्र, गौरवका आयोजना र रुपान्तरणकारी योजना तथा कार्यक्रमहरुलाई क्रमश कार्यान्वयन गर्ने गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याउने नीति अवलम्बन गरिने भन्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सो अवसरमा उपप्रमुख रमेश बुढाथोकीले १ अर्व, ८४ करोड, ५६ लाख, २० हजार ४ सय १३ रुपियाँको बजेट प्रस्तुत गरेका थिए । सो वजेटको प्रभावकारी कार्यान्वयनबाट नगरपालिकाको आर्थिक, सामाजिक, पूर्वाधार, विकास तथा सेवा प्रवाहको गुणस्तर अभिवृद्धि भई नगरवासीको समग्र विकास र समृद्धिको चाहना पूरा गर्ने आधारशिला तय हुने उपप्रमुख बुढाथोकीले विश्वास लिएको छ । बजेटले बचत खाता छोरा छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रमका साथै प्राविधिक शिक्षलाई प्रबद्र्धन, शैक्षिक गुणस्तर अभिवृद्धिका आवश्यक बजेट विनियोजन गर्दै उज्यालो चाँगुनारायण, नगर उद्यमशीलता कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए ।
यस वर्षको बजेटले उद्यमशीलता, रोजगारी उत्पादन र उत्पादकत्व अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, पर्यटन प्रवद्र्धनार्थ नगरकोट भ्रमण वर्षको सफल कार्यान्वयन, गुणस्तरीय र दिगो पूर्वाधारमा नागरिकको सहज पहुँच र नागरिकमैत्री सेवा र सुशासन प्रर्वद्धनलाई प्राथमिकतामा राखिएको छ ।
चालु आवको बजेट भन्दा २७ करोड ६७ लाख कम बजेट प्रस्तुत गरेको चाँगुनारायण नगरपालिकाको बजेट सँगै नगर प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रमहरु र विषयगत विद्येयकहरु माथि पनि आजै कार्यपालिका सदस्यहरु बीच छलफल गरिएको नगरपालिकाले जनाएको छ ।















