आज नगदेशमा पुलु किसी जात्रा हुने !

आज नगदेशमा पुलु किसी जात्रा हुने !
भक्तपुर, माघ २७ गते

भक्तपुरको नगदेशमा आज पुलु किसी जात्रा हुने भएको छ । विगत १२ वर्ष देखि बन्द रहेको ऐतिहासिक यो जात्रा स्थानीय जनताको अगुवाईमा यस वर्ष पुलु किसी जात्रा गर्ने भएको हो । स्वस्थानी ब्रत कथामा आधारित पुलु किसी जात्रा हरेक वर्ष नगदेशमा हुँदै आएको भए पनि बिगत १२ वर्ष देखि खर्चव्यवस्थापन गर्न नसकेर बन्द रहेको भन्दै नगदेश लाय्कु दरवार समितिका सदस्य भाइजन बाडेले यस वर्ष धुमधामले पुलु किसी जात्रा मनाउने तयारी भएको जनाएको छ । काठमाण्डौ र भक्तपुर नगरमा पुलु किसी जात्रा इन्द्रजात्राको सन्दर्भमा गरिन्थ्यो भने नगदेशमा स्वस्थानी ब्रत कथाको आधारमा गरिदै आएको छ ।


माघ महिनाभर वाचन हुने स्वस्थानी ब्रत कथा अनुसार हात्तिले राजकुमारको रुपमा वाहुन पुत्र नवराजलाई छान्ने पद्कथालाई यस पुलु किसी जात्राले जीवन्ता दिदै आएको छ । राजकुमार छनोट भएको खुसियालीमा भोजभटेर गर्दै नगदेशबासीहरुले यो जात्रा मनाउने गरेको उहाँले बताए । विशेष गरी नगदेशका किसान, महर्जन समुदायले यो पर्व मनाउँदै आएको छ । यो पर्व मनाउदै सुयोग्य बर, बधुको मनोकाक्षा राख्दै युवापिदीहरुले पनि ब्रत बस्ने परम्परा रहेको उहाँले बताए ।
हरेक वर्ष भिमाद्वादर्शीको दिन यो जात्रा देखाउने परम्परा रहेको छ । मध्यपुर थिमीका पूरानो बस्ती नगदेश, बोडे, चपाचो, दिव्यश्वरी, बालकुमारी सहितका बासिन्दाहरुले मात्रै विगतमा हेर्दै आएको यो जात्रा धेरै भन्दा धेरैले हेरियोस भन्दै नगदेश लाय्कु दरवार समितिले यस जात्रा बारे प्रचार प्रसार पनि गर्न थालेको छ । यस वर्ष समितिले स्थानीय एलिस बाडेलाई राजकुमार भएर जात्रा चलाउने छ । विगतमा राजकुमार बन्नेले नै सबैलाई भोज खुवाउनुपर्ने परम्परा रहेकाले जात्रा गर्न नसकेको समस्यालाई मध्यनजर गर्दै सामुहिक निर्णयमा यस वर्ष एलिस बाडेलाई राजकुमारको रुपमा प्रस्तुत गर्दै आज साँझ ४ बजे देखि नगदेशको लाय्कुस्थित सिद्धि गणेश मन्दिर परिसरबाट पुलु किसी जात्रा गर्ने आयोजक समितिको तयारी छ ।