भक्तपुर, चैत्र ११ गते
कोरना भाइरसको संक्रमण रोकथामका लागि सरकारले मंगलबार विहान ६ बजे देखि चैत्र १८ विहान ६ बजेसम्मको लागि जारी गरेको लकडाउन भक्तपुर जिल्लामा पूर्णरुपले कार्यान्वयन हुन नसकेको भन्दै जिल्ला सुरक्षा समितिले यसको समीक्षा गरेको छ । लक डाउनको पहिलो दिन फातफुत सवारी साधन चलेको, मानिसहरु अनावश्यकरुपमा हिड्डुल गरेको उल्लेख गर्दै बुधबार देखि पूर्ण कार्यान्वनका लागि प्रहरी, सेना र सशस्त्र प्रहरी समेत परिचालनको तयारी गरेको छ । समुदायमा लकडाउन बारे पर्याप्त जानकारी नभएकाले सचेतिकरणका लागि स्थानीय जनप्रतिनिधीहरुसँगको समन्वयमा बुधबार देखि माइकिग गर्ने र पूर्ण रुपले लक डाउन कार्यान्वयन गर्ने तयारी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक सविन प्रधानले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा मंगलवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भक्तपुर जिल्ला पनि कोरना भाइरस संक्रमणको उच्च जोखिम क्षेत्र रहेको उल्लेख गर्दै जोखिम न्यूनिकरणका लागि लकडाउन पूर्णरुपले कार्यान्वयन गराउन र बजार व्यवस्थापन तथा अतिआवश्यक सेवा सुचारु गर्ने विषयमा छलफल गरी संक्रामक रोग ऐन २०२०को दफा २ तथा स्थानीय प्रशासन ऐन,२०२८को दफा६(३) बमोजिम प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर जिल्लाको लक डाउन आदेश जारी गरेको छ। जारी आदेशमा औषधि,खाद्य बस्तु खरिदजस्ता काममा बाहेक कुनैपनि व्यक्ति काममा बाहिर निस्कन नपाइने, अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनहरु चलाउन नपाइने, औषधी तथा स्वास्थ्य उपकरणहरु, खाद्य बस्तु, खानेपानी, दूध, इन्धन, उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट संचालित अन्य उद्योग कलकारखानाहर सञ्चालन नगर्ने, व्यवसायीहरुले औषधी र औषधीजन्य सामग्रीहरुको नियमित आपूर्ति व्यवस्था गर्ने, अभाव देखाई कालो बजारी गरेमा नियन्त्रणमा लिइ कारवाही गरिने र उक्त सामग्री जफत गरी कोरना भाइरसको रोकथाम तथा उपचारमा प्रयोग गर्ने, स्वास्थ्य, खाद्यान्नलगायतका अत्यावश्यक सेवा सुविधाहरु संचालन हुने कार्यालय, फार्मेसी, पसल, डिपो आदिले अनिवार्यरुपमा साबुन पानीले हात धुने स्थानको व्यवस्था गर्ने साथै सेवा प्रभावमा मास्क प्रयोग सहित निश्चित दुरी कायम गर्ने, स्वास्थ्य तथा औषधी उपचारसँग सम्बन्धित अस्पताल, फार्मेसी, एम्बुलेन्स लगायतका सेवा बाहेकका अन्य अत्यावश्यक खाद्यान्न, तरकारी, पेटेल पम्प, ग्यास डिपोहरु र बैंक तथा वितिय संस्थाहरुको संचालन तोकिएको समयमा मात्र गर्ने उल्लेख छ । जारी आदेश उलंघन वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० (संशोधनसहित)को दफा ३ बमोजिम कारवाही गरिने मंगलबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
जारी आदेशलाई कार्यान्वयन गर्न र आम समुदायको दैनिक उपभोगिय वस्तुको किनमेलका लागि बुधबार विहान ६ बजे देखि ८ बजेसम्म भने बजार खुल्ला गरिने प्रहरी उपरिक्षक सविन प्रधानले जनाएको छ । मंगलबारको पहिलो दिन ८५ प्रतिशतले कार्यान्वय भएको विश्लेषण गर्दै लक डाउनको समयमा हिलडुल गर्नेमाथि बुधबार देखि कार्वाही सूरु गर्ने पनि चेतावनी दिएको छ । अतिआवश्यक कामको लागि भने जिल्ला प्रसाशन कार्यालय भक्तपुरले सवारी पासको ब्यवस्था गरिएको छ ।













