तेस्रो भक्तपुर कप, महा उत्सवको रुपमा मनाउने तयारी
भक्तपुर, माघ २९ गते
आगामी फाल्गुण १८ गते देखि २६ गतेसम्म महेश्वरी खेलमैदान भक्तपुरमा आयोजना हुने तेस्रो भक्तपुर कप २०८० बारे जानकारी दिन आज भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गरेको छ । आयोजक युवा टिम भक्तपुरले फुटबलको महा उत्सवको रुपमा भक्तपुर कपको तयारी थालेको जनाएको छ । खेलाडीको विमा, प्रथम हुनेलाई एक लाख पचिस हजार र मेडल तथा दोस्रो हुनेलाई ६५ हजार नगद सहित मेडलको घोषणा गर्दै आयोजक समितिले प्रतियोगिताको प्रत्येक खेलमा एक जना उत्कृष्ट खेलाडी र एक जना उदयीमान खेलाडीलाई पनि सम्मान गरिने जनाएको छ । यसै बीच प्रतियोगितामा देशभरका जुनसुकै ठाउँबाट पनि सहभगिता जनाउन सकिने जानकारी दिदै सहभागि खेलाडीहरुको खेल अवधिभर विमाको व्यवस्था रहेको पनि आयोजक समितिले जनाएको छ । नाम दर्ता गर्ने पहिलो १६ वटा टिमले मात्रै प्रतियोगितामा सहभागिता जनाउन पाउने भन्दै आयोजक समितिले तेस्रो भक्तपुर कपलाई भव्य रुपमा सम्पन्न गर्न आआफ्नो ठाउँबाट सहयोग गर्न पनि आग्रह गर्नु भयो ।
टिमका अध्यक्ष केशव त्वयानाबासुको सभापतित्वमा भएको सो पत्रकार सम्मेलनमा जनप्रतिनिधी उकेश कवांल, टिमका सल्लाहकार विश्वराम कवां, श्रीकृष्ण किसी पूर्व अध्यक्ष तुल्सिराम ग्वाछा, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिपक थापा, ं टिमका सचिव रामेश्वर मचामसी र टिमका सदस्य सुरेश कवासहितका आयोजक तथा अतिथीहरुले भक्तपुरको खेल विकास र खेलाडी उपत्पादनमा भक्तपुर युवा टिमले खेल्दै आएको भूमिकाको चर्चा गर्दै तेस्रो भक्तपुर कपको महत्वका बारेमा आ आफ्नो घारणा राखेका थिए ।




तेस्रो भक्तपुर कप-२०८०
प्रेस विज्ञप्ति
समाजमा रहेका हरेक मानिसका लागि खेलकुद अपरिहार्य छ । शारीरिक व्यायाम र तनावबाट मुक्त हुनको लागि खेलकुद एक महत्वपूर्ण गतिविधिको रूपमा लिने गरिन्छ । खेल र व्यायामशाला जति बढी हुन्छ देशमा अस्पतालको संख्या बढाउनुपर्दैन भन्ने मान्यता रहेको छ ।
उपस्थित पत्रकार, खेलाडी, खेलप्रेमी, टीमका पदाधिकारी, सल्लाहकार तथा शुभचिन्तक महानुभावहरू,
मित्रता, अनुशासन र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ वि.स. २०५० सालमा स्थापित यस भक्तपुर युवा टीमले विभिन्न समयमा विविध खेलकुदको आयोजना गर्नुका साथै विभिन्न क्षेत्रमा हुने खेलकुद प्रतियोगितामा खेलाडीहरूलाई सहभागी गराएर विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, अम्पायर, रेफ्री उत्पादन गर्न सफल भएको व्यहोरा विदितै छ । स्थापनाकालदेखि खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका निभाउँदै आएको यस टीमले विगतमा कोभिड-१९ को सामान्य अवस्थामा पुगेपछि २०७८ फागुन ६-१४ गतेसम्म प्रथम भक्तपुर कप-२०७८ सम्पन्न गरेको थियो । त्यसका साथै खेलाडी, खेलप्रेमी, शुभचिन्तकलगायत विभिन्न क्षेत्रबाट भक्तपुर कपलाई निरन्तरता दिनुपर्ने सल्लाह र सुझाव प्राप्त भइरह्यो । सोअनुसार दोस्रो भक्तपुर कप-२०७९ (२०७९ फागुन ५-१३) गतेसम्म सम्पन्न भयो ।
यस अर्थमा पनि टीमलाई निरन्तर प्राप्त भइरहेको सल्लाह र सुझाव मनन गरी मिति २०८०।१०।२४ गते बसेको टीमको बैठकको पुनः एक पटक यस टीमको आयोजनामा यही २०८० फागुन १८ गतेदेखि २६ गतेसम्म महेश्वरी खेल मैदान, भक्तपुरमा खुला फुटबल प्रतियोगिता भक्तपुर कप-२०८० (तेस्रो भक्तपुर कप-२०८०) सञ्चालन गर्ने निर्णय भएको व्यहोरा औपचारिक रूपमा आजको यस पत्रकार सम्मेलन तथा भेलामा जानकारी गराउँदछु । प्रतियोगिताको विजयी टोलीले ट्रफीसहित नगद रू.१,२५,०००।- (एक लाख पच्चीस हजार रूपैयाँ मात्र) र उपविजेताले ट्रफीसहित नगद रू.६५,०००।- (पैसाठी हजार रूपैयाँ मात्र) पुरस्कार प्राप्त गर्नेछ भने प्रतियोगिताको प्रत्येक खेलमा एक जना उत्कृष्ट खेलाडी र एक जना उदयीमान खेलाडीलाई पनि सम्मान गरिनेछ ।
भक्तपुरमा विभिन्न खेलमार्फत खेलाडीहरू विकास गर्ने उद्देशयका साथ टीमका साथीहरू लागिपरेको छ र आगामी दिनमा पनि त्यही जोश र जाँगरका साथ अगाडि बढ्ने छ । भक्तपुर कप-२०८० को तयारीमा टीमका साथीहरू निरन्तर सक्रियतापूर्वक लागिरहेको जानकारी गराउन चाहन्छु ।
टीमको आयोजनामा भएका प्रथम भक्तपुर कप-२०७८ र दोस्रो भक्तपुर कप-२०७९ मा आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग गर्नुहुने विभिन्न निकाय, पत्रकार, सञ्चार माध्यम, संघसंस्था, विद्यालय, उद्योग, व्यवसाय, व्यक्ति, शुभचिन्तकलायायत सम्पूर्णप्रति टीम हार्दिक कृतज्ञता ज्ञापन गर्दै तेस्रो भक्तपुर कप-२०८० मा पनि विगतमाजस्तै अमूल्य सहयोग प्राप्त हुने अपेक्षा गर्दछु । धन्यवाद ।
केशव त्वानाबासु
अध्यक्ष
२०८० माघ २९ गते, सोमबार
सो अवसरमा जानरी प्रेस विज्ञप्ति……














