ख्वप कलेजमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयक दोस्रो राष्ट्रिय सम्मेलन सुरु

ख्वप कलेजमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयक दोस्रो राष्ट्रिय सम्मेलन सुरु
भक्तपुर, जेष्ठ २९ गते
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयक दोस्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ । दुई दिने सो सम्मेलनको आज विहान नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गर्नु भएको हो । सम्मेलनको उद्घाटन गर्नु हुँदै अध्यक्ष विजुक्छेले पञ्चवर्षीय विकास योजना सबै भन्दा पहिला रुसबाट सुरु भएको बताउनु हुँदै जीवनभर विश्व विद्यालयमा काम गरेका प्रोफेसरहरुलाई बिर्सेर विदेशीहरुको सल्लाह लिएर मात्रै योजनाहरु बनाउनु गलत भएको बताउनु भयो । सरकारका योजनामा विदेशीभक्तिपन देखिएको बताउनु हुँदै अध्यक्ष विजुक्छेले मोहीयान हक नदिइ कमैया मुक्त गर्नु पनि गलत भएको उहिल्यैं भन्दै आएको स्मरण गर्नु भयो । सरकारले कमैया मुक्त घोषणा गरेर जमिन्दारलाई मात्रै फाइदा पुर्याएको बताउँनु हुँदै मुक्त भएपछि कमैयाहरुले झनै दुःख पाएको उल्लेख गर्दै तिनीहरुलाई मोहियानी हक दिनुपर्नेमा जोड दिदै आएको बताउनु भयोे ।
देशको संबिधान समाजवादउन्मुख भए पनि नीजिकरणसँग सम्बन्धित भएकाले योजना निर्माण विषयमा विश्व विद्यालय, कलेजहरुमा कोष नै बनाउनुपर्नेमा अध्यक्ष विजुक्छेले जोड दिनु भयो ।


भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको सो सभामा बोल्नुहुँदै योजना आयोगका सदस्य रामकुमार फ्यालले देशलाई आवश्यक जनशक्ति के कस्तो विषयका, के कति आवश्यक पर्ने हो? सोको तयारी गर्न यस्तो खालको अनुसन्धानमुलक कार्यशाला गोष्ठीको महत्व रहने बताउनु भयो । वागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले प्रदेश सरकारका सत्तासिन दलहरु सत्ताकै होडबाजीमा लाग्दा भरपर्दो योजनाहरु बन्न नसकेको उल्लेख गर्दै बाँकी कार्यकालको ३ महिनामा पनि मन्त्री बन्ने होडबाजी चलिरहेको प्रति खेदप्रकट गर्दै निर्वाचन जित्नकै लागि एक जना वडाध्यक्ष्य, प्रमुखले लाखौ करोडौ खर्च गर्नु, पार्टीलाई मोटो रकम बुझाएर निर्वाचनत जितेर आएकाहरुबाट व्यवस्थित योजना बन्न नसक्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रममा त्रिवि योजना शाखाका प्रमुख प्रो.डा. धुर्वकुमार गौतम, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य सुजन माक, ख्वप माविका प्राचार्य प्रकाश श्रेष्ठ, शिक्षक कमिनिका न्याईच्याईले पनि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयक दोस्रो राष्ट्रिय सम्मेलनको महत्वका विषयमा चर्चा गरेका थिए ।
आजबाट सुरु सो सम्मेलन जेष्ठ ३० गते साँझसम्म आयोजना हुने ख्वप कलेजका प्राचार्य रुपक जोशीले बताउनु भयो ।