नेपाली सेना, स्थानीय नागरिकसँग सहकार्य गर्न सँधै तयार

भक्तपुर नगरपालिकाबाट सैनिक मुख्यालयलाई प्रसिद्ध मयुरको झ्याल उपहार
भक्तपुर । २०७६ मंसिर १८ गते, बुधबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई बुधबार भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ उपहारस्वरुप प्रदान गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित लोपोन्मुख अवस्थामा रहेको भक्तपुरको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको रानी पोखरी जीर्णोद्धार कार्यमा नेपाली सेनाबाट भएको सहयोग र समन्वयप्रति हार्दिक आभार प्रकट गर्दै भक्तपुर नगरपालिकाको तर्फबाट सम्झनाको चिनो ‘मयुर झ्याल’ उपहार प्रदान गरिएको थियो ।
बुधबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा नेपाली सेनाले आयोजना गरेको मायाको चिनो आदानप्रदान कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले कलात्मक ‘मयुर झ्याल’ प्रदान गरेकोमा नेपाली सेनाको तर्फबाट धन्यवाद दिनुहुँदै भक्तपुरको मौलिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा जगेर्ना गर्न नेपाली सेना, स्थानीय नागरिकसँग सहकार्य गर्न सँधै तयार रहेको बताउनुभयो ।
महारथी थापाले नागरिक र सेनाबीचको सम्बन्ध परापूर्वकालदेखि कायम रहेको र त्यो सम्बन्धलाई मजबुत पार्न भक्तपुर नगरपालिकाले खेलेको भूमिका सकारात्मक रहेको चर्चा गर्नुहुँदै नेपाली सेनाले अन्य नगरपालिकासँग पनि सहकार्य र समन्वय गर्दै प्राचीन ऐतिहासिक ठाउँहरुको संरक्षणमा लागिपरेको बताउनुभयो ।
नेपाली सेना र भक्तपुरबासीबीच अन्योन्यास्रित सम्बन्ध रहेको जिकिर गर्नुहुँदै महारथी थापाले इतिहास संरक्षण गर्ने क्रमसँगै हरियाली प्रवद्र्धनको लागि ठाउँ ठाउँमा बोटविरुवा रोप्ने कार्यलाई पनि प्राथमिकतामा राखी विभिन्न योजनाहरु कार्यान्वयन भइरहेको जानकारी गराउनुभयो ।
नेपालको इतिहास युवा पुस्ताले बिर्सदै जाने खतरा भएकोमा चिन्ता व्यक्त गर्नुहुँदै उहाँले राष्ट्रिय सार्वभौमिकता र भू–अखण्डता रक्षाको निम्ति पनि युवा पुस्तालाई नेपालको इतिहास, संस्कृति, संस्कार र मौलिकताबारे सचेत बनाउन आवश्यक भएको बताउनुभयो । उहाँले नेपाली सेना राष्ट्रको निम्ति आवश्यक अनुशासित नागरिक तयार गर्न प्रयासरत रहेको बताउनुभयो ।


कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरबासी जनता र नेपाली सेनाबीच सुमधुर सम्बन्ध स्थापित गर्दै जाने उद्देश्यले नगरपालिकाको तर्फबाट मायाको चिनोस्वरुप प्रसिद्ध मयुर झ्याल उपहार प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भक्तपुरको प्रख्यात मयुर झ्यालले जनता र सेनाबीचको सुमधुर सम्बन्धलाई निरन्तरता दिइरहने विश्वास प्रकट गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपा वडा नं. १ स्थित सिद्धपोखरी उत्तरतर्फको खेल मैदान स्थानीय नगरबासी खेलाडीहरुले समेत खेल्न उपलब्ध गराउनुभएकोमा नेपाली सेना र प्रधान सेनापति थापालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नेपाली सेनासँगको समन्वयमा ३ वटा समूहबाट १२२ जना युवाहरुलाई विपद् व्यवस्थापन तथा उद्धारको तालिम सम्पन्न गरिसकेका जानकारी गराउनुहुँदै प्रमुख प्रजापतिले महिनाको १ र १५ गते हुने नियमित सफाइ कार्यक्रममा पनि समय–समयमा नेपाली सेनाका जवानहरुको सहभागिताले सफाइमा नमुना नगर बनाउने योजनामा थप मनोबल बढाएको बताउनुभयो ।


उहाँले भन्नुभयो – ‘भूकम्पले करिब ८ हजार घर र ११५ भन्दा बढी सम्पदाहरु बिग्रेकोमा निजी घरहरु र सम्पदाहरुको पुनःनिर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ ।’ बि.सं. २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका ११६ वटा सम्पदाहरुमध्ये भक्तपुर नगरपालिकाले हालसम्म ९१ वटा सम्पदाहरु पुनःनिर्माण सम्पन्न गरिसकेको छ भने डेढ दर्जनभन्दा बढी सम्पदा निर्माणाधीन अवस्थामा छन्’ – उहाँले भन्नुभयो ।
प्रमुख प्रजापतिले च्वङा गणेश मन्दिर परिसर ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको भएकोले उक्त स्थानमा स्थानीय जनताले सेनासँगको समन्वयमा भौतिक संरचना निर्माण, सरसफाइ तथा संरक्षणको काम गर्दै आएको छ भन्नुभयो ।

कार्यक्रममा नेपाली सेना रथी, उपरथी, अधिकृत र भक्तपुर नगरपालिकाका वडाध्यक्षहरू रबिन्द्र ज्याख्व, उकेश कवां, श्यामकृष्ण खत्री, प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला र प्रशासकीय अधिकृत दामोदर सुवालको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा महारथी पूर्णचन्द्र थापाले प्रमुख प्रजापतिलाई सैनिक चिन्ह अंकित मायाको चिनो र ‘द नेपाली आर्मी’ नामक पिक्टोरियल बुक प्रदान गर्नुभयो ।

(२०७६ मंसिर १८ गते नेपाली सेनाको आयोजना भएको मायाको चिनो आदानप्रदान कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्यको सार संक्षेप)
नेपाली सेनाका प्रधान सेनापति, महारथी पूर्णचन्द्र थापाज्यू, रथीज्यू र उपरथी तथा सम्पूर्ण उपस्थित अधिकृतज्यूहरु,
भक्तपुरबासी जनता र नेपाली सेनाबीच सुमधुर सम्बन्ध स्थापित गर्दै जाने उद्देश्यले नगरपालिकाको तर्फबाट मायाको चिनोस्वरुप प्रसिद्ध मयुर झ्याल उपहार प्रदान गर्न पाउँदा हामी ज्यादै खुशी छौं । यो उपहार २०७६ कार्तिक १७ गते नगरपालिकाद्वारा सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममै प्रदान गर्ने योजना थियो ।
भक्तपुर कला र संस्कृतिले भरिपूर्ण ऐतिहासिक र सांस्कृतिक नगर हो । १२ औंदेखि १५ औं शताब्दीसम्म नेपाल मण्डलको राजधानीसमेत रहेको भक्तपुरमा वास्तुकला, प्रस्तरकला र धातुकलाका उत्कृष्ट नमुनाहरु प्रशस्त पाइन्छ । समयक्रमसँगै कयौं मूर्त र अमूर्त कलाहरु लोप भएर गए भने कयौं लोपोन्मुख अवस्थामा छन् । हाम्रो कला र संस्कृति हाम्रो साझा सम्पत्ति हुन् । भक्तपुर नगरपालिकाले कला र संस्कृति संरक्षणमा उत्कृष्टता हासिल गर्दै आएको छ ।
२०७२ सालको भूकम्पले भक्तपुरमा ठूलो धनजनको क्षति भयो । त्यतिबेला नेपाली सेनाले गरेको उद्धार कार्य अत्यन्त प्रशंसनीय छ । संकटको बेला सहयोग गर्ने नेपाली सेनालाई भक्तपुरका जनताले बिर्सने छैनन् ।
विपद्को बेला कसरी नागरिकहरुलाई जोगाउन सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान गयो । नेपाली सेनासँगको समन्वयमा हामीले ३ वटा समूहमा १२२ जना युवाहरुलाई विपद् व्यवस्थापन तथा उद्धारको तालिम सम्पन्न गरिसकेका छौं । प्रत्येक महिनाको १ र १५ गते हुने नियमित सफाइ कार्यक्रममा पनि समय समयमा नेपाली सेनाका जवानहरुको सहभागिताले सफाइमा नमुना नगर बनाउने हाम्रो योजनामा थप मनोबल बढाएको छ ।
भूकम्पले करिब ८ हजार घर र ११५ भन्दा बढी सम्पदाहरु बिग्रेकोमा निजी घरहरु र सम्पदाहरुको पुनःनिर्माण तीव्र गतिमा भइरहेको छ । भक्तपुर नगरपालिकाले हालसम्म ९१ वटा सम्पदाहरु पुनःनिर्माण सम्पन्न गरिसकेको छ भने डेढ दर्जनभन्दा बढी सम्पदा निर्माणाधीन अवस्थामा छन् ।
भक्तपुरको रानीपोखरी निर्माणाधीन सम्पदाहरु मध्ये एक हो । नेपाल संवत् ७५० (बि.सं. १६८७) मा राजा जगज्योति मल्लको पालामा बनेको उक्त पोखरी काठमाडौंको रानी पोखरीभन्दा ४० वर्ष पुरानो इतिहास छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको उक्त पोखरीले सांस्कृतिक र धार्मिक महŒव पनि बोकेको छ । वरिपरि कुल देवता र देवाली पूजा गर्ने महŒवपूर्ण थलो पनि हो – रानीपोखरी ।
आजभन्दा ठीक ८ महिनाअघि २०७६ मंसिर १८ गते हामीले प्रधान श्री सेनापति पूर्णचन्द्र थापाज्युसँग भेट्ने अवसर पायौं । त्यतिबेला हामीले उक्त ऐतिहासिक पोखरी जीर्णोद्धारबारे छलफल ग¥यौं । उहाँले सकारात्मक सन्देश दिनुभयो । २०७६ जेठ १ गते लिखित रुपमै उक्त ऐतिहासिक रानी पोखरी जीर्णोद्धार र संरक्षणको साथै सर्वसाधारण जनताको लागि खुला गर्ने पत्र प्राप्त भयो । यसलाई जनता र सेनाबीचको सम्बन्धको एउटा महŒवपूर्ण पाइलाको रुपमा लियौं ।
भक्तपुर नगरपालिकाले रानी पोखरीको नापजाँच, नक्सा तयार गरी ल.इ. पास गरी जीर्णोद्धार कार्य थालनी ग¥यो । हाल रानी पोखरीले मौलिक स्वरुप ग्रहण गर्दैछ । आजभन्दा झण्डै चार सय वर्षअघिको स्वरुपमा निर्माण गर्न भक्तपुर नगरपालिका लाग्दैछ । त्यहाँकोबारे अध्ययन अनुसन्धानको लागि संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी कार्य भइरहेको छ । उत्खनन्को क्रममा प्राप्त हुने पुरातात्विक महत्वका वस्तुहरुको रेकर्ड राख्दै छिटै नै त्यसबारे प्रतिवेदन बुझाउने तयारी भइरहेको छ ।
सिद्धपोखरी उत्तरतर्फको खेलमैदानमा सर्वसाधारण जनताले खेल्न पाएका छन् । मैदानको वरिपरि तारजाली राखी मैदान निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । च्वङा गणेश मन्दिर परिसर ऐतिहािसक, सांस्कृतिक र धार्मिक महत्वको भएकोले उक्त स्थानमा स्थानीय जनताले सेनासँगको समन्वयमा भौतिक संरचना निर्माण र सरसफाइ तथा संरक्षण गर्दै आएका छन् । पुनःनिर्माण कार्यको सिलसिलामा सेनाबाट कहिलेकाहीं अवरोध सिर्जना गरेको गुनासो आउने गरेको छ । जनताको आस्थाको केन्द्रको रुपमा रहेको त्यस्ता ठाउँहरुमा कहींकतैबाट बाधा अवरोध नपु¥याई दिन हाम्रो अनुरोध छ ।
प्रधान सेनापतिज्यूलगायन रथी उपरथीज्यूहरु,
भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा पनि उत्कृष्टता हासल गर्दै आएको छ । ६ वटा शिशु स्याहार केन्द्र, २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरेर देशभरका जनताको सेवा गर्दै आएको छ । घरदैलो नर्सिङ सेवा प्रदान गर्ने देशको एक मात्र नगरपालिका भक्तपुरले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
देशको सार्वभौमिकता रक्षाको मामिलामा हामी अत्यन्त सचेत छौं । संसद, प्रदेश सभा, स्थानीय तह र सेना सबैको उद्देश्य देश र जनताको सेवा हो । हामी जनप्रतिनिधिहरुमा जनताको सेवाबाहेक अर्को कुनै स्वार्थ छैन ।
भक्तपुरको प्रख्यात मयुर झ्यालले जनता र सेनाबीचको सुमधुर सम्बन्धलाई निरन्तरता दिइरहने हाम्रो विश्वास छ । यो अवसरमा प्रधानसेनापति र रथी तथा उपरथीहरुमा खुशी व्यक्त गर्दै यसको अवसर जुटाइ दिने मेजर जर्नेल अनन्त कार्की र कर्णेल शिवप्रसाद पौडेललगायतको पदाधिकारीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।