माधबनारायण ब्रतधलंका जेष्ठ नागरिकहरु सम्मानित
भक्तपुर, पुस १९ गते
एक महिने माधव नारायण ब्रतमा सहभागि ७० वर्ष माथिका २२ जना जेष्ठ नागरिक आज सम्मानित भएका छन् । माधव नारायण ब्रत धलं सेवा समिति हनुमानघाट भक्तपुरले आज भिमसेन स्थान भेलुखेलमा आयोजित एक समारोह बीच ति जेष्ठ नागरिकहरु सम्मानित भएका हुन । संस्कार र संस्कृति जोगाऔं, मानवताको रक्षा गरौं उद्घोषका साथ श्री माधवनारायण ब्रतधलं पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म एक महिने ब्रतधलं हिजो विविपूर्वक हिजो सम्पन्न भएको भएपनि आज आयोजक समितिले सहयोगीहरुलाई बढाई र धन्यवाद ज्ञापनकासाथै जेष्ठ नागरिक समाज कार्यक्रम आयोजना गरेको हो ।


कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं. ७का वडाध्यक्ष उकेश कवांले जेष्ठ नागरिकहरुलाई दोसला र ताम्र पत्रले सम्मानित गर्नु हुँदै नेवार समुदायको पहिचान भनेको धर्मसँग जोडिएको संस्कृति,सभ्यता र संस्कार भएको बताउनु भयो । भक्तपुर भनेपछि प्रत्येक दिन कुनै न कुनै जात्रा पर्व भइरहने स्थानको रुपमा अरुले मूल्यांकन भइरहेकोे चर्चा गर्दै उहाँले यस्तो जात्रा पर्वले शुभ कार्यका सामुहिक भावना जगेर्ना हुन समुदायका विभिन्न वर्गको सहभागिता र सदभाव तथा आत्मिय भावनाले मात्रै सफलता पाउने बताउनु भयो ।
समितिका अध्यक्ष उदव खाईतुको सभापतित्वमा आयोजित सो कार्यक्रममा माधव नारायणको एक महिने ब्रत नेपाल सम्वत ७२२ देखि मल्लकालिन राजाहरुले सुरु गरेको भएपनि वि.सं. २०४२ साल देखि व्यवस्थित र निरन्तर रुपमा यो पर्व सर्वधाराण जनताहरुले पनि मनाउन थालेको बताएका छन् । समितिका उपाध्यक्ष रत्नलाल साँदले माधवनारायण ब्रतको धार्मिक तथा सांस्कृतिक महत्व बारे चर्चा गरेको सो कार्यक्रममा एर्कीकृत हनुमानघाट सामाजिक सेवा समितिका अध्यक्ष कृष्णगोविन्द खाइजु र समितिका हरिकृष्ण दनेगुलु र लक्ष्मी रञ्जितले पनि बोल्नु भएको थियो ।
पवित्र धार्मिक स्थल, सम्पदाक्षेत्र तथा धार्मिक पर्यटकीय क्षेत्र, बिरा, भद्रा र तमासा नदीको संगमस्थल हनुमानघाट, त्रिवेणीघाटमा पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म भएकोे एक महिने माधवनारायण ब्रतधलंमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने २२ जना ७० वर्ष माथिका बृद्ध जेष्ठ नागरिकहरुलाई सम्मानित गरेको हो । यसवर्षका ब्रतधलंको सुरु देखि १० जनाले एक महिनासम्म ब्रतधलंमा सहभागिता जनाएको थियो भने ब्रतधलंको अन्तिम दिन हिजो २२४ जनाको सहभागिता रहेको आयोजक समितिले जनाएको छ । सो अवसरमा ब्रतधलंमा सहभागि महानुभावहरुलाई पनि समानित गरेको थियो ।













