भक्तपुर बचतमा स्लो साइकल रेस प्रतियोगिता
भक्तपुर, १० माघ
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको खेलकुद उपसमितिको आयोजनामा शनिबार खुला जिल्ला स्तरीय स्लो साइकल रेस प्रतियोगिता सम्पन्न भयो ।
उक्त प्रतियोगितामा जिल्लाभरिका विभिन्न विद्यालयका जम्मा ६४ जना खेलाडिले सहभागिता जनाएका छन् । निर्णायकहरु इन्द्रभक्त पंच, राजेन्द्र प्रजापति र प्रवीण बखुन्छे रहेको उक्त प्रतियोगितामा कक्षा ५ देखि ७ सम्म एक समूह र कक्षा ८ देखि १० सम्म एक समूह गरी जम्मा दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा अधिकतम समय खपत गरी ४ फिट चौडा र ३० फिट लम्बाइ पार गर्ने प्रतियोगीलाई विजयी घोषित गरिएको थियो ।
प्रतियोगितामा पहिलो समूह अन्तर्गत समाज सुधार माविमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी न्युगेन प्रजापतिले अधिकतम समय खपत गर्न सफल भई प्रथम उपाधी हासिल गर्न सफल भएको छ । त्यस्तै वागीश्वरी मावि कक्षा ६ का विद्यार्थी विराज गपीले द्वितीय स्थान हासिल गरेको छ भने बाल विकास इङ्गलिस सेकेन्डरी स्कूल कक्षा ६ का सिद्धार्थ कोजुले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
त्यस्तै दोस्रो समूह अन्तर्गत ख्वप्रिङ्ग इङ्गलिस एकेडेमी कक्षा ९ का आयुष थापामगरले प्रथम स्थान हासिल गर्न सफल भएको छ । थी थी साकोसको तर्फबाट कक्षा ८ मा अध्ययनरत विद्यार्थी रेवत शाक्यले द्वितीय स्थान र ख्वप्रिङ्ग इङ्गलिस एकेडेमी कक्षा ९ का विद्यार्थी हिमान्सु गुप्ताले तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
कार्यक्रमपश्चात् अतिथिहरुबाट पुरस्कृत प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेको थियो ।














