ख्वप अस्पतालमा सिटी स्क्यान सेवा सुरु
भक्तपुर, माघ १ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंले ख्वप अस्पताल भक्तपुरमा सिटी स्क्यान सेवाको आज शुभारम्म गर्नु भएको छ । अस्पतालको सभाहलमा आयोजित एक समारोह बीच अध्यक्ष विजुक्छेले सिटी स्क्यान सेवाको शुप्रारम्भ गदैै यो सेवा भक्तपुरसम्म आई पुग्न २५ वर्ष लागेको गुनासो गर्नु भयो । अरु देशले गर्न सक्ने हाम्रो देशले किन सक्दैन? भन्दै अध्यक्ष विजुक्छेले २५ वर्ष अगाडी सिटी स्क्यान गर्न पनि ५० औं हजार खर्चेर सेवा लिनुपर्ने थियो यस्तो सेवा गाउँ गाउँमा कहिले पुग्ला? यस्का सबै दोसीहरु अहिलेसम्म सरकारमा पुगेका राजनैतिक दलहरु हुन । यस्तो कुरामा तिनीहरु किन सोच्दैन? अध्यक्ष विजुक्छेले प्रश्न गर्नु भयो । सरकारकालागि १०।११ करोड भन्नेको केही पनि नभएको भन्दै उहाँले एक वर्षमा हुने भ्रष्टाचारका रकम देशको कूल बजेट भन्दा बढी हुने जिकिर गर्दै शासक दलका नेताहरुले ठेकेदारहरुसँग चुनावमा अर्बौ रुपियाँ चन्दा लिएर भ्रष्टाचारलाई बढ्वा दिइ आएको प्रष्ट्याउनु भयो ।


नेमकिपाले जस्तै आफ्नो क्षमता अनुसार मात्रै निर्वाचनलाई उपयोग गरेको भए त्यस्तो पैसाले देशभर यस्तो सिटि स्क्यान पुर्याउन सकिने धारणा राख्नु भयो । अध्यक्ष विजुक्छेले अस्पतालका डाक्टर नर्स र कर्मचारीहरुलाई क्षमता र जिम्मेवारीताका साथ काम गर्न र अन्य आवश्यक कुरा जनताबाट पनि जुताउन सकिने विचार व्यक्त गर्नु भयो । कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले २०७२ सालको भूकम्प, २०७८ सालका ख्वप अस्पताल स्थापना र अहिले २०८२ सालमा सिटी स्क्यान सेवा विस्तार गरी जनताको स्वास्थ्य सेवामा नगरपालिकाको प्रशंसनीय कार्य भएको भन्दै उहाँले भूकम्पको बेला क्युवाली चिकित्सकहरुको टोलिले गरेको योगदानको सिको यहाँका चिकित्सक, नर्स, कर्माचारीहरुले पनि गर्न आवश्यक भएकोमा जोड दिनु भयो ।
कार्यक्रमका सभापति एवं ख्वप अस्पतालका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको निर्देशनमा भक्तपुर नगरपालिकाले भक्तपुरका जनताकालागि मात्र नभई देशकै लागि काम गर्दै आएको बताउनु भयो । ख्वप अस्पताल हाम्रो लागि हो हामीले नै गछौं, धेरै जनता र विपन्न समुदायकोलागि प्रभावकारी भएको विमा सेवा बन्द हुन्दै छ भन्दा इमरजेनसी स्वास्थ्य सेवा जस्तो संविधानले दिएको मौलिक अधिकारबाट जनता बन्चित हुने विषयमा हामी सोच्दै छौं उहाँले बताउनु भयो । गत वर्ष ख्वप अस्पतालमा ७० जिल्लाका २ लाख ८९ हजार भन्दा बढी जनताले सेवा लिएको उल्लेख गर्दै सरदर महिना दिनमा २६।२७ हजार जनताले स्वास्थ्य सेवा लिइ आएको तथ्याङ्ग प्रस्तुत गर्दै प्रमुख प्रजापतिले गत पुस महिनामा मात्रै २६ हजार ६ सय जनाले ख्वप अस्पतालबाट स्वास्थ्य सेवा लिएको बताउनु भयो । विमामा आबद्ध ४६४ अस्पतालहरु मध्ये ख्वप अस्पताल ७ औं तहमा रहेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले स्थानीयले बनाएको भए पनि राष्ट्रिय स्तरलाईे सेवा दिंदै आएको तथ्यहरुले प्रष्टिने कुरा बताउनु भयो । उहाँले भन्नु भयो अझै अन्तराष्ट्रिय तहको सेवा दिन पनि तयार छौं । ख्वप इन्जिनियरिङ्ग कलेजका विद्यार्थीहरु अन्तर्राष्ट्रिय क्षेत्रमा पहिलो श्रेणीमा पुगेको उदाहरण प्रस्तुत गर्दै उहाँले जात, क्षेत्रलाई नहेरी जे काम गर्दै आएका छौं त्यो जनताको सेवाकालगि गर्दैछौं भने भावनाका साथ काम गर्न आग्रह गर्नु भयो ।
सो कार्यक्रममा उपप्रमुख रजनी जोशी, अस्पतालका प्रमुख मजेशप्रताप मल्ल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टाराई र भनपा ९ वडाका वडाध्यक्ष रविन्द्र ज्याख्वले सिटि स्क्यान सेवाको शुभारम्भसँगै अस्पतालले एमआरआई, मुटु, मृगौला सम्बन्धि थप सेवाहरु पनि विस्तार गर्ने तयारी गर्दै आएको बताउनु थियो ।














