‘एमसीसीको समर्थन गर्नेहरु कम्युनिष्ट हुन नसक्ने’ ः प्रमुख प्रजापति
२०७९ साउन २९ गते, सोमबार
मदन भण्डारी एसियाली विद्यालयको निमन्त्रणामा नेपाल आएका विभिन्न देशका विद्यार्थी प्रतिनिधिमण्डल टोलीले सोमबार भक्तपुर नगरपालिकाको स्थलगत अवलोकन भ्रमण गरेको छ ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई, संस्कृति संरक्षण आदि विषयमा गरिरहेको उदाहरणीय कार्यबारे अवलोकन भ्रमणमा आएको उक्त टोलीले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज र ख्वप अस्पताल र भक्तपुरका सांस्कृतिक सम्पदाहरुको अभिरुचिपूर्वक अवलोकन ग¥यो ।
अवलोकन भ्रमणपश्चात भक्तपुर नगरपालिकामा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेमकिपाका जनप्रतिनिधिहरुले कामदार वर्गको हितमा निरन्तर काम गर्दै आइरहेको बताउनुहुँदै घरदैलो नर्सिङ सेवा, वडा वडामा स्वास्थ्य केन्द्र, नगरपालिकाको १०० बेडको अस्पताल सञ्चालन गर्दै २०–२५ मिनेटभित्र नागरिकहरुलाई स्वास्थ्य केन्द्र पुग्ने व्यवस्था मिलाउँदै आएको अवगत गराउनुभयो ।

देशको राजनैतिक आन्दोलनमा महŒवपूर्ण भूमिका खेल्दै आएको नेपाल मजदुर किसान पार्टी पुँजीवादी सरकारमा नगई संसदमा प्रखर प्रतिपक्षको भूमिका खेल्ने पार्टी भएको बताउनुहुँदै उहाँले नेमकिपाका निर्वाचित प्रतिनिधिहरुले संसद र प्रदेश सभामा जनताका हितविपरीतका विधेयकहरुको विरोध गर्ने र जनपक्षीय कानुनलाई अगाडि बढाउने साथै देशघाती एमसीसी र एसपीपीको विषयमा विरोध गर्दै त्यसलाई पारित नगराउन सडक र सदनमा निरन्तर अवाज उठाउँदै आएको स्मरण गर्नुभयो । उहाँले एमसीसीको समर्थन गर्नेहरु कम्युनिष्ट हुन नसक्ने प्रष्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले निर्वाचनबाट समाजवाद स्थापना हुनेमा नेमकिपा विश्वास गर्दैन र वर्ग संघर्षको माध्यमबाट समाजमा आमूल परिवर्तन गर्ने नेमकिपाको उद्देश्य हो भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’ बारे पुस्तकलाई आधार बनाई भक्तपुर नपाले काम गर्दै आएको चर्चा गर्नुहुँदै उहाँले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाईजस्ता जनताका आधारभूत विषयहरुलाई नगरपालिकाले प्राथमिकताका साथ जोड दिँदै आएको बताउनुभयो ।
त्यस्तै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले विश्व सम्पदामा सूचीकृत नगर भक्तपुरलाई सफा, सुन्दर, स्वस्थ र सभ्य नगरको रुपमा विकास गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी ‘पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र सस्ंकृति’ भन्ने नाराका साथ भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र आन्तरिक एवं बाह्य पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नपाका जनप्रतिनिधिहरूले नगरबासीहरुमाझ चुनावी घोषणापत्रमार्फत प्रतिबद्धता व्यक्त गरे अनुसार निरन्तर जनताको सेवामा लागिरहेकाको बताउनुहुँदै उपप्रमुख जोशीले नगरपालिकाद्वारा सञ्चालित विभिन्न शिक्षण संस्थाहरुमा अध्ययन–अनुसन्धानहरुमा जोड दिँदै आएको बताउनुभयो ।

कार्यक्रममा मदन भण्डारी एसियाली विद्यालयका संयोजक एवम् पूर्व सांसद बलराम बास्कोटाले भक्तपुर नपाले समाजवादी नीतिअनुरुप शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गरिरहेको चर्चा गर्नुहुँदै नेमकिपाको विचार र सिद्धान्तप्रति आफ्नो ऐक्यबद्धता रहेको बताउनुभयो । उहाँले एमसीसी र एसपीपी जस्ता देशघाती सम्झौता नेपालको संसदबाट अनुमोदन हुनु नेपालको लागि घातक भएको बताउनुभयो ।
एमिल्कर काब्राल स्कुल घानाका प्रतिनिधि मार्टिन नेमकिपाले अंगालेको माक्र्सवाद लेनिनवादबाट आफू धेरै प्रभावित भएको बताउनुहुँदै नेपाली जनताहरु अन्यायका विरुद्ध संघर्षशील, इमानदार र देशभक्त रहेको बताउनुभयो ।
बंगलादेशी मजदुर पार्टीका प्रतिनिधि सिडीइ एहेमड बोहरान भक्तपुर नपाले शिक्षा, स्वास्थ्य क्षेत्रमा गरिरहेको काम प्रशंसनीय रहेको उल्लेख गर्दै देशकै सानो नगरले गरेको काम देशकै लागि उदाहरणीय छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो भने प्रशासकीय अधिकृत दामोदर सुवालले भक्तपुर नगरपालिकाको विषयमा भिडियोसहितको प्रस्तुतीकरण देखाउनुभएको थियो ।
कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले भक्तपुरमा जातीय छुवाछुतको अवस्था, महिला राजनीतिक सक्षमताको अवस्था, भक्तपुरलगायत अन्य जिल्लामा पार्टीको गतिविधि, नपाले प्रदान गर्दै आएको शैक्षिक ऋण, भक्तपुरको विकास मोडललगायतको विषयमा जिज्ञासामाथि नगर प्रमुख प्रजापतिले बुँदागत रुपमा प्रष्ट पार्नुभएको थियो ।
भ्रमण टोलीमा अर्जेन्टिना, संरा अमेरिका, ब्राजिल, घाना, दक्षिण अफ्रिका, प्यालेष्टाइन, थाइल्याण्ड, मलेसिया, भारत, श्रीलंका, बंगलादेश, जोर्डन, पाकिस्तान, स्पेन र क्युवा गरी १५ देशबाट प्रतिनिधिहरु सहभागी थिए ।















