बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा शुरु भएको छ । तालिमपछि स्मार्ट मोबाइलले तस्विर र भिडियो खिच्न,सम्पादन गर्न, आवाज भर्न र पूर्ण रिपोर्ट बनाउने कला पत्रकारले सिक्ने जनाएको छ । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले सोमबार चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी होमस्टेमा मल्टिमिडिया तथा मोबाइल पत्रकारिता ९मोजो० तालिम शुरु गरिएको छ । पत्रकारितामा नवितम प्रयोगलाई विस्तार र विकास गराउन बागमती प्रदेशमा क्रियाशिल पत्रकारको क्षमता बिकास गर्ने उद्देश्यले २० जना पत्रकारलाई सहभागी गराएर यो तालिम आयोजना गरिएको सञ्चार रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
तालिमको उदघाटन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले माडीमा बसेर मल्टिमिडिया र यहाँको समाज अध्ययन गरिदिन सहभागी पत्रकारलाई आग्रह गर्नु भएको छ । संविधानले मौलिक हकका रुपमा प्रत्याभुत गरेको शिक्षा,स्वास्थ्य र रोजगारीलाई व्यवहारमा लागू गराउने प्रयास माडीमा थालिएको नगरप्रमुख ढकालले बताए । कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले पत्रकारलाई आधुनिक र दक्ष बनाउन क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको र त्यसले पत्रकारितामा पर्ने प्रभावका बारेमा जानकारी दिए । इन्टरनेटमा सहज पहुँचसँगै लोकल ग्लोबलमा र ग्लोबल लोकल भएको परिस्थतिमा मोबाइललाई पत्रकारले प्रयोग गर्ने ज्ञान तालिममा दिन खोजिएको सञ्चार रजिष्ट्रार सापकोटाले बताएका छन् । सापकोटाका अनुसार आगामी दिनमा मल्टिमिडिया र डिजिटल पत्रकारिताका अन्य बिषयमा पनि तालिम सञ्चालन गर्ने तयारी भइरहेको छ । चारैतिर जंगलको वीचमा रहेको माडीको साँस्कृतिक, धार्मिक र सामाजिक महत्व बुझदै डिजिटल पत्रकारिता सिक्ने अवसर जुटाउन अयोध्यापुरी होमस्टेमा तालिम आयोजना गरिएको सञ्चार रजिष्ट्रार कार्यालयले जनाएको छ । शिक्षामा मणि बन्दै गएको माडी बागमती प्रदेशको नमूनायुक्त नगरपालिका पनि हो । कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्प ढकालले पत्रकारिता र सञ्चार माध्यमको गुणस्तर विकास गर्नका लागि यस्ता तालिम पत्रकारका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । माडी नगरपालिकाले सामाजिक विकासमा पुर्याएको सकारात्मक पक्षका बारेमा पनि बुझिदिन उहाँले अनुरोध गर्नुभएको छ । कार्यक्रममा अयोध्यापुरी सामुदायिक होम स्टे सञ्चालक समितिका अध्यक्ष मोहनबहादुर पुनले अयोध्यापुरी होमस्टेमा रहँदा आफनै घरमा बसे जस्तै अनुभव गरिदिन र रचनात्मक सुझाव दिन पत्रकारहरुलाई अनुरोध गर्नुभएको छ । पत्रकार बिकास कार्की र बिजय गजमेरले मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिमका विविध पक्षमा तालिम दिने छन् । सो तालिम शुक्रबारसम्म सञ्चालनमा रहने छ। सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले अघिल्लो बर्ष पनि यस्ता तीन वटा तालिम सञ्चालन गरेको थियो ।













